नेपाल छनोट चरणबाटै बाहिर

Footbal-afc-chalangeकाठमाडौं, २४ फागुन । नेपाल एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता –२०१४ को अन्तिम चरणमा प्रवेश गर्न असफल भएको छ । समूह ‘डी’को अन्तिम खेलमा प्यालेस्टाइनसँग कम्तीमा तीन गोलको अन्तरमा जित आवश्यक रहेको नेपालले बुधबार भएको खेलमा प्यालेस्टाइनसँग गोलरहित बराबरी गर्‍यो । प्यालेस्टाइन सात अंकसहित समूहमा पहिलो भयो ।

गएका दुई खेलमा कमजोर रहे पनि नेपालले प्यालेस्टाइनसँगको खेलमा सुधारिएको प्रदर्शन गरेको थियो । बुधबार नै भएको खेलमा नर्दर्न मारियाना आइल्यान्डलाई ४–० ले पराजित गरेको बंगलादेश ६ अंकसहित समूहमा दोस्रो स्थानमा रह्यो । प्यालेस्टाइनले अर्को वर्ष माल्दिभ्समा हुने एएफसी च्यालेन्ज कपको फाइनल चरणमा सहभागी हुने अवसर पायो भने बंगलादेशको भाग्य अन्य समूहका खेलको नतिजामा निर्भर हुने भएको छ । प्रतियोगिताको अन्तिम चरणमा आयोजक माल्दिभ्ससहित आठ टोली सहभागी हुनेछन् । पाँचवटै समूहमा पहिलो र दोस्रो स्थान पाउने उत्कृष्ट दुई टोलीले पनि अन्तिम चरणमा प्रवेश पाउनेछन् ।
खराब प्रकाशका कारण ३० मिनेट ढिला सुरु भएको खेलमा पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर पाए पनि खेर फालेका थिए । सुरुआती २० मिनेटमा प्यालेस्टाइनी टोली अत्यन्त आक्रामक भए पनि नेपाल त्यसपछि लयमा फर्केको थियो । लियादको सट क्रसबारमा ठोक्किनु प्यालेस्टाइनी टोलीको दुर्भाग्य बन्यो । प्यालेस्टाइनका लागि एक अंक दिलाउने क्रममा गोलरक्षक तफिकले सानदार प्रदर्शन गरे । उनले पहिलो हाफमा सागर थापा र भरत खवासको दुई उत्कृष्ट प्रहारलाई रोक्दै प्यालेस्टाइनी टोलीको संकट टारे ।
यसअघिका खेलमा मौका नदिइएका जुमानु राईलाई प्यालेस्टाइनसँगको खेलमा मौका दिइए पनि उनले कुनै प्रभाव पार्न सकेनन् । नेपाली टोलीका रविन श्रेष्ठ तेस्रो खेलमा पनि उत्तिकै प्रभावकारी देखिए । तथापि उनको खेलले मात्र नेपाली टोलीलाई जित दिलाउन सकेन । खेलपछि नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफोन्स्कीले टोलीको प्रदर्शन सन्तोषजनक भए पनि जित हात पार्न नसक्नु दुखद भएको बताए ।
यसअघि भएको खेलमा बंगलादेशका लागि टोकिस, रोनी र अहमदले गोल गरे । पराजित टोलीका माइकलले आत्मघाती गोल गरे । बंगलादेशले तेस्रो मिनेटमा अग्रता लिएको थियो । रोनीले ३८औँ मिनेटमा तथा ८३औँ मिनेटमा अहमदले गोल गरे ।
नेपाली दर्शकले बुधबारको खेलमा पनि हुलदंगा गर्ने र सिक्का प्रहार गर्ने काम गरे ।

प्रतिक्रिया