नेपालको राष्ट्रियता र भारतको भोगाइ

Bhim-Gautamनेपाल आर्थिक पत्रकार समाज (सेजन) को अगुवाइमा भारतको नयाँ दिल्ली पुग्दा नेपालको राजधानी काठमाडौंदेखि जिल्ला र गाउँसम्मको धेरै झझल्को आयो । नयाँ दिल्लीलाई सुविधा सम्पन्न बनाउँदाको कहानीले झन् मर्मस्पर्शी बनायो । हुन त तीन दिनमात्र दिल्ली घुम्ने र दिल्लीलाई हाक्ने निकायका प्रतिनीधिहरूसँग छलफल गर्न पाइयो । त्यहाँको भारतीय सार्वजनिक प्रशासन संस्थान, विदेश मन्त्रालय, उद्योग मन्त्रालय, एक्जिम बैंक, युटिएल, जिएमआरका प्रतिनीधिहरूसँग साक्षात्कार गर्‍यौँ र लालकिल्ला, अक्षरधाम, कुतुब मिनार, इन्डियन गेटलगायतका केही स्थानमा पुग्ने अवसर मिल्यो । ती भारतीय अधिकारीसँगको अन्तरक्रिया र सामान्य घुमफिरले भारतको विगत, वर्तमान र भविष्यबारे धेरै कुरा थाहा पाइयो । भारत पुग्दा नेपालप्रतिको गौरव झन् बढेर आयो । भारतले वर्षौ लगाएर बनाएका संरचना त नेपालमा प्राकृतिक रूपमा उपलब्ध छन् तर पुराना संरचनाको संरक्षण र नयाँ संरचना बनाएर धेरै स्वदेशी तथा विदेशीलाई आकर्षण गरिरहेको छ भारतले । तर, हामी भएका संरचनाहरू बिस्तारै जीर्ण बनाउँदै र बेवास्ता गरेर अँध्यारोतिर भासिने तरखरमा छौँ ।
काठमाडौं उपत्यकाभित्र मात्र हेर्ने हो भने लामो इतिहास बोकेका पुराना प्राकृतिक सम्पदा, कला कौशलले भरिएका मठ मन्दिर, पर्यटकीय क्षेत्र प्रशस्त छन् । काठमाडांैबाहिर हेर्ने हो भने पनि लोभलाग्दा सम्पदा छन् । जसले नेपाललाई विश्वभर चिनाउने मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृति रूपमा नेपाललाई विश्वकै धनी बनाउन सक्छन् । विश्वकै नमुना बन्नुपर्ने पशुपतिनाथ मन्दिर खुम्चिँदै जान थालेको छ । बिस्तारै अवसर र मेलामा मात्र पुग्नुपर्ने ठाउँको रूपमा विकसित हुँदै गएको छ । तर, कुतुब मिनार होस् वा लालकिल्ला र अक्षरधाम नयाँ दिल्ली पुग्नेहरूलाई पुग्नैपर्ने ठाउँको रूपमा भारतले विकास गरेको छ । पुरानो दिल्लीलाई नयाँ दिल्ली बनाएर भारतले संसारको मन लुट्दै छ तर प्राकृतिक रूपमै सम्पन्न तथा सामान्य पूर्वाधार, प्रचारप्रसार र प्रवद्र्धन गर्न सकेमात्र पुग्ने हाम्रा लाखां सम्पदा, संस्कृति, पहिचान र इतिहास मेटिने खतरा बढ्दै छ । भारतका भने बनाइएका हरियाली सडकदेखि समृद्ध सम्पदा लोभलाग्दा छन् ।
भारतको चर्को विरोध गर्ने र चर्को समर्थन गर्ने नेपालका नेताहरूलाई नयाँ दिल्ली हेरेपछि लाज लाग्नुपर्ने हो, विरोध गर्नेहरूलाई त्योभन्दा राम्रो बनाउन नसकेकोमा र समर्थन गर्नेहरूलाई त्यहाँ सिको गर्दै पूर्वाधार बनाउन नसकेकोमा तर पुस्तौदेखि समर्थन र विरोध गर्ने यिनै दलहरूको अपरिपक्वपना, भिजन र योजनाको अभावको सिकार काठमाडां मात्र होइन, सिंगो नेपाल भइरहेको छ । बरु नेपालका नेताहरूले आफ्नो गाउँदेखि सहरसम्म विकासका लागि योजना बनाउन र कार्यान्वयनमा सक्रिय हुनुपर्ने युवाहरूलाई यही नयाँ दिल्लीको विरोध र समर्थनमा नाममा बरालिँदै नेपालको अन्धकार भविष्यलाई पछाडि धकेलिरहेका छन् । न भारतको समर्थन गरेर वा न विरोध गरेर नेपालको राष्ट्रियता बलियो हुन्छ, बरु नेपालको राष्ट्रियता बलियो हुन मुलुक समृद्ध हुनुपर्छ । त्यो समृद्धिको बाटो नरोजेर विरोध र समर्थनमा बरालिनेहरूले नै नेपालको राष्ट्रियता कमजोर बनाइरहेका छन् । बरु सबै कुनै उत्पादनमूलक क्षेत्रमा लागेर आफ्नो खुट्टामा आफँै उभिन सके भने नेपालको कमजोर राष्ट्रियता बलियो बन्दै जान्छ । किनभने सियोदेखि विद्युत्सम्म भारतको भर पर्नुपर्ने कारणले हाम्रो राष्ट्रियता कमजोर बन्नुको मुख्य कारण त्यही परनिर्भरता हो । सबै उत्पादनशील क्षेत्रमा लाग्ने तथा गफ, गाली, चाकडी, भाषणको सट्टा काम गर्न थाल्ने हो भने भारतलगायतका देशसँग नेपालको परनिर्भरता घट्छ र हामी नेपाली बलवान बन्दै जान्छौँ । तर, यहाँ गफ, गाली र चाकडीको भरमा बिना काम चन्दा उठाएर र जालझेल गरेर खानेहरूले राष्ट्रियता कमजोर बनाइरहेका छन् । यहाँ भारतले नेपालप्रति गरेका सबै कार्य, व्यवहार र चरित्र असल भन्न खोजिएको होइन । तर, हामीले सियोदेखि जलविद्युत्सम्म भारतसँग माग्नुपर्ने हाम्रो बाध्यताले हाम्रो शिर निहुराइरहेको छ । ‘अरूलाई दोष लगाउनुभन्दा आफ्नो थैली राम्ररी बाध्नु वेश हुन्छ ।’
नेपाल वा भारतले एकअर्को देशमा गर्ने जुनसुकै योजना र कार्यक्रममा आफ्नो स्वार्थ लुकेको हुन्छ । भारतमा भेटेका प्रतिनीधिहरूको प्रस्ट कुरा थियो– ‘भारत नेपालमा लगानी गर्न चाहन्छ, वातावरण बनाई देऊ ।’ भारतले अनुदान दिने भनेको होइन, लगानी गर्ने हो, लगानी गरेपछि फाइदा खोजिहाल्छ । भेटमा विद्युत् व्यापार सम्झौतादेखि भारतसँग गर्नुपर्ने आर्थिक सम्झौताहरू गर्नका लागि ती अधिकारीहरू आफूहरू तयार रहेको बताए तर त्यसका लागि ठोस प्रस्ताव नआएको उनीहरूको भनाइ थियो । उनीहरूसँगको भेटमा नेपाली अधिकारीहरू भारत रिसाउँला भनेर आफ्नो देशको स्वार्थका कुरा गर्न समेत हिचकिचाउने गर्दा रहेछन् भन्ने पनि बुझियो । भारतलाई खुसी पार्ने नाममा आफ्नो देशको स्वार्थ र फाइदाका कुरा नउठाएर चुप लाग्दा पनि नेपालमा धेरै समस्या आएका छन् । सीमाको कुरा होस् वा अन्य कुरा नेपाली अधिकारीहरूले भारतीय अधिकारीसँग छर्लंग भनिदिए हुन्छ वा हुन्न भन्ने फाइनल हुन्थ्यो र त्यसले नयाँ गति लिन्थ्यो वा त्यो मुद्दा थन्किन्थ्यो । तर, वार्तामा स्पष्ट नहुँदा र रिझाउनका लागि गर्दा नेपालमा आन्तरिक विवाद बढेर विदेशी लगानीकर्ताहरू निरुत्साहित हुने अवस्था छ । नेपालमा माथिल्लो कर्णाली र माथिल्लो मस्र्याङ्दी आयोजना बनाइरहेको र विश्वकै नमुना मानिने भारतको इन्दिरा गान्धी एयरपोर्ट ३० वर्षका लागि निर्माणको ठेक्का लिएर सफलतापूर्वक संचालन गरिरहेको जीएमआरका प्रतिनिधिहरूले आफूहरूले जलविद्युत्मा लगानी गर्न लागेको र जहाँ बिजुली बेच्दा फाइदा हुन्छ, त्यही बेच्न तयार रहेको बताए । तर, नेपालमा त्यो आयोजना भारत निर्यातका लागि बनाउन लागिएको भन्दै चर्को विरोध भइरहेको छ । विदेश निर्यात गर्ने मात्र होइन, स्वदेशी लगानी र स्वदेशकै लागि निर्माण भइरहेका नेपालका आयोजनाहरूले विरोधको सामना गरिरहनुपरेको छ । कुनै पनि विदेशी लगानीकर्ताले आफूले उत्पादन गर्ने विद्युत् किनिदिने ग्यारेन्टी नभएसम्मका लागि आयोजना बनाउँदैन । चीनले ऋण सहयोग गर्ने भनेको पश्चिम सेतीको अवस्था पनि त्यही हो ।
भारतमा १० प्रतिशत विद्युत् अपुग भएकाले जुनसुकै देशको लगानी र सहयोगबाट आयोजना बनाउन वा विद्युत् आयात गर्न भारत तयार छ । भारतमा यति धेरै उद्योगधन्दा बढेका छन् कि त्यहाँका अधिकारी भन्दै थिए– आफ्नो विद्युत्को माग असीमित छ, एक/दुई लाख मेगावाटभन्दा बढी । भारत उद्योगधन्दाको विकासक्रमसँगै समृद्ध बन्दै छ भने नेपाल उद्योगधन्दा फस्टाउन नसकेर आर्थिक रूपमा कमजोर बन्दै छ । विद्युत्को माग बढेपछि भारतले विदेशीदेखि निजी क्षेत्रलाई समेत ऊर्जामा लगानी गर्न प्रोत्साहित गरिरहेको छ । तर, लोडसेडिङ भोगिरहेको नेपाल विदेशी र स्वदेशी लगानीको विवादमा अल्झिएको छ । जलवायु परिवर्तनको कारण खोलानाला सुक्ने क्रम बढेको छ र जतिपछि भयो त्यो क्रम जारी रहन्छ । यसकारण हामीले छिट्टै जलविद्युत् बनाउन सकेनौँ भने हाम्रो जलविद्युत्मार्फत नेपालले कमाउने सक्ने ठूलो अवसर गुम्ने अवस्था आउँछ । यस्तो अवस्थामा भारत, चीन, अमेरिका जुनसुकै देशका लगानीकर्ताहरू आए पनि उनीहरूलाई लगानी गर्न दिनुपर्छ र उनीहरूको चाहनामा स्वदेश वा विदेशी दुवैमा बेच्ने सक्ने खुल्ला व्यवस्था गरिनुपर्छ । बरु ती आयोजनासँग सम्झौता गर्दै राष्ट्रिय स्वार्थ र फाइदाका लागि ठूलो कसरत गर्नुपर्छ । अनावश्यक विवाद र विरोधमा उत्रेर आयोजना बन्न नदिनुभन्दा आर्थिक धरायशीबाट मुलुकलाई समृद्ध बनाउन जलविद्युत्मा स्वदेशी र विदेशी लगानीकर्तालाई खुला र मैत्रीपूर्ण वातावरण बनाउनुपर्छ । भारतका अधिकारीहरूका अनुसार नेपालमा आयोजना बनाउन नदिए उनीहरूले अरू देशमा बनाउनेछन् र पैसा बगाउन सकिने हाम्रा खोलानाला खाली राजनीति गर्ने थलो बनिरहेछन् । ऊर्जा संकट गहिरिरहनेछ र त्यही भारतलाई विद्युत् देऊ भनेर लम्पसार पर्ने दिन आइरहेछन् । दिल्लीमा भारतीय अधिकारीहरूले गरेको अन्तरक्रिया र भोर्गाले देश समृद्ध बने राष्ट्रियता बलियो बन्छ भन्ने पाठ दिल्लीबाट सिकियो ।

प्रतिक्रिया