मेरो अनुहारै अगतिलो

म बेलाबखत आफ्ना लेखहरूमा तालु खुइलेहरूलाई जमेरै व्यंग्य गर्छु । साथीभाइको जमघटमा पनि Shrubhaktaतालुखुइलेबारे टिप्पणी गर्नुपर्दा चम्कीचम्की अघि सर्छु । तर, भुसुक्कै बिर्सिंदो रहेछु– म पनि तालुखुइले छु । लामालामा तिलचामले कपालले मेरो तालुलाई घेरा हालेका छन् । तैपनि मेरो मनले आफूलाई तालुखुइले देख्दो रहेनछ । तर, मनले नठानेर के गर्नु, आफ्नो स्वरूप परिवर्तन हुने होइन ।

जब ऐनाअघि उभिन्छु, आफ्नो यथार्थ स्वरूपको दर्शन पाइहाल्छु । एकचोटि झसंगै हुन्छु । म अगाडि उभिएपछि ऐनामा देखिन्छ– निधारदेखि टुप्पीसम्म टिलिक्कै टल्किने गरी खुइलिएको उजाड टाउको । छ न त गर्दन मास्तिरको अलिकति बाँकी कपाल लम्बेतान परेर घाँटीसम्मै फैलिएको छ । तर, त्यसले तालु छोप्न सक्दो रहेनछ । एउटा बूढो मान्छेको प्रतिच्छाया पो देख्छु म त ऐनामा । चित्त कटक्क हुन्छ । मनलाई ढाँटेर सान्त्वना दिएजस्तो गर्छु– ‘त्यो तालुखुइले बूढो म होइन क्या † अहिल्यै त्यस्तो हुने बेला कहाँ आएको छ र ?’
बेढंगले खुइलिएको आफ्नो तालु र वर्तमान स्वरूप देख्दा मलाई युवावयमा चटक्कसँग कपाल कोरेर टिपटप बन्दै हिँडेका दृश्यहरू पटकपटक स्मृतिमा आइरहन्छन् । म परिवारको जेठो छोरो । जेठो सन्तानले व्रतबन्ध नगरेसम्म कपाल काट्नु हुँदैन भन्ने मान्यता थियो हाम्रो परिवारमा । त्यसैले ठूलो भइसक्दा पनि मेरो कपाल लामै थियो । स्कुल जाँदा छोरी मान्छेको जस्तो बाटेर पठाइदिनुहुन्थ्यो आमाले । सायद, त्यही बाल्यकालको अचेतन प्रभाव होला, मलाई कपाल पाल्ने रहर लाग्यो । गण्डकी बोर्डिङ स्कुलमा पढेँ । पछि स्कुलमा कपाल पालेर जान पाइँदैनथ्यो ।
एसएलसी पास भएपछि कपाल पाल्ने छुट पनि पाइयो । टाउको घना केशले ढाकिएको थियो । अहिलेजस्तो कपाल पाल्दा जगल्टे भएको आरोप पनि खेप्नुपर्दैनथ्यो । मान्छे व्यक्तित्वले असल हुने हो । उसको गेटअपले व्यक्तित्व निर्धारण गर्दैन भन्नेमा म विश्वस्त थिएँ, (अहिले पनि छु) । २०३९ सालदेखि मैले कलेज ज्वाइन गरेको हुँ । त्यसपछि कपाल पाल्ने सौख पनि हुर्किन थाल्यो । लामो कपाल केटी मान्छेलेझैँ बीचबाट सिउँदो काटेर दुईतिर झार्थें । टिसर्ट, पाइन्ट अनि लामो कपाल मेरो युवाकालीन पहिचान बन्यो । त्यसपछि त कहिलेकाँही कपाल छोट्याउँदा पनि साथीभाइले सुहाएन भनेर टिप्पणी गर्न थाले । आफूलाई पनि झ्याप्प लामो केश नै सुहाएझैँ लाग्न थाल्यो ।
०४४ सालसम्म काठमाडौंमा बसेर पढेँ । त्यसपछि पोखरा फर्किएँ । काठमाडौं छोड्ने बेलाताका मेरो तालुका रौं खस्न थाले । बिस्तारै कपाल झर्दै गयो । पहिलेपहिले एउटा कपाल झर्दा अर्को रौं पलाउँथ्यो । तर, पछि हुँदै जाँदा झरेको ठाउँमा कपाल पलाएन । विस्तारै तालु मात्रै टल्किन थाल्यो । मलाई पनि कहिल्यै कपाल नझर्ने वा पलाउने औषधिमूलोतिर चासो गएन । न त लामो कपाल छोट्याउने चाहना नै भयो । हुँदाहुँदा तालुले साम्राज्य विस्तार गर्दै गयो । कपालको क्षेत्रफल विस्थापित हुँदै टाउकोपछाडिका भागमा मात्र सीमित हुन थाल्यो । अहिले त खुइलिएको त्यही तालु र त्यसलाई घेरा हालेर बसेको केही लामो कपाल नै मेरो पहिचान बनिसकेछ ।
लामो कपाल अनि खुइलिएको तालु कहिलेकाहीँ पोसाकसँग म्याच गर्न साह्रै गाह्रो पर्दो रहेछ । म प्राय: सर्ट पाइन्ट लगाउँछु । त्यतिबेला टोपी लगाउन जरुरी हुँदैन । तर, दौरासुरुवाल लगाउनुपर्ने अवसर परेका बेलाचाहिँ पोसाकले आफँैलाई गिज्याएको हो कि झैं लाग्छ । प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य हुँदा त्यस्तै अप्ठ्यारो परेको थियो । ‘मालती मंगले’ नाटक लिएर अमेरिका गएको थिएँ । उता पुग्दा नेपालीको राष्ट्रिय पोसाक लगाउनुपर्‍यो । तर, लामो कपालको बीचमा खुइलिएको तालु, त्यसमाथि नेपाली टोपी लगाउँदा…. । नसुहाएको पक्कै थियो ।
हुन त मेरो अनुहार नै अगतिलो छ । जन्मँदै अगतिलो रूपाकृति लिएर आएपछि सिकायत गर्नु हुँदैन जस्तो लाग्छ । त्यसैले आफ्नो शरीर संरचनामा कसैसँग सिकायत छैन । आफू नराम्रो छु भन्ने कहिल्यै सोच्दिनँ । ५९ वर्ष लागे पनि बूढो भएजस्तो लाग्दैन । रूपलाई लिएर मनमा सिकायत नपालेको भएर होला, मलाई आफ्नो रूपाकृतिप्रति कहिल्यै नैराश्य लागेन ।
(वार्तामा आधारित)

प्रतिक्रिया