भेनेजुएलाका राष्ट्रपतिको निधन

hugo-chavej-copyकाराकास (भेनेजुएला) २३ फागुन । भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको ५८ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनी क्यान्सरको रोगबाट पीडित थिए । उनको चार वर्षको अन्तरालमा चारपटक शल्यक्रिया भइसकेको थियो ।
उनको निधन भएको घोषणा उपराष्ट्रपति निकोलस मडुरोले टेलिभिजनमार्फत गरेका छन् । राष्ट्रपति चाभेज सन् १९५४ को २८ जुलाईमा भेनेजुएलाको बरिनास राज्यमा जन्मिएका थिए । राष्ट्रपति चाभेजले सन् १५९८ डिसेम्बर महिनामा पहिलोपटक भेनेजुएलाको राष्ट्रपति पदमा विजयी भएका थिए ।
निर्वाचनको समयमा स्वतन्त्रता, संविधानमा परिवर्तन र भष्ट्राचार नियन्त्रणलगायत नारा उनले लगाएका थिए । यस निर्वाचनमा ५६ प्रतिशत भोटबाट उनी विजयी भएका थिए । त्यसैगरी, सन् १९९९ मा संविधान परिवर्तनका लागि भएको निर्वाचनमा ६० प्रतिशत मतले उनको पक्ष विजयी भएको थियो ।
त्यसैगरी, सन् २००० को अप्रिल ११ मा नयाँ संविधानअन्तर्गत चाभेज पुन: निर्वाचित भए । सो निर्वाचनमा उनले ६० प्रतिशत मत पाएका थिए । चाभेज भेनेजुएलामा मात्र नभई दक्षिण अफ्रिकाकै प्रख्यात नेता थिए ।
देशभर शोक
भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको निधनपछि त्यहाँ राष्ट्रिय शोक घोषणा गरिएको छ । भेनेजुएलाली जनताले आफ्नो नेताको निधनप्रति बुधबार दु:ख मनाउ गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । उनी करिब दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको निधनपछि भेनेजुएलामा पाँच दिनसम्म राष्ट्रिय शोक घोषणा गरिएको छ । पाँच दिनसम्म राष्ट्रिय झन्डा झुकाउने तथा उनको निधनप्रति शोक व्यक्त गर्ने कार्यक्रम छ ।
आगामी शुक्रबार उनको अन्तिम संस्कार गरिने जानकारी उपराष्ट्रपति निकोलस मडुरोले टेलिभिजनमार्फत दिएका छन् । सन् १९५४ को २८ जुलाईमा भेनेजुएलाको बरिनास राज्यमा जन्मिएका राष्ट्रपति चाभेजले १४ वर्षसम्म निरन्तर भेनेजुएलामा शासन गरेका छन् । नागरिकका आधारभूत आवश्यकताको परिपूर्तिका लागि काम गरेबापत उनले आमजनतामा निकै लोकप्रियता हासिल गरेका थिए । विशेषगरी, शिक्षा र स्वास्थ्यका क्षेत्रमा उनले बनाएको नीतिले नागरिकमा राम्रो प्रभाव पारेको छ ।
संयुक्त अमेरिकाविरोधी भावना फैलाउने उनी ल्याटिन अमेरिकी राष्ट्रका एक जुझारु नेताका रूपमा विश्वमा परिचित थिए ।
ल्याटिन अमेरिकी राष्ट्रहरूलाई प्रचलित मूल्यभन्दा सस्तोमा तेल वितरण गरेर त्यस क्षेत्रमा उनले लोकप्रियता कमाएका थिए । स्वतन्त्रता, संविधानमा परिवर्तन, भष्ट्राचार नियन्त्रण एवं राष्ट्रियता र स्वाभिमानलगायत नारा लगाएर उनी चुनावी माहोल तताउने गर्थे । यसबाट उनी प्रशस्त चर्चा बटुल्थे ।
उनको निधनप्रति विश्वका नेताहरूले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । संयुक्त राज्य अमेरिकाले पनि उनको निधनप्रति दु:ख व्यक्त गरेको छ ।
चाभेजको निधनले भेनेजुएला एउटा नयाँ युगमा प्रवेश गरेको टिप्पणी अमेरिकाले गरेको छ । अमेरिका सधैँ भेनेजुएली जनताका पक्षमा रहेको बताइएको छ ।
त्यसैगरी, ब्राजिलले पनि चाभेजको निधनप्रति दु:ख व्यक्त गरेको छ । ब्राजिलका राष्ट्रपति दिल्मा रुसेफले चाभेजको निधनले ल्याटिन अमेरिकी राष्ट्रमा नै ठूलो शोक परेको बताएका छन् । उनले स्वर्गीय चाभेज ल्याटिन अमेरिकाका एक सशक्त नेता रहेको पनि बताएका छन् । शोक वक्तव्यमा उनले चाभेजको निधनले ल्याटिन अमेरिकाले एक सशक्त नेता गुमाएको उल्लेख छ ।
अर्काे छिमेकी राष्ट्र क्युवाले नेता चाभेजको निधनप्रति दु:ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको बताइएको छ । चाभेजको उपचार पनि लामो समयसम्म क्युवामा नै भएको थियो । चाभेजको निधनमा शोक व्यक्त गर्दै रसियाका राष्ट्रपति भलादिमिर पुटिनले चाभेज एकजना वरिष्ठ नेता भएको टिप्पणी गरेका छन् । चीनले पनि चाभेज वर्तमान युगका एक ठूला नेता तथा चिनियाँ जनताका सबैभन्दा नजिकका शुभचिन्तक रहेको भन्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

प्रतिक्रिया