सीमान्तकृत वर्गको स्वर

bishowफूलमान वलको ‘महाभारतकी मैच्याङ’ पढिरहेछु । समकालीन कविताका खहरेमा एउटा सिंगो रोसी भेटेको अनुभव भइरहेछ । ‘जार काट्नेको आत्मालाप’ पढ्दापढ्दै रन्थनिन्छु । मभित्रको कवि काँप्दछ, उत्तेजित हुन्छ र साथमा रहेको कागजमा कोर्छु कविताको झिल्को– बारम्बार,

आफ्नै मिथकसँग जब हुन्छ जम्काभेट
मिथक फेरि बन्छ वर्तमान †
कविभित्रको कविलाई ब्युँझाउने सामर्थ बोकेका कविता एकदमै थोरै हुन्छन् । थोरै हुन्छन् कविता जसका झिल्काले हामीभित्रको पुल्ठोको झुम्रोमा आगो सल्काइदिने क्षमता राख्छन् । फुलमानका केही कविता ‘टोटलाको फूल’ जत्तिकै कुमारी विषय अनि विम्बले भिजेका भेटेपछि मभित्रको कवि कविता संग्रहबारे लेख्न तम्सियो । अत: यो समीक्षा त हुनै सक्तैन । सायद मित्र कविलाई शुभकामना दिनेसम्मको कार्य यस लेखले गरेमा म सन्तुष्ट हुनेछु ।
‘महाभारतकी मैच्याङ’ भूमण्डलीय गरिब भनाँै वा भनाँै वञ्चित वर्ग तिनीहरूकै कथा–व्यथाको मिहिन बुनोटले भरिएको कवितासंग्रह हो । आममान्छेका आँसु र हाँसोका रंगहरूले रंगिएको महाभारत लेकजत्तिकै जीवन्त पात्रका वर्तमानका उहापोहको अभिलेख छन् यसमा । वर्तमान कविताका धारलाई अत्यधिक प्रभाव पार्ने दुई पृथक् व्यक्तित्व मोहन कोइराला र भूपि शेरचनका कविता पढेर आफ्नो छुट्टै कविताशास्त्र निर्माण गर्ने जीवन्त अभिलाषा बोकेर कोसिस गर्नेमध्ये फूलमान वल पनि पर्दछन् भनी भन्नलाई अप्ठ्यारो नमान्नुपर्ने बनाइदिएका छन् उनको यस संग्रहभित्र रहेका केही कविताले ।
कवि वर्तमानमा बाँचेका छन् । बजारवादी उपभोक्ता संस्कृतिको प्रचारप्रसार र नखराले वाक्क छन् र त्रस्त पनि । ‘गाउँ छेक्ने होर्डिङ बोर्ड’ कविले त ढालेका छन् तर वर्तमान झन्झन् मलजल गरिरहेछ यस नखरालाई । भूमण्डलीकरणको प्रभाव झन्झन् उत्तरोत्तर छ, बजारवादी उपभोक्ता संस्कृतिको प्रचारप्रसारले छोएको छ आकाश । यस्तोमा कवि आफ्नो अस्तित्व रक्षा गर्न फर्कन्छन्, डम्फू, स्याब्रु नाच, पोङ, टोटलाको फूल, कुलाकी टोपी, तामाङ सेलोमा र दिन्छन् सन्देश यिनै कुराहरू नै हतियार हुन् । वनमाराझैँ झाँगिएको भूमण्डलीकरणसँग लड्न यिनै स–साना कुरा, स–साना हाटबजार, स–साना उद्योग, स–साना सपना । यी सपनासँगै कवि हाम्रो गहमा सुक्दै गएको पानी र खडेरी परेर धाजा फाट्दै गएका खेतका गह्रा–गह्राजस्ता मन अनि मरुभूमि उमारेर मनभरि क्याक्टस खेतीमा लागेका मानिसको देशको विडम्बना प्रस्तुत गर्छन् ।
कविता पढ्नु कवि पढ्नु पनि हो । ‘महाभारतकी मैच्याङ’ले फूलमान वलका आत्मकथा, विचार, दृष्टि, यस पिँढीका समस्या, कवितासम्बन्धी
धारणालगायत समग्र कवि स्वयंलाई प्रस्तुत गरेको छ । उनको जीवनवादी राजनीतिलाई प्रस्तुत गरेको छ । सुन्दर विम्बयोजनाको गुम्फन, वैयक्तिक विम्ब र प्रतीकमा गाउँको माटोको बास्ना पानीको प्रथम स्पर्श माटोमा पर्दा जसरी फैलन्छ, बस् फैलिएको छ उनको कविता संग्रहभरि । यसमा गाउँको खर्क र देउराली, बुट्यान र महाभारतका पहाडी शृंखलाका डँडाल्नाहरू यत्रतत्र भेटिन्छन् र भेटिन्छन् पहाडका कलकल गर्दै फराल्ने झरना र पेटारी बाख्रासँगै उँभोउँभो चढ्ने कर्मा र ङिमाका जीवनसेलो । उनका कवितामा ‘मेरो खुसी मेरो पीडा’लाई महत्त्व दिइएको छैन । अत: उनका कविता हरेक समयमा खहरेझैँ उर्लेर आउने सामूहिक चेतनाका ठाउँमा वैयक्तिक चेतनाले भरिएका कविताभन्दा पृथक् छन् । उनी आफूबाट उठेर आफ्नो जाति हेर्छन् र जातिका आँखाको श्रद्धाले उठेको देश । उनी ‘दोस्रो जुनी’ कवितामा आफ्नो भागमा आएको पुख्र्यौली अन्यायको हिसाबकिताब दुरुस्त राख्दै बसेका छन् । उनी बिर्सनुका विरुद्धमा छन् आफ्ना पुर्खाले भोगेका अन्याय र अत्याचारका एकएक चोटहरू । पुख्र्यौली सम्पत्ति जसरी सर्दछ नयाँ पुस्तामा त्यसरी नै ती चोट उनका नाममा सरेका छन् । तर, यो दुस्मन सहरले उनका पुर्खाको प्रतिशोधलाई गलाएजस्तै गलाएको छ, प्रतिशोधलाई । गलाउने प्रक्रिया मात्र फरक छ र यो फरकपन शोषणको प्रजातान्त्रिक रूप हो ।
बजारमा चलेका चल्तीका शब्दहरू थुपार्दै लेखिएका एकैजस्ता लाग्ने कविताहरूको वर्चस्व वर्तमान कवितामा छ । त्यस्तै, सम्पादक रिझाउने तिकडम जानेकाहरू उम्दा कविमा गनिने वास्तविकता पनि अर्कोतिर छ । बार्टर सिस्टमले सेलिब्रेटी बन्ने र बनाउनेको त झन् होड नै छ । यस्तोमा नाम मात्र छोपिदिएर कुनै एउटा कविको कविता कुनै अर्को कविको कवितासंग्रहको पुछारमा राखिदिएमा पनि पाठकले कवितामा अन्तर नपाउने कविताहरूको भेल बग्नुलाई वर्तमान कविताको संकट मान्नुपर्छ । तर, यो संकटबाट माथि उठेका छन् फूलमान वलका कविता । उनका कवितामा वैयक्तिक विम्बहरूको सुन्दर संयोजन छ, लोकसंवेदनालाई टपरी गाँसेजस्तै गाँसिएको छ जीवनसँग र उनका कविता समाजसँग संवाद गर्न पनि टाठा छन् । आफ्नो संस्कृति, रीतिस्थिति, चालचलन, भाषा, भेषमा कविकोजत्तिकै लगाव हाम्रा देशका सम्पूर्ण जातजातिको हुनु जरुरी छ । देशको क्यानभाष पूर्ण हुन जरुरी हुन्छ, इन्द्रेणी रंग ।
फूलमान वलका कविता चाहे ‘दिलबहादुरको साबिती’ होस् वा ‘महाभारतकी मैच्याङ’ वा होस् ‘अभिलाषा’ यी कवितामा वर्तमान जीवनले सिर्जिएका तनाव र संघर्षको इतिहास जिउँदो राख्ने प्रयास भएका छन् । समाजमा राजनीतिको असर र त्यसको इमानदार आलोचना गरिएका छन् । सुन्दा आङ नै सिरिंग हुने काभ्रेको होक्सेका बासिन्दाले बर्सेनी बेच्दै आएका किड्नीको त्रासद पाटोलाई उनले देखाएका छन् ‘प्रेम र किड्नी’मा ‘दिलमाया र झ्याल’ मा कविले हल्लाएको जीवनको झन्डा हामी यस संग्रहभरि देख्न सक्छौँ ।
यथार्थको जमिन टेकेर आकाश ठडिएका कविका अनुभव सुन्दर कविता बनेर पोखिएकाले कविका विचार एक आमनेपालीको विचारसँग मिल्न जाँदा पाठकलाई आफ्नै कविता पढेझैँ भान हुने कविताले भरिएको छ– ‘महाभारतकी मैच्याङ’ । कविता पढ्दै जाँदा कुनै बेला पाठकले ढुंगामा ठेस लागेजस्तै अनुभव गर्न सक्छन् । केही कवितामा देखापर्ने छपाइका समस्याले र गलत अक्षरले पाठक पिरोलिन्छन् । त्यस्तै धेरै कवितामा नेपाली व्याकरणसम्मत लिंग र आदरको संगति छैन तर जनजाति लवजमा यसलाई स्विकारिने हुनाले यसलाई सहज नै मान्नुपर्छ ।
फूलमान वलको
‘महाभारतकी मैच्याङ’ मा वर्तमान राजनीतिको खाक्रो रूप पेस भएको छ । यसले भूमण्डलीकरणको प्रभाव र बजारवादी उपभोक्ता संस्कृतिलाई पनि प्रकाश पारेको छ । वर्तमान युगवोधी कविताका कारण संक्रमणकालीन संस्कृति तथा राजनीतिलाई चिहाउने आँखीझ्याल उनको यो संग्रह बन्नसक्छ । सामाजिक परिवर्तनका शक्तिहरू देशको वर्तमान अवस्थाका कारण कुण्ठित छन् । ती कुण्ठित शक्तिलाई पुन:सक्रिय बनाउनु छ । उनलाई र तमाम सीमान्तीकृत वर्गका बन्द ओठका बोली बन्नु छ उनका कवितालाई । ‘महाभारतकी मैच्याङ’ उनको यस प्रयासको सार्थक उपलब्धि हो ।

प्रतिक्रिया