कांग्रेसद्वारा गृह मन्त्री विरुद्ध प्रदर्शन

NC flag1सिरहा, २४ फागुन । गृहमन्त्री विजय गच्छेदारको ठाडो आदेशमा प्रहरीले विनाकारण आफ्ना दुई कार्यकर्ता पक्राउ गरेको विरोधमा आज कांग्रेसले सिराहा जिल्लामा प्रदर्शन गरेको छ । कांग्रेसको प्रदर्शनका कारण मिर्चौया र सिराहा बजार तनावपूर्ण बनेको छ ।
कांग्रेस कार्यकर्ताले गृहमन्त्री र प्रहरी प्रशान विरुद्ध चर्का नारावाजी गरेका छन् । विभिन्न गाविसबाट गोलबजारमा जम्मा भएका सयौं कार्यकर्ताले मिर्चैयास्थित ईलाका प्रहरी कार्यालय घेराउ गरेपछि सदरमुकाममा पुगेर पुनः प्रदर्शन गरेका हुन्
प्रदर्शनकारीले पक्राउ परेका आफ्ना कार्यकर्तालाई विनाशर्त रिहाई गन माग गरेका छन् ।
बलकवा गाउँ इकाई समितिका अध्यक्ष रामबृक्ष साह र कार्यकर्ता मोहम्मद मोजामिललाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ ।
पक्राउ परेका साह र मोजामिललाई गृहमन्त्री गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकको भातृ संगठन मधेसी युवा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य पवन भण्डारीलाई गालीगलौज तथा दुव्र्यवहार गरेको आरोप लागेको छ ।
भण्डारीले राजनीतिक पूर्वाग्रह राखेर गृह प्रशासनको आडमा साह र मोजामिललाई पक्राउ गर्न लगाई शक्तिको दुरुपयोग गरेको कांग्रेसको आरोप छ ।
उता, सिराहाका एसपी मनोज न्यौपानेले गृहमन्त्रीको ठाडो आदेशका कारण कांग्रेसका नेता तथा कार्यकर्ता विरुद्ध मुद्दा दर्ता गर्नुपरेको बताए । उनले भने, ‘गृहमन्त्रीज्यूको आदेश नभएको भए मुद्दा दर्ता हुँदैन्थ्यो ।’
कांग्रेस सिरहाका नेता रामचन्द्र यादवले गृहमन्त्री गच्छेदारको ठाडो फोन आदेशमा एसपी मनोज न्यौपानेले राजनीतिक पूर्वाग्रही भई आफ्ना दुई कार्यकर्तालाई झूठ्ठा मुद्दामा लगाएको दावी गरे ।

प्रतिक्रिया