राजेश एक्सनले मात्र चलेका हुन्/अभिनय त त्यस्तै हो

०५२ मा गोठालो चलचित्रबाट निर्देशन सुरु गरेका उज्ज्वल घिमिरेको निर्देशनयात्रा अझै जारी छ । अभिनयलाई पनि जोड्ने हो भने उनको चलचित्रयात्राले करिब अढाई दशक छोइसक्यो । आधा दर्जन बढी चलचित्रको निर्देशन गरेका उनका चलचित्रले व्यावसायिक लाभ पनि राम्रै कमाएका छन् । निर्देशकका रूपमा थुप्रै अवार्ड जितेका छन् । रंगमञ्चको कुशल अभिनयपछि चलचित्रतिर लागेका उनले केही समय रेडियो नेपालमा पनि काम गरे । उति बेला उनले बनाएको रारा चाउचाउको विज्ञापन ‘आरएआरए रारा’ ले बजारमा निकै चर्चा कमाएको थियो । यो निर्देशनयात्रामा उनले नयाँ–पुराना थुप्रै कलाकारलाई आफ्नो चलचित्रमा अभिनय गराएका छन् । कस्तो छ त ती कलाकारहरूको अभिनय यी निर्देशकको अनुभवमा । उनकै शब्दमा :

कृष्ण मल्ल : मलाई पहिलोचोटि ‘गोठालो’ चलचित्र निर्देशन गर्ने अवसर उहाँले नै दिनुभएको हो । उहाँलाई हिरोका रूपमा काम गराएको छु । रंगमञ्चबाट चलचित्र अभिनयमा प्रवेश गर्नुभएकाले उहाँ सशक्त अभिनेता हुनुहुन्छ । सिन र डाइलग एकपटक बुझाएपछि जस्तो अभिनय चाहिने हो, बुझेर आफैं गर्नुहुन्छ । उहाँको नृत्य भने साह्रै कमजोर छ । हाम्रो परिवेश सुहाउँदो सशक्त कलाकार चाहिँ हो उहाँ ।
शर्मिला मल्ल : चलचित्र ‘कान्छी’ मा गरेको अभिनय देखेर गोठालोमा पनि यिनलाई लिइएको हो । पर्फेक्ट अभिनय गर्न सक्ने राम्रो कलाकार हुन् उनी । रंगमञ्चबाटै आएकाले यिनलाई पनि अभिनय sharmila-mallगराउन सजिलो छ । भर्सटाइल नायिका भन्दा पनि फरक पर्दैन । सिधासाधा अनि सेन्टिमेन्टल भूमिका बढी सुहाउँछ । नृत्य सामान्य छ । यिनलाई एक्सन गराउनचाहिँ गाह्रो छ । ड्ेरस र मेकअप सेन्स राम्रो छ ।

सरोज खनाल : ‘गोठालो’ मा यिनलाई पनि अभिनय गराएको छु । रंगमञ्चबाटै आएका कलाकार हुन् । सरोजको अभिनयमा खोट लगाउने ठावैं छैन । हेर्दा हिरोजस्तो नदेखिने तर अभिनयक्षमता गतिलो भएका कलाकार । छोटै समयमा चाहिएको अभिनय सजिलै लिन सकिने । एक्सप्रेसनमार्फत अभिनय दर्साउनुपर्ने भूमिकामा यिनीजत्तिको अरू कमै होलान् । एक्सन ओरिएन्टेड चलचित्र गर्न सक्दैनन् तर सेन्टिमेन्टल भूमिका साह्रै सुहाउँछ । यी कलाकारलाई कमेडी गराउनुचाहिँ मुख्र्याइँ हुन्छ ।
श्रीकृष्ण श्रेष्ठ : अरू थुप्रै हिरोमा नभएको गुण छ यिनीसँग । त्यो हो अनुशासन । अभिनय काम चलाउ भए पनि नृत्य निकै राम्रो गर्न सक्ने यिनी हेर्दै हिरोजस्ता लाग्छन् । जति ठूलो स्टार भए पनि अनुशासन कहिल्यै नछोड्ने यिनको बानी अन्य कलाकारले पनि सिक्नुपर्छ । अभिनय गर्नु अगाडि भूमिकाबारे चिन्तित हुन्छन् । थुप्रै पक्ष राम्रो भए पनि भाषामा चाहिँ प्रोब्लम छ । यिनलाई नेपाली भाषाका डाइलग बोलाउन निकै मेहनत गर्नुपर्छ । यिनले क्षमताअनुसारका चलचित्र नपाउनुमा एउटा कारण त त्यही भाषिक समस्या पनि हो कि जस्तो मलाई लाग्छ । ड्ेरसमा ज्यादै सेन्सिटिभ । आफूलाई कसरी र कुन मामिलामा हिरो देखाउने हो, त्यसबारे पूर्ण ज्ञान राख्छन् ।
राजेश हमाल : एक्सन मात्र राम्रो भएका तर अभिनय काम चलाउ मात्र भएका कलाकार हुन् यी । धेरै पढेलेखेका भएकाले होला, यिनलाई डाइलग र सिनचाहिँ धेरै सम्झाइरहनु पर्दैन । सबैभन्दा खराब पक्ष सुटिङ समयमा नआइपुग्ने हो, ड्ेरसमा पनि उति ध्यान दिँदैनन् । एक्सन र हाउभाउले मात्रै चलेका । थुप्रै चलचित्र सफल भएर इतिहासमा नाम लेखाए पनि सोचेजति अभिनय गर्न नसक्ने कलाकारजस्ता लाग्छन् मलाई । हेर्दा हिरो लाग्ने तर नृत्यमा साह्रै कमजोर । ‘जिन्दगानी’ र ‘विश्वास’ गरी दुई चलचित्रमा यिनलाई अभिनय गराएको छु । स्पटमा आयो, अभिनय गर्‍यो अनि गयो, यत्ति मात्र । यीबाट अन्य कुराको आश गर्नु बेकार छ ।
करिस्मा मानन्धर : ‘शुभकामना’ र ‘जिन्दगानी’ दुई चलचित्रमा अभिनय गराएको छु यिनलाई । चुलबुले, चन्चले, सिरियस, मोडर्न, गाउँलेलगायत प्राय: सबै भूमिकामा सुहाउने कलाकार हुन् । मेहनत गर्नमा पनि एक नम्बर । मेकअप, गेटअप र ड्ेरसअपमा राम्रो सेन्स राख्छिन् । यी सबै कुराले उनलाई क्षमतावान् देखाउँछन् । भूमिकाअनुसार आफुलाई जोडदार रूपमा प्रस्तुत गर्न सक्छिन्, भलै अभिनयको गहिराइसम्म चाहिँ पुग्न सक्दिनन् । हेर्दैमा हिरोइनजस्ती लाग्छिन् । उहिलेदेखि अहिलेसम्म पनि आफूलाई सदाबहार राखिरहन सक्नु उनको अर्को खुबी हो । समयको एकदमै ख्याल राख्छिन्, अभिनयका लागि जुनै समय तयारीमा रहन्छिन् । श्रीकृष्णपछिको मेहनती र अनावश्यक डिमान्ड नगर्ने कलाकार करिस्मा नै हुन् ।
दिलीप रायमाझी : यिनलाई नायकका रूपमा ‘जिन्दगानी’ चलचित्रबाट मैले नै भित्र्याएको हुँ । नृत्यमा अब्बल छन् । अभिनय पनि राम्रो छ । जिन्दगानीबाटै स्टार भएपछि थुप्रै चलचित्र हात पारे यिनले । तर पनि आफूलाई मेन्टेन गरिरहन सकेनन्, चरित्र, खानपान, पब्लिक रिलेसन आदिमा । अभिनय राम्रो भए पनि बोली अलि अस्पष्ट छ, डबिङमा धेरै मेहनत गराउनुपर्ने । यिनको मुख्य कमजोरी भनेकै समयअनुसार आफूलाई लैजान नसक्नु हो । समयको पावन्दी नचिन्ने र डिसिजन क्षमता न्यून भएका कलाकार । ड्ेरससपबारेचाहिँ राम्रो ज्ञान हुन्छ यिनलाई ।
पूजा चन्द : अभिनय राम्रो गर्ने तर नृत्यमा कमजोर छिन् । ‘जिन्दगानी’ मा मसँग काम गरेकी हुन् । समयअनुसार परिवर्तन नहुनु र अभिनयमा थप मेहनत नगर्नु यिनको नराम्रो पक्ष हो । स्मार्ट हिरोइन लाग्दालाग्दै पनि आवश्यक थुप्रै पक्षमा विकास गर्न नसक्दा यिनी पलायन भइन् । मोडर्न र आधुनिक दुवै भूमिका सुहाउँछन् तर अभिनयअनुसारको चलचित्र छान्न जानिनन् । ड्ेरसअप र मेकअपको सेन्सचाहिँ राम्रै छ यिनमा ।
सञ्चिता लुइँटेल : ज्यादै प्रतिभाशाली नायिका । मैले अभिनय गराएको ‘छोडिगए पाप लाग्ला’ बेस्ट नायिकाको अवार्ड पनि पाइन् । अरूभन्दा भिन्नै अनि राम्री पनि । अभिनय राम्रो गर्ने, मेहनत पनि उत्तिकै गर्ने । सबै हिरोसँग फिट लाग्छिन् । यिनलाई एक्सन रोल गराउन गाह्रो छ तर सुहाउँदा पनि सुहाउँदैन । आफूलाई समयअनुकूल ढाल्न सक्छिन् । सेन्टिमेन्टल भूमिकामा बढी सुहाउने यी नायिकाको ड्ेरेस सेन्स र चलचित्र छान्न सक्ने क्षमता पनि राम्रो छ ।
ऋचा घिमिरे : जुनसुकै भूमिकामा कुशल अभिनय गर्न सक्छिन् । निर्देशकले बताएका सट र विषयवस्तु सजिलै बुझ्छिन् । एकपटक सम्झाए पुग्ने । टाइमिङ पनि राम्रो छ । भूमिकाअनुसार ड्ेरस र मेकअपको सही छनोट गर्न सक्छिन् । लुक्स राम्रो भए पनि शरीर मेन्टेन नगर्नु र सही चलचित्र छान्न नसक्नु यिनको कमजोरी जस्तो लाग्छ ।
आर्यन सिग्देल : एउटा सिरियलको अभिनय देखेर मैले यिनलाई ‘किस्मत’ बाट चलचित्रमा प्रवेश गराएको हुँ । मेहनती छन्, नयाँ–पुराना सबै हिरोइनसँग सुहाउँछन्, हेर्दैमा हिरो लाग्छन् । अभिनय र ड्रेस सेन्स निकै गजब छ । तर, आफ्ना खराब बानी सुधार्दैनन् । कसैलाई नगन्ने, मोजमस्ती र विलासितामा बढी लाग्ने बानी छ यिनको । चलचित्र छान्ने क्षमता कमजोर छ । समयको ख्याल राख्न र रिलेसन मेन्टेन गर्न जान्दैनन् । यसै कारण प्रतिभा हुँदाहुँदै पनि यिनी पछि परेजस्तो लाग्छ ।
विराज भट्ट : चलचित्र राम्रो छान्न सक्छन् । निर्देशकको खुबीलाई भित्रैबाट चिन्छन् । अभिनयक्षमता दमदार नभए पनि मेहनत गरेर रिझाउन सक्छन् । शरीरअनुसारको खानपान गर्न जान्दछन् । यिनलाई पढेलेखेको स्मार्ट भूमिका सुहाउँदैन तर गाउँले टाइपको अनि एक्सन भूमिकामा ज्यादै राम्रो अभिनय देखिन्छ । ‘दादा’, ‘किस्मत’, ‘छोडिगए पाप लाग्ला’ लगायत चलचित्रमा यिनलाई अभिनय गराएको छु । ड्ेरसमा राम्रो सेन्स नभए पनि आकर्षक तरिकाले प्रस्तुत गर्न सक्छन् । अभिनय गर्न नजाने पनि एक्सनले त्यसलाई मेन्टेन गर्न सक्छन् । आफूलाई समय–परिस्थितिअनुसार परिवर्तन गर्न जान्दछन् । त्यसैले जति अभिनय गरे, चर्चामै रहे । अहिले भोजपुरीतिर गए ।

प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया