अर्थ, क्रान्ति र सुवर्ण

krishna-dharabasi1पार्टी एक भएपछि तुरुन्त त्यसले आफ्नो लक्ष्यअनुसार अघि बढ्नैपर्ने थियो । एकाएक सबैतिर नयाँ खाले जोश र जाँगर चलेकै बेला काम थाल्नु उपयुक्त हुने भए तापनि क्रान्ति भन्ने कुरा भात पकाएर खानुजस्तो सजिलो थिएन । त्यसका आन्तरिक र बाह्य तयारीहरू प्रशस्त गर्नुपर्ने हुन्छ । क्रान्तिमा जुनसुकै बेला पनि ज्यान जोखिममा हुन्छ, त्यसका लागि मानसिक र शारीरिक रूपमा मानिसहरूलाई तयार गराउनु सजिलो कुरो हुँदैन ।

यस्तै बेलामा बाहिरी रूपमा गान्धीवादी विचारक मातृकाप्रसाद कोइरालाको नेतृत्वमा शान्तिपूर्ण आन्दोलनको तयारी सुरु गरियो भने भित्री रूपमा बिपी र सुवर्णको जिम्मेदारीमा सशस्त्र क्रान्तिको तयारी सुरु हुन थाल्यो । शान्तिपूर्ण आन्दोलनतिर राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणलाई आकर्षित गर्दै अति गोप्य रूपमा भूमिगत तबरले सशस्त्र क्रान्तिका लागि चाहिने लडाकु तालिम तथा हातहतियारको व्यवस्था गर्न थालियो ।
क्रान्ति गर्ने कुरामा सहमति भए तापनि क्रान्तिको स्वरूपका बारे भने भित्रभित्रै विवाद कायमै थिए । मातृकाप्रसाद कोइरालाको गान्धीवादी धारणालाई सही ठान्ने र बिपी, सुवर्णको सशस्त्र क्रान्तिको बाटोलाई ठीक ठान्ने समूहका बीच बहस पनि सँगसँगै प्रारम्भ भएको थियो । तर, क्रान्तिको कुरा मात्र गरेर क्रान्ति हुनु सम्भव थिएन । त्यसैले बिपी र सुवर्ण सशस्त्र संघर्षको तयारीमा थिए । लक्ष्य, उद्देश्य, प्रस्ताव र घोषणाहरू त सजिल्यै तयार हुन्छन् तर तिनलाई व्यावहारिक रूपमा अघि बढाउन भने आर्थिक व्यवस्थापनको तयारी हुनुपर्छ । केही निर्वासित र गरिब मानिसहरूको भावनात्मक एकताबाट गठन भएको संगठनसँग आर्थिक पूर्वाधार केही पनि थिएन । देशभित्र निरंकुशताको दवाबमा परेका जनताहरूबाट आर्थिक संकलन गर्न खोज्नु पनि स्वाभाविक थिएन । निर्वासित कृष्णप्रसाद कोइरालाको गरिबीको कथा आफ्नै ठाउँमा छँदै थियो । अन्य निर्वासितहरू पनि त्यही गरिबीसँग मिसिन पुगेका हुन्थे । जेल तोडेर भागेका गणेशमान सिंहसँग के आशा गर्नु थियो र ? तैपनि ठूलो आँटले बिपी, गणेशमानहरूले पार्टी निर्माण गरेका थिए । आर्थिकभन्दा भावनात्मक शक्ति ठूलो हो भन्ने कुरा यसले प्रमाणित गर्छ तर व्यावहारिकतामा उत्रनु पर्दा चाहिने भौतिकवस्तुका लागि आर्थिक शक्ति नै मुख्य बन्न पुग्छ । केही भारतीय मित्रहरू तथा नेपाली मुलका भारतीय जनताहरूको सामान्य सहयोगले पार्टी चले पनि त्यत्तिले नै क्रान्ति हुनु संभव थिएन । सशस्त्र क्रान्तिका लागि आवश्यक पर्ने हातहतियार, बारुद आदिका लागि चाहिने ठूलोराशीको व्यवस्थापन गर्नु सजिलो थिएन ।
१९९० सालमा जुद्ध शमशेरले ‘सी’ श्रेणीका राणाहरूलाई चार भन्याङ निकाला गर्दा हिरण्य शमशेर, तेज शमशेर, प्रताप शमशेर र महावीर शमशेर सिधै भारतको कलकत्ता गएका थिए । भनिन्छ त्यसबेला हिरण्य शमशेर (सुवर्णका पिता) र महावीर शमशेरसँग ३३/३३ लाख रूपियाँ थियो रे ।
त्यो पैसा लिएर उनीहरू भारत गए । दुई वर्षपछि अर्थात् वि.सं. १९९२ मा दोस्रो विश्वयुद्ध (सन् १९३९–४५ सम्म) सुरु भयो । चौतर्फी आतंक मच्चियो । भारतमा रहेका ब्रिटिस र अमेरिकन साहू महाजनहरू, उद्योगी व्यापारीहरू आ–आफ्ना उद्योग, कलकारखाना, घरहरू निकै सस्तो दरमा बेचेर भारतबाट आ–आफ्नै मुलुक फर्कन थाले । ब्रिटिस र राणाबीचमा सुमधुर सम्बन्ध भएकाले विदेशी साहू, महाजन, व्यापारीहरूले राणाहरूलाई सम्पत्ति बेच्न थाले । जसको फाइदा सुवर्णशमशेरका बुबा काकाहरूले उठाए । सस्तो दरमा घर जग्गाहरू किने । त्यतिबेलामा पनि लाखौंको सम्पत्ति किनेका रहेछन् । महावीर शमशेरको व्यापारिक प्रयोजनको लागि ‘हिमालय एभिएसन’ र चौरगीबजारमा ‘टाइगर सिनेमा हल’ र ‘हुमायु प्लेस’ थियो । (सेकेन्ड लेफ्टिनेन्टदेखि नख्खुजेलसम्म– ६६)
त्यस बेलाको ३३ लाख कम्पनी रकम भनेको थोरै होइन । एक प्रकारले यी दुई भाइ कलकत्ताका सबैभन्दा धनी मानिसमा गनिन पुगेका थिए । आर्थिक रूपमा सम्पन्न यिनीहरूको मनमा राणाहरूको दुव्र्यवहारको घाउ आलै थियो । आफ्नो परिवारको अपमानको पीडालाई भुल्न नसकेकाले राणाविरुद्ध क्रान्ति गर्ने सपना देखिरहेका थिए । त्यसैले पार्टीको गठन र लडाकु तथा हात हतियारको भित्रभित्रै तयारी गरिरहेका बेला दुई पार्टी एक हुन पुगेका थिए ।
नेपाली कांग्रेसको गठन हुँदा सुवर्ण शमशेरलाई कोषाध्यक्ष बनाइएको थियो । उनलाई कोषाध्यक्ष बनाउनुका पछि उनी आफैँ सम्पन्न थिए तथा कलकत्ताका साहू महाजनहरूसँग उहाँको राम्रो सम्बन्ध हुनाले आर्थिक स्रोत जुटाउन उहाँको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने नै थियो । वास्तवमा भित्रभित्रै सुवर्ण र महावीर शमशेरलाई क्रान्तिमा आर्थिक सहयोग गर्ने भित्री इच्छा पनि रहेछ । त्यसको प्रमाण गणेशमान सिंहको मेरो आत्मकथाका पानाहरू खण्ड २ को पृष्ठ ९–१० मा उल्लेख भएको छ ।
सम्मेलन समाप्त भएपछि एकदिन सुवर्णजीले आफ्ना मान्छे पठाएर सोध्नुभएको थियो– बिपी र गणेशमानजीसँग विशेष कुरा गर्नु छ, म कहिले आउँm ?
कोइरालाजी र म बसेको थर्टिन थिएटरको त्यो घर, जसमा अरू कांग्रेसी साथीहरू पनि बसिरहेका थिए, त्यही आउने कुरा गोपनीयताको दृष्टिले उपयुक्त नहुने देखेर कोइरालाजीले उहाँकै फ्ल्याटमा एकान्त हुनसक्छ, हामी त्यहीँ आउँछौँ भन्ने खबर पठाउनुभयो । त्यो खबरले उहाँ अत्यन्त प्रसन्न हुनुभए छ, त्यो कुरा हामीले पछि मात्र थाहा पायौँ । वास्तवमा उहाँलाई के लागेको रहेछ भने कोइरालाजी र मलाई आफूकहाँ बोलाउँदा हाम्रो ‘बेअदब्’ हुन्छ, त्यसकारण उहाँले आफैँ हामीकहाँ भेट्न आउने प्रस्ताव गर्नुभएको थियो । हामीलाई शिष्टाचारको उतिविधि वास्ता थिएन, तर उहाँ त्यसमा पनि साह्रै सचेत हुनुहुन्थ्यो । त्यसप्रकार हामी उहाँलाई भेट्न उहाँकै निवासमा गयौँ ।
सुवर्णजीले आफ्नो अभिजात्यपन त्यागेर त्यहाँ जसरी हाम्रो स्वागत गर्नुभयो, त्यसबाट प्रजातन्त्र, पार्टी तथा नेताप्रति उहाँको आस्था, निष्ठा र अनुशासनप्रियता प्रदर्शित भएको थियो । उहाँले एकैछिनको औपचारिकतापछि बडो सहज तरिकाले हामीसँग सोध्नुभयो– क्रान्ति गर्नलाई कति पैसा चाहिएला ?
त्यस्तो प्रश्न आउने हामीले अपेक्षा गरेका थिएनौँ । अनपेक्षित प्रश्न सुनेर कोइरालाजी अचम्मित हुनुभयो र पुलुक्क मेरो मुख हेर्नुभयो । मेरा आँखा पनि पहिलेदेखि नै उहाँको अनुहारमा अडिन पुगेका थिए । यद्यपि मैले कुनै प्रकारको इशारा गरिना तैपनि उहाँले मेरो मनको कुरा बुझ्नुभयो र भन्नुभयो– ‘कत्ति चाहिएला र, सुवर्णजी ! २५–३० लाख ।’ बढी भन्यो भने भट्केलान् भन्ने आशंका हामी दुवैलाई थियो ।
त्यसपछि आश्चर्यचकित हुने पालो सुवर्णजीको थियो । अविश्वसनीय कुरा सुन्दा तर्सेझैँ गरेर उहाँ तर्सिनुभयो र भन्नुभयो– ‘बस् २५–३० लाख रुपियाँ ! त्यत्तिले पनि कही क्रान्ति हुन्छ ? नचाहिने कुरा ! बिना संकोच दिल खोलेर भन्नुस्, कोइरालाजी ! कति चाहिन्छ ? २५/३० लाखले पुग्छ भन्ठान्नुहुन्छ भने ल अहिले नै लिनोस् एक करोड म तपाईाहरूलाई दिन्छु । यदि नगदै लिनुहुन्छ भने मलाई पाँच दिनको समय चाहिन्छ– विभिन्न बैंकहरूबाट पैसा जम्मा गर्न । होइन, पैसा मैकहाँ रहोस् भन्नुहुन्छ भने चाइएजति समय–समयमा लिनुहोला ।’ उहाँले अगाडि यो पनि भन्नुभयो– ‘कोइरालाजीलाई यो थाहा छ कि छैन, राजनीतिक काममा मैले जति योगदान गर्छु, त्यसको आधाचाहिँ भाइ महावीर शमशेरले बेहोर्छन् । हाम्रो समझदारी यस्तो छ कि एकले अर्कालाई सोधिरहनै पर्दैन । त्यत्ति मात्र होइन, तपाईंलाई अरू थप पैसा चाहियो भने कुनै धक नमानी भन्नुहोला, अर्काे एक करोडसम्म हामी दिन्छौँ ।’
(सिंह, २०५७ : ९–१०)
यो कुरा सुन्दा त्यसबेला गणेशमान सिंह अवाक् हुनु स्वाभाविक थियो किनभने यो पढ्दा आज हामीसमेत अवाक् हुन्छौँ । २००६ सालमा एक करोडसम्म क्रान्तिको लागि व्यक्तिगत सहयोग गर्न सक्छु भन्नु र गर्नु सामान्य कुरा होइन । त्यस बेलाको पैसाको मूल्यको अनुमान आज गर्न सकिन्न पनि । वास्तवमा सुवर्ण शमशेरको त्यही आर्थिक आडले नै कांग्रेसलाई सशस्त्र क्रान्ति गर्ने आत्मबल मिलेको थियो । पार्टी एक हुनु अघि नै सुवर्ण र महावीर शमशेरहरूले सुवाषचन्द्र बोसको ‘आजाद हिन्द’ फौजमा काम गरेका तथा अन्य युवाहरूलाई संगठित गरी भारतका विभिन्न एकान्त स्थानहरूमा सैनिक तालिम दिइरहेका थिए । ती लडाकुहरू स्वत: नेपाली कांग्रेसमा समाहित भएका थिए । ‘आजाद हिन्द सेना’ मा काम गरेका धेरै जसो लडाकूहरूलाई सुवर्ण शमशेरले आफ्नै खर्चमा नेपाली मुक्ति सेनामा समावेश गराएका थिए । ती मध्ये मुक्ति सेनाका चर्चित र महत्त्वपूर्ण बनेका व्यक्तिहरूमा जिबी याक्थुम्वा, पूर्णसिंह खवास, डीबीराई, नारायणसिंह शाह र दिलमान थापा पनि थिए । बिपीको बौद्धिकता र सुवर्णको आर्थिक नेतृत्वले छोटो समयमै नेपाली कांग्रेस सांगठनिक रूपमा एक सशक्त संगठन बन्न पुगेको पाइन्छ । (धरावासीको भर्खरै प्रकाशित किताब ‘सुर्वण शमशेर : निष्ठाको राजनीतिक यात्रा’बाट ।)

प्रतिक्रिया