नारी दिवस वर्षैभरि आवश्यक

विश्वका अन्यत्र मुलुकमा जस्तै नेपालमा पनि शुक्रबार १०३औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो । यसपटकको नारी दिवस देशको खास संक्रमणकालीन र अस्थिर राजनीतिक स्थितिले गर्दा व्यापक प्रचारमा आएन । तापनि, विगतका वर्षको दाँजोमा यसपटक केही फरकपना भने निश्चय पनि देखियो । एकथरी ‘एनजिओ’ महिलाले करिब दुई महिनादेखि चलाइरहेको ‘अकुपाई बालुवाटार’ अभियानमा संलग्नहरूले नारी दिवस मनाउने परम्पराकै विरोध गरे । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिला निरक्षरता उन्मूलननिम्ति भनेर यो दिवसको अवसर पारेर आºनी स्व. निरक्षर आमा धर्मकुमारीका नाममा डिल्लीबजारको कन्या बहुमुखी क्याम्पसमा दुई लाख रुपियाँको अक्षयकोष स्थापना गरे । केही युवा वामपन्थी महिला विद्यार्थी लामो समयदेखि रोगशय्यामा लडिरहेकी ८६ वर्षीय नेता सहाना प्रधानलाई भेट्न उनकै निवास पुगे । अर्काथरी महिलाले भृकुटीमण्डपमा कार्यक्रम गरे भने केहीले सेमिनार र कोठे गोष्ठी । सम्भवत: धेरैजसो नारीले यो दिवस र यसको उपादेयताबारे चालै पाएनन् ।
धेरै पहिलेदेखि उठ्दै आइरहेको भए पनि अहिले चर्को मुद्दा बनेर उठेको विषय महिला हिंसा हो । नारी दिवसको अवसरमा यस मुद्दाबारे पनि लामै चर्चा भए, जुन स्वाभाविक पनि हो । सबैले महसुस गरेकै तथ्य हो, महिला हिंसा अन्त्य गर्न राज्यका कुनै निकायबाट केही पनि प्रभावकारी काम हुन सकेको छैन । महिलामाथि हुने विभिन्न किसिमका हिंसा रोकिएका छैनन् बरु झन् बढ्दै गएका छन् । हो, कतिपय परम्परागत हिंसा बन्द भएका छन् तर त्यसको ठाउँमा नयाँ–नयाँ किसिमका हिंसात्मक स्वरूप जन्मिँदै गएका छन् । महिलाविरुद्धको हिंसा बन्द हुनुको साटो स्वरूप फेरेर बढ्दै गएको छ । यसकै एक कडी हो– सीता राई, सरस्वती सुवेदी, छोरीमैयाँ महर्जनसमेत तमाम पीडित महिलाका मुद्दाले थुप्रै महिना बितिसक्दा पनि उचित न्याय पाउन सकेका छैनन् । नारी दिवसले यी समस्याको समाधानमा केही सक्रिय पहलकदमी उत्पन्न गर्न सक्ला ?
दिवसहरू परम्पराको निर्वाह हुन् । यी त्यस्ता परम्परा हुन् जसले सम्बन्धित पक्षको महत्त्व र मूल्यबोध गराउँछ । सन् १९१० देखि सुरु भएको नारी दिवसको परम्पराले विश्वभरिकै नारीको महिमा बोध गराउँछ । यो परम्पराले पुरुषको दाँजोमा शताब्दियौँदेखि दबाइएका, सताइएका, अपहेलित तुल्याइएका, स्वनिर्णययुक्त आºनोपनमा बाँच्न नदिइएका, निरन्तर पुरुष प्रताडनाको सिकार बनाइएका महिलालाई पुरुषसरहका सम्पूर्ण अधिकार प्रदान गर्न प्रेरित गर्ने उद्देश्य सम्झाइरहन्छ । यो दिवसले नारीप्रति सम्मान दर्शाउन आग्रह गर्छ । आमा, पत्नी, दिदी, बहिनी, छोरी, बुहारी, भाउजू, माइज्यू आदि जुनसुकै स्वरूपमा भए पनि नारीलाई वात्सल्यकी खानी मानिएको छ । सहनशीलता र धैर्यताका प्रतिमूर्ति मानिने नारी समुदायका सम्बन्धमा त्यसै शास्त्रहरूमा भनिएको होइन– जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि प्रसन्न हुन्छन् । तर, खोइ त्यो सम्मान, त्यो आदर्श र त्यो मर्यादा ?
शास्त्रका सूक्तिहरू अगाडि सारेर मात्र केही हुँदैन । केवल ऐन, नियम वा कानुन निर्माण गरेर मात्र पनि हुँदैन । मूलकुरा जुनसुकै किसिमका नारी हिंसाविरुद्ध कठोर कानुन हुनुपर्छ र त्योभन्दा पनि ठूलो कुरा, ती कानुनको पालना हुनुपर्छ । यसका लागि वर्षमा एकदिन खास दिवस मनाएर मात्र त्यो लक्ष्य हासिल हुँदैन, वर्षमा एक दिन तामझामपूर्ण शैलीमा दिवसको महत्ताको राग अलापेर मात्र केही हासिल हुँदैन । मानिसहरूको मानसिकता परिवर्तन गर्ने दिशामा समेत कार्यक्रमहरू अगाडि बढाउनु आवश्यक छ । मानसिकता नै रोगी छ भने अरू कुनै कुराले सामाजिक हिंसाका शृंखला रोक्न सक्दैन । तसर्थ एकदिन मात्र नभएर कम्तीमा सकारात्मक परिणाम हासिल नहुँदासम्म वर्षैभरि नारी अस्मिताको यथोचित कदर हुने कार्यक्रमहरू भइरहनुपर्छ । अनि मात्र सार्थक हुनसक्छ नारी दिवस ।

प्रतिक्रिया