आफ्नै देशमा भिसा थपेर बसिरहेछु

अस्ट्रेलियाको घर बेचेर नेपाल आएँ वाइन उद्योग खोले

मेरा बुबाआमा, आफन्त सबै नेपाली । जन्मभूमि नेपाल । तर, म अहिलेचाहिँ हुँ अस्ट्रेलियन नागरिक । Arjun-Bhandariअस्ट्रेलियामा दुईटा घर थिए मेरा । राम्रो जागिर थियो, निकै राम्रो आम्दानी हुन्थ्यो । तर, शरीरमा बगिरहने नेपाली रगत अस्टेलियन भूमिमा रमाउनै सकेन । सबै थियो, तैपनि के नपुगेनपुगेजस्तो शून्यताले खाइरह्यो । मनले सधैँभरि हुटहुटी लगाइरह्यो– ‘यहाँ नबस, नेपालै जा । जे गर्नु छ मातृभूमिमै गर ।’ तुलनात्मक रूपमा नेपालमा निकै अभाव छ तर पनि आफ्नो नाभि गाडिएको भूमिजति प्यारो अर्को हुँदो रहेनछ । सिड्नीका मनोरम दृश्य र उच्च जीवनशैलीसँग अभ्यस्त बनाउन निकै प्रयास गरेँ, यो नेपाली चित्तलाई । तर, मान्दै मानेन । सम्भ्रान्त सहरका मगमगाउँदा बगैँचाभन्दा आफ्नै गन्हाउने टुकुचा प्यारो लाग्न थाल्यो । अनि त के थियो, चटक्कै छाडिदिएँ त्यो वैभवपूर्ण जिन्दगी । फर्किएँ आफ्नै जन्मभूमि ।
अस्ट्रेलियाको घर बेचेर नेपाल फर्कंदा थुप्रै आफन्तले हपारे– ‘त्यति राम्रो जीवन छाडेर के गर्न आएको यहाँ । थुप्रै नेपाली त्यहाँ पुग्न मरिहत्ते गर्छन्, तँचाहिँ त्यहीँको नागरिक भएर पनि यस्तो मूर्खता गर्ने ?’ म आइपुग्दा यहाँ सरकारी र विद्रोही पक्षबीच शान्तिवार्ता हुँदै थियो । द्वन्द्वले करूप बनिरहेको थियो मुलुक । सुरक्षाको अनुभूति गर्ने ठाउँ नै थिएन । अहिले त सुरक्षाको अभावमा लगानीकर्ता भाग्दै छन् † म भने अरूले देख्दा सबैभन्दा सुरक्षित जीवनशैली छोडेर यहाँ आइपुगेको थिएँ, आफन्तले यसलाई मूर्खता देख्नु ठीकै पनि हो । तर, कतै पनि आफ्नोपन नरहेको पिँजडामा कैद भएजस्तो जिन्दगी बाँच्नुमा कति छटपटी छ, त्यो अरूलाई के थाहा र ? पिँजडा चाहे सुनकै किन नहोस् †
यहाँ आएर पनि त्यत्तिकै बसेको त कहाँ छु र ? आफ्नो क्षमताले भ्याएसम्म व्यवसाय गरिरहेकै छु । तर, अस्थिर राजनीतिका कारण कहिलेकाहीँ दिक्क लाग्छ । आफैँ जन्मेको देशमा भिसा लगाएर बस्नुपरेको छ, बसेबापतको कर तिरेर । विदेशी भूमिमा सिकेको सीप जन्मभूमिमै उपयोग गरौँ भन्ने चाहना थियो । तर, यहाँ सहयोग गर्नेभन्दा यसलाई कसरी लुट्ने र चुस्ने भन्ने धेरै छन् । व्यवसायबाट मैले कमाएको पनि छु तर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हजाराँैलाई रोजगारी दिएको छु । नेपाली दाजुभाइलाई रोजगारी दिन पाएकोमा गौरव लाग्छ ।

सन् ०९२ मा अध्ययनका लागि गएको थिएँ अष्ट्रेलिया। ५० प्रतिशत सरकारी छात्रवृत्ति र ५० प्रतिशत खर्च आफैँ बेहोर्ने गरी । नेपालमा दु:खले पढेको मान्छे, अभावले कतिसम्म पिरोल्छ राम्ररी भोगेको थिएँ । यस हिसाबले त्यहाँ पुग्नु सुनौलो अवसर थियो, त्यसलाई उपयोग गर्नुपर्छ भन्ने एकोहोरो रटान थियो । पढ्दै काम पनि गर्थें । विस्तारै नेपालबाट पस्मिना र कार्पेट मगाएर व्यापार गर्न थालेँ । व्यपारी विद्यार्थी भएँ । पढाइ सकेपछि एउटा फ्रेन्च कम्पनीमा काम गरेँ, त्यसका ब्रान्च मात्रै विश्वका ८० वटा देशमा थिए । १६ वर्ष बिताएँ त्यो भूमिमा । तर, पनि कहिल्यै रमाउन सकेन मन । कतिखेर नेपाल पुगौँ भइरह्यो ।
नेपाल फर्किएको पाँच महिनासम्म त के गर्ने भन्ने सोचेरै बिताएँ । त्यसपछि वाइन व्यवसाय सुरु गर्ने विचार गरेँ । लुकेर होस् वा छलेर नेपालमा विदेशी मदिरा सेवन गर्नेको संख्या ठूलो छ । किन उनीहरूलाई त्योभन्दा राम्रो क्वालिटीको तर सस्तो अनि आफ्नै देशमा बनेको रक्सी नखुवाउने † सानै बिरुवा रोप्छु तर आफ्नै देशमा रोप्छु । जे गर्छु यहीँ गर्छु । यही सोचेर व्यवसाय सुरु गरी पनि हालेँ । अझै पनि यसैमा मेहनत गरिरहेकै छु ।
यहाँको वातावरण देखेर कहिलेकाहीँ दिक्क लाग्छ । लोडसेडिङ र चन्दा आतंकले तनाब दिन्छन् । मेरो अनुभव र सीपको उपयोग गराउनतिरभन्दा कमाएकोमा खुट्टा तान्ने बढी छन् । आफ्नो दु:ख कसैलाई सुनायो खुच्चिङ बजाएजस्तो गर्छन्– ‘कसले आउनु भनेको थियो त यहाँ †’ व्यवसाय गर्न यहाँजति तनाब युरोप–अस्ट्रेलियामा हुँदैन । फ्रस्टेसनकै बीच आफूलाई सम्हाल्छु– ‘आखिर यो मैले आफैँले रोजेको बाटो हो । केही गर्छु भनेर आएपछि चुनौतीसँग त जुध्न परिहाल्छ नि † मेरो उद्देश्यका अगाडि यी सबै चिज गौण हुन् ।’
व्यावसायिक सुरक्षा र सिस्टमको अभावमा मेहनत गरेजति प्रतिफल हात लाग्दैन यहाँ । यति मेहनत Arjun-Bhandari-1उता गर्ने हो भने डब्बलै कमाइ हुन्छ । तर, पनि सन्तुष्ट छु, आफ्नै देशका मान्छेलाई रोजगरी दिन पाएको छु । कर पनि आफ्नै सरकारलाई तिर्न पाएको छु । हुन त उताभन्दा यहाँ कम कर तिरे हुन्छ । उता त कहिलेकाहीँ ४८ प्रतिशतसम्म तिर्नुपथ्यो, यहाँ पच्चीस प्रतिशत । उता बढी कर तिरे पनि त्यहीअनुसार सुविधा पाइन्थ्यो तर यहाँ करअनुसारको सुविधा केही पनि छैन । युरोपमा कर तिरेपछि बिमा हुन्छ । बिरामी हुँदा उपचार खर्च पाइन्छ । बेरोजगार हुँदा भत्ता पाइन्छ । मलाई थाहा छ– हाम्रो सरकार त्यो स्थितिमा छैन । तर, गर्न सकिनेजति पनि गरिदिँदैन ।

यहाँ आउँदा मलाई सबैले एउटै प्रश्न गरे– ‘कति पैसा ल्याइस त विदेशबाट ?’ फुपूको छोराले मात्रै भन्नुभयो– ‘केके पढिस्, के जानेर आइस् त ?’ अलिकति भए पनि खुसी लाग्यो । नत्र त छटपटिएको थिएँ, आखिर किन मान्छे पैसाबारे मात्रै सोध्छन् ? पैसा त सकिइहाल्छ नि † सीप र क्षमताबारे किन सोध्दैनन् ? मैले कमाएको असली सम्पत्ति नै त्यही ज्ञान, क्षमता र अनुभव थियो । त्यही सीपको खेती नेपालमा गर्दै छु अहिले । आफू बाँच्ने र अरूलाई पनि बचाउने कोसिस गर्दै छु ।
नेपालमा विदेशबाट जति पनि वाइन भित्रिन्छ, त्यो शुद्ध र स्वच्छ छैन । उता काम नलाग्ने वाइन यता पठाइन्छ । तर, त्यसको गुणस्तरबारे नेपालमा कसैलाई वास्तै हुँदैन । बस, विदेशी वाइन खान पाएकोमा दम्भ पालेर बस्छन् । मलाई लाग्यो– ‘आखिर खानु नै छ भने किन बिग्रेको खाने ? आफ्नै देशमा उत्पादन गरेको शुद्ध नै खाऊँ न ।’ त्यसपछि यो व्यवसाय सुरु गरेको हुँ । विदेशीको तुलनामा सस्तो पनि छ नेपाली वाइन । यहाँ वाइनलाई उद्योगका रूपमा विस्तार गर्न सकिने धेरै सम्भावना छन् । नेपाली माटोमा उत्पादित फलफूलबाट वाइन बनाएर विदेशी बजारमा बेच्न सकिन्छ । छ न त पाँच–६ वर्षमा चारपाँचवटा उद्योग स्थापना भएका पनि छन् ।
वाइन उद्योग खोल्दा धेरैले मलाई भट्टीपसल खोलेको भनेर खिसी गरे । बुद्धि नभएको बेवकुफ भने । विदेशमा इन्जिनियरिङ पढेको मान्छे, परिवारले पनि वाइनमा हात हालेको राम्रो मानेनन् । तर, ममा एउटै इच्छाशक्ति थियो– ‘आफ्नै देशमा बसेर दाम कमाउँछु । नेपालमा जे पनि गर्न सकिन्छ भनेर प्रमाणित गर्छु ।’
मैले वाइन उद्योग नखोल्दा पनि नेपालमा रक्सी खानेहरू थुप्रै थिए । तर, शरीरलाई हानि पुर्‍याउने विदेशी रक्सी खानेको संख्या ठूलो छ । वाइन र अन्य रक्सीहरूबीच ठूलो अन्तर छ । वाइनले अरू मदिराले जस्तो हानि पुर्‍याउँदैन । युरोपेली देशहरूमा त सरकारले नै वाइन उद्योग खोल्न अनुदान दिन्छ । डाक्टरले बिरामीलाई समेत निश्चित मात्रामा वाइन खान अनुमति दिन्छन् । तर, नेपालमा वाइन खाए बिग्रन्छ भन्ने गलत मान्यता छ ।

युरोपमा राम्रो स्थानमा रहेका मान्छेले समेत वाइन व्यवसाय गर्छन् । आफ्नै हेलिकोप्टरमा चडेर वाइन उद्योगका लागि आवश्यक खेती हेर्न जान्छन् । नेपालमा त्यस्तो छैन, खानैपर्ने बाध्यतामा रहेकोले पनि यसलाई राम्रो मान्दैन । युरोपमा पानीभन्दा वाइन सस्तो छ । उता त सरकारले अनुदान दिन्छ । यहाँचाहिँ झन् कसेर कर लिन्छ, त्यसैले महँगो परेको हो । वाइनलाई अन्य रक्सीकै क्याटागोरीमा राखेर कर लिनु न्यायोचित होइन ।
नेपालमा ७ सय ५० एमएल वाइन सय रुपियाँमा बेच्न सकिन्छ, कर तिर्नुनपर्ने हो भने । रेडलेवल ब्ल्याकलेवल खानेले सजिलै वाइन खान सक्छ । तर, यो उद्योग अपेक्षाकृत रूपमा फस्टाउन सकेको छैन । मैले त बुझिसकेको छु– श्रम र सीप भयो भने यो भूमिमा धेरै गर्न सकिन्छ । यहाँ अंगुर खेतीको राम्रो सम्भावना छ । त्यसको वाइन बनाएर विदेश निर्यात गर्न पाए मनग्गे आम्दानी गर्न सकिन्छ । युरोपियनहरू वाइन संस्कृतिसँग यति अभ्यस्त भइसके नि, उनीहरू जुन देशमा पुगे त्यही देशको फरक स्वादको वाइन र बियरको स्वाद लिन चाहन्छन् । अलिकति मेहनत गर्ने हो भने हामी विदेशीलाई आफ्नै देशको मौलिक वाइन खुवाएर पठाउन सक्छौँ । आखिर उनीहरूलाई नखाई हुँदैन, हाम्रो पनि व्यवसाय बढ्छ ।  प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया