छात्रावासमा पुलिसले घेरा हाल्थ्यो

Rabindra-Adhikariमेरो कलेज जीवन पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसबाट सुरु भएको हो, २०४२ सालमा । सुरुआत पिएनबाट भयो भने अन्त्यचाहिँ टियुबाट । एसएलसी पास हुनासाथ क्याम्पस जान पाउने खुसीले डेरा जमाउन सुरु गरेको थियो । कल्पिन्थेँ– ‘कस्तो होला कलेजको वातावरण ? पक्कै अर्कै संसार होला ।’ स्कुलभन्दा कलेज केही फरक त पक्कै भयो । ठूला भवन, फराकिलो चौर, नयाँ र धेरै साथी, थुप्रै कुरा नयाँ । स्कुलमा सानो ठाउँ अनि थारै साथी हुन्थे । पढ्ने तरिका नै अलग हुन्थ्यो ।

कलेज भर्ना हुँदा विज्ञान पढ्ने रन्को थियो । पछि व्यवस्थापन विषयतिर सरेँ । क्याम्पसको विद्यार्थी हुनु र अध्ययन गर्नु नौला कुरा थिए मेरा लागि । तर, पिएन क्याम्पस त्यसअघि पनि बरोबर आइचाहिँ रहन्थेँ । सात–आठ कक्षा पढ्दादेखि राजनीतिमा लागेको थिएँ म । पिएन क्याम्पसमा भेला र प्रशिक्षण कार्यक्रम भइरहन्थे । म पनि त्यहाँ पुगिरहन्थेँ । अरू बेला जानु र आफैँ विद्यार्थी भएर जानुमा अलि फरक हुँदो रहेछ । उतिबेला म कलेजको पाठ्यक्रमसाथै विश्व–इतिहास र राजनीतिशास्त्रका किताब बढी पढ्थेँ । धेरै जान्नुपर्छ भन्ने लाग्थ्यो ।
तर, कलेज गएपछि मेरो पढाइ कम, राजनीति बढी हुन थाल्यो । सधैँजसो भेला, प्रशिक्षणमा सहभागी हुन्थेँ, भाषण गर्थें । स्कुलमा छँदै जिल्ला कमिटी सदस्य थिएँ । कलेज गएपछि राजनीतिक जिम्मेवारी, सम्पर्क, सम्बन्ध र अनुभव बढ्दै गयो । दिउँसो कक्षा लिनै भ्याइँदैनथ्यो । त्यसैले राति पढ्थेँ, साथीहरूको नोट मागेर । पढ्न सजिलो होस् भनेर राति पनि लाइब्रेरी खोल्न माग गर्‍यौँ । राजनीतिक जिम्मेवारी पूरा गर्ने क्रममा दिउँसो नभ्याए पनि राति पढेकै भरमा फेल भने कहिल्यै भइनँ ।
पैँतालीस सालको सुरुमा एक रात अखिलको हाई कमान्ड बैठक थियो, पुरुष छात्रावासमा । बैठकमा लक्ष्मी कार्की एक मात्र महिला सहभागी हुनुहुन्थ्यो । राति चार–पाँच सयको संख्यामा प्रहरीले छात्रावासमा छापा मार्‍यो । लक्ष्मीजीलाई कसरी सुरक्षा गर्ने भन्ने चिन्ता पर्‍यो । केही पुरुष साथी भाग्नुभयो । बाँकी केहीले लक्ष्मीजीलाई लिएर प्रहरीको आँखा छल्दै चौरमा घिस्रिँदै महिला छात्रावासमा पुर्‍याएर फर्कियौँ । उहाँ पुरुष छात्रावासबाट गिरफ्तार पर्नुभएको भए अनेक कुरा हुन सक्थे । त्यसैले हामी सचेत थियौँ ।
राजनीतिमा लागेका कारण बेलाबखत प्रहरीले दु:ख दिने त छँदै थियो, बुटवलबाट दीपक बोहराका मान्छे हतियारसहित आएर हामीलाई आक्रमण गर्न खोज्थे । हामी नि:शस्त्र उनीहरूलाई कलेजबाट लखेट्थ्यौँ । धेरैपटक हामी माथि आक्रमणको प्रयास भयो तर हामीले डरलाई जितेका थियौँ । हुन त डर मानवीय स्वभाव नै हो, तर त्यति बेलाको अवस्थामा हामीले डर बिर्सिएका थियौँ । त्यो अनिवार्य पनि थियो । पढाइका साथै राजनीतिक परिवर्तनका लागि खट्नुलाई पनि दायित्व ठानेका थियौँ हामीले ।
०४६ को आन्दोलनका बेला म विद्यार्थी संगठनको अंचल, जिल्ला, कलेज कमिटीका साथै आन्दोलनरत सबै संगठनको संयुक्त अध्यक्ष थिएँ । फागुन १ गते कार्यक्रम थियो । पहिलो चरणमै लक्ष्मी कार्कीलाई प्रहरीले गिरफ्तार गर्‍यो । ४ गते प्रहरीले कलेजमा चारैतिरबाट घेरा हाल्यो । झलक सुवेदी र मलाई एउटै हथकडी लगाएर लगियो । म एकैपटक ०४६ को आन्दोलनपछि छुटेँ ।
हामीलाई नजानेको कुरा आफूभन्दा जिम्मेवार दाजुहरूले सिकाउनुहुन्थ्यो । नजानेका कुरा सोध्दा होच्याउने वा उडाउने चलन थिएन । झलक सुवेदी, शिव पौडेल, तुल बहादुर गुरुङ, खगराज अधिकारी, हितकाजीगुरुङलगायत दाजुबाट धेरै कुरा सिकियो ।
म ०४७ मा पिएन स्ववियुको कार्यवाहक उपसभापति थिएँ । ०४९ मा धेरै भोटले सभापतिमा निर्वाचित भएँ । कलेजमा दशहजार सात सय विद्यार्थी थिए । म सबैको नेता भएँ । पिएनमा डिग्री सकाएर टियुमा आएँ । टियुमा अर्थशास्त्र र सोसोलोजी पढेँ । ०५३ मा त्यहीँको स्ववियु सभापति भएँ ।

(वार्तामा आधारित)

प्रतिक्रिया