जाग्दै छन् इतिहासविद्हरू

dhakaram-sapkotaनेपाल इतिहास संघले वैज्ञानिक तथा प्रामाणिक रूपमा मुलुकको समग्र इतिहास लेखन, अध्ययन अनुसन्धान गरी प्रकाशन गर्ने, राष्ट्र तथा राष्ट्रवासीको ऐतिहासिक तथा सांस्कृतिक मूल्यमान्यता जगेर्ना गर्ने उद्देश्यले केही महिनाअघि दशैंको अवसर पारेर इतिहासमाथि भएको प्रहारका बारेमा सचेत गराउने कार्यक्रम गर्‍यो । कुनै पनि देशको पहिचान भनेको उसको इतिहास हो । इतिहास मेटाउन खोज्नु स्वयं मेटिनु हो । आफँैले आफैँलाई मेटाउने काम नगराँै भन्दै इतिहासको महत्त्व कति छ भनेर बुझाउने कोसिस गर्‍यो । इतिहासका बारेमा बुझ्न सकियोस् भन्ने उद्देश्यका साथ नयाँ वेभसाइड खोल्दै इतिहासका बारेमा झलक दिने विभिन्न डकुमेन्ट राख्यो । पछिल्लोपटक ०६९ फागुन २१ र २२ गते विराटनगरमा दुई दिने राष्ट्रि्रय गोष्ठी सम्पन्न गर्‍यो । गोष्ठीमा देशभरिका क्याम्पसबाट प्रतिनिधिमूलक रूपमा करिब ८० जना प्राध्यापकहरूको उपस्थिति थियो । उद्घाटन समारोहका बेला इतिहास र पर्यटनमा चासो राख्नेहरूको पनि उल्लेख्य उपस्थिति थियो ।

०६२/६३ को जनआन्दोलनपछि देशमा राजनीतिक परिवर्तन आयो । राजतन्त्रको अन्त्यसँगै मुलुकलाई संघीयतामा लैजाने घोषणा भयो । बिडम्वना एउटा राजतन्त्रको अन्त्यसँगै अरू थुप्रै छोटे राजाहरू देखा परे । तिनीहरू जनतालाई विभिन्न वाहनामा लडाएर आफूहरू उच्चकोटिको नेता देखाउने खेलमा लागे । फलस्वरूप जातैपिच्छे, भाषैपिच्छे र क्षेत्रैपिच्छे राज्य बाड्ने खालको तुच्छ बोली बोल्दै हिंडे । त्यसैलाई आधार मान्दै सदियौंदेखि मिलेर बसेको समाजमा जातजाति, भाषाभाषीहरू नै आपसमा विभाजित भए । नयाँ परिवर्तनलाई सबै नेपाली एक ढिक्का भएर अगाडि बढ्नु पर्नेमा त्यसविपरीत नेताहरू फुटाउ र शासन गर भन्ने नीति अनुरूप अघि बढे । राजाका मूर्ति फुटाउने, राजपरिवारको नाम भएका कागजपत्र देख्नै नसक्ने भए । विभाजित नेपाललाई एकीकरण गरी सिंगो मुलुक बनाऔँने पृथ्वीनारायण शाहको मूर्ति फुटाउँदै लखन थापा, महेन्द्रको मूर्ति फालेर गजेन्द्र नारायणको राखियो । राजाका मूर्तिहरू फुटाएर टुक्राटुक्रा पार्नुभन्दा संग्रहालयमा राख्न सकेको भए कम्तीमा पनि इतिहास जोगिने थियो भन्ने चिन्ता त्यहाँँ उठ्यो ।
राजनीतिक दल र तिनका नेताहरू पुरानो इतिहास मेटाउँदै नयाँ कोर्नमा व्यस्त छन् । नेपाल र नेपालीलाई चिनाउने पुरानो इतिहासले हो तर अहिले आफूलाई क्रान्तिकारी हुन र परिवर्तनकारी देखाउन भइरहेका ऐतिहासिक महत्त्वका वस्तुहरू फोड्ने र कागजहरू जलाउने जस्ता कामले इतिहास लोप हुँदै गयो । बाजे बराजुदेखि तराईमा बस्ने पहाडिया भए अनि लुक्दै र भाग्दै आएका चोर बाटोबाट नागरिकता लिएका एक पुस्ता पनि नबसेकाहरू तराईका आदीबासी भए । हामीले नेपालमा गोपालवंशी, महिषपालवंशीलगायतले शासन गरे भनेर पढ्यौँ र पढायाँै । अब के भनेर पढाउने हो ? साँचो र यर्थाथमा तराईको आदीवासी को हो त ? के भीड र दबाबले इतिहास तोडमोड गर्न मिल्छ भन्ने प्रश्न पनि उठ्यो ।
राणाशासनको अन्त्यसँगै तिनका मूर्ति पनि फोडेको भए इतिहास पनि सँगै फोडिन्थ्यो । टँुडिखेलमा रहेका राणाकालीन मूर्तिले त्यस बेलाको इतिहास बचाएको छ । व्यवस्था फेरौँँै, संस्कार फेरौँँै तर इतिहासका लागि प्रमाणका रूपमा रहेका वस्तुलाई नष्ट गरेर होइन, तिनको संरक्षण गर्दै अरू नयाँ बनाऔँ । यहाँ त हामी परिवर्तनका नाममा पुराना चिज ध्वस्त पार्न लाग्यौँ । मूर्ति मात्र होइन सारा चिज ध्वस्त पार्ने काम भएको छ । राज्य पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन छाडेर परिवर्तनकारी भएका छन् तर हामी इतिहासकारहरू किन एक शब्द पनि बोल्न सकेका छैनौँ । हामी इतिहास पढ्ने र पढाउनेहरूले पृथ्वीनारायण शाहको महत्त्वलाई बुझ्न सकेनाँै । उनका मूर्ति फोडिँदा र जन्मजयन्ती मनाउन छाड्दा केही नबोल्ने तर इतिहासका नाममा यस्ता गोष्ठी गर्नुले मात्र के इतिहास बचाउन सकिएला र ?
वर्तमान प्रधानमन्त्रीले कुनै एक कार्यक्रममा देशको इतिहास अब माओवादीको १० वर्षे जनयुद्ध र ०६२/६३ पछिको हेरे पुग्छ, त्यसभन्दा अघिको इतिहास राजा महाराजाहरूको हो र त्यसलाई हेरिरहनु हुन्न भनेका बारेमा पनि कुरा पनि उठ्यो । शासक नै इतिहास मेटाउन लागि परेका छन् भने हामी बबुराहरूले के इतिहास बचाउन सकौँला भन्ने प्रश्न उठ्यो । अनि कोही इतिहास मेटाउन लाग्छन्, कोही जोगाउन लागाँै भन्ने कुरा उठ्दा एकछिन हाँसोको माहोल पनि बन्याँे ।
पहिलो उद्घाटन समारोह सकिएपछि दोस्रो सेसन स्नातकोत्तर क्याम्पसको सभाहलमा भएको थियो । डा. मीना ओझाले ‘नेपालको जनआन्दोलनमा नेपाली महिलाको भूमिका’, डा. ज्ञानबहादुर कार्कीले ‘इतिहास विषयमा विद्यार्थीको न्यूनता, समस्या र समाधान,’ गुनाखर गौतमले ‘भुटानी शरणार्थीले सामाजिक क्षेत्रमा पारेको प्रभाव,’ विजयप्रसाद मिश्रले ‘मधेस आन्दोलनमा मोरङ’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यी चारै कार्यपत्रमाथि सहभागीहरूले विभिन्न कोण प्रतिकोणबाट जिज्ञासा राखेका थिए । र, त्यो छलफलको एउटा राम्रो ठाउँ बनेको थियो ।
दोस्रो दिनको कार्यक्रम उही स्नातकोत्तर क्याम्पसको सभाहलमा विहान ८ बजेदेखि सुरु भयो । यस दिन डा.गोपालबहादुर भट्टराईले ‘नेपालमा गुठी व्यवस्था’ र कमल दासले ‘छिन्नमस्ता मन्दिर’को बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । यी दुवै पत्रमाथि पनि व्यापक छलफल भयो । कार्यपत्र प्रस्तुत गर्ने काम सकिएपछि मोरङ, सुनसरी र सप्तरीका ऐतिहासिक महत्त्वका क्षेत्रहरूको भ्रमण गर्ने कार्यक्रम रहेको थियो । त्यसै सिलसिलमा भन्टावारी भन्ने ठाउँमा रहेको नेपाल भारतबीचको सीमा स्तम्भ हेर्न पुग्याँै । सीमा स्तम्भमा फोटो खिच्ने काम हुँदै थियो । त्यही बेला भारतीय सिविआईका पुलिस हतियार सहित आएर फोटा किन खिचेको ? अन्तर्राष्ट्रिय कानुनका बारेमा थाहा छैन ? भन्दै खिचेका फोटा हटाउन दबाब दिए । वातावरण अलि असज बन्दै गयो । त्यसै बेला एउटा पुलिससँग के विवाद गर्ने भन्दै हाम्रै साथी विजयप्रसाद मिश्रले सबै जनालाई जान भन्दै उनले ती पुलिससँग कुरा गरेर मिलाए । त्यहाँ गएका सबैले यस घटनालाई गम्भीर रूपमा लिए । आफ्नो देशको इतिहास र त्यसको महत्त्व नबुझेका कारण सीमास्तम्भ भएको नेपालको नक्सासमेत छैन । यो क्षेत्र मेरो हो भन्ने प्रमाण स्वयंले नष्ट गरेपछि त्यो पुलिसले गरेको व्यवहार कसरी बेठीक भन्ने भन्दै निरासाजनक कुरा गर्दै बाटो लागियो ।
निकै उत्साहका साथ अवलोकन भ्रमणमा रहेकाहरूलाई पहिलो गाँसमै ढुंगा भने जस्तै भयो । तैपनि निर्धारित कार्यक्रमअनुसार कोशी ब्यारेक, विगतमा त्यसले पुर्‍याएको क्षतिको ऐतिहासिक अध्ययन गर्दै छिन्नमस्ता मन्दिर कालीको मन्दिरलगायत थुप्रै ठाउँको अवलोकनपछि बेलुका सप्तरीको एक विद्यालयमा आइपुग्याँै । त्यही हरेक पौष २७ गते पृथ्वीजयन्ती मनाउने, इतिहासको महत्त्वका बारेमा सबैलाई जागरण ल्याउने लगायतका नौ सूत्रीय ऐजेन्डा पारित गर्दै गोष्ठी समापन भएको थियो । यस गोष्ठीले स्थानीय स्तरको इतिहास लेखनका साथै प्रकाशमा नआएका ऐतिहासिक र पर्यटकीय महत्त्वका सामग्रीको खोजीकार्यमा सहयोग भने अवश्य पुर्‍यायो । अब फागुन ३० गते इतिहास शोरोमणि बाबुराम आचार्यको जन्मजयन्ती प्रज्ञा प्रतिष्ठानमा मनाउने र त्यस अवसरमा विभिन्न कार्यक्रमसमेत गर्ने तय भएको छ । इतिहासलाई बिर्सेर परिचय बन्दैन, इतिहास नै देशको गौरव हो । इतिहास नै तपाईं हाम्रो पहिचान हो, यसलाई जोगाउन सबै लागाँै भन्ने उद्देश्यसाथ हामी अगाडि बढिरहेका छौँ ।

प्रतिक्रिया