भन्सारको मिलेमतोमा करोडौँ गुम्यो

vansarरौतहट, २१ फागुन । गौर भन्सार कार्यालयको मिलेमतोका कारण करोडौँ रुपियाँ राजस्व चुहावट भएको पर्दाफास भएको छ । नेपाली गिट्टी बोकेका भारतीय ट्रकहरूको तौल गरेपछि भन्सार कार्यालय तथा ट्राफिक प्रहरीको बदमासी बाहिर आएको हो । भन्सारको मिलेमतोमा गिट्टी माफियाले करोडाँै मूल्य बराबरको गिट्टी राजस्व नै नतिरी भारत निकासी गरिसकेको रहस्य खुलेको छ ।

सर्वोच्च अदालतबाट निकासी गर्न आदेश फुकुवा भएपछि जिल्ला विकास समिति रौतहटले निकासीको लागि खुला प्रतिस्पर्धाबाट बोलपत्र आह्वान गर्दा जलपामाई कन्ट्रक्सन गरुडा–६ रौतहटले ३४ लाख ५३ हजारमा ठेक्का पाएको थियो । सोही क्रममा शिवशंकर कन्ट्रक्सन महमदपुरले एक लाख घन मिटर गिट्टी र २० हजार घन मिटर डस्ट बालुवा भारततर्फ निकासी गर्न माग गरेपछि २२ कात्तिकमा तत्कालीन सिडिओ शिवहरि उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला अनुगमन समितिको बैठकले कन्ट्रक्सनलाई पनि ५० हजार घन मिटर गिट्टी र १० हजार घन मिटर डस्ट बालुवा भारततर्फ निकासी गर्न इजाजत दिएको थियो ।
‘नेपाली गिट्टी भारत लाँदा प्रति सिएफटी दुई रुपियाँ ७० पैसा जलपामाई कन्सट्रक्सनलाई दिएर प्रति घन मिटर दुई सयको भन्सार तिरेर भारततर्फ निकासी गर्न इजाजत दिइएको छ’ एलडिओ नारायण सापकोटाले भने । उनले अहिलेसम्म लगभग ११ हजार घन मिटर गिटी भारततर्फ निकासी भइसकेको बताए । भन्सारको मिलेमतोमा अहिलेसम्म गिट्टी माफियाले २५ हजार घन मिटरभन्दा बढी गिट्टी भारततर्फ निकासी गराइसकेको उनले बताए ।
यसरी विगत ६ महिनादेखि नेपाली प्राकृतिक सम्पदाको चरम दोहन भइरहँदा भन्सार कार्यालयले भने गिट्टीको परिमाणभन्दा कम भन्सार रसिद काटेर तस्करहरूलाई सहयोग पुर्‍याइरहेको थियो । भन्सार कार्यालय प्रमुख राजेन्द्र हमालको मिलेमतोमा गिट्टी निकासी जारिरहेको जनगुनासो बढेपछि जिल्ला प्रहरीले गिट्टी बोकेका ट्रकहरूलाई बुधबार श्रीराम सुगर मिल्स गरुडाको धर्म काँटामा नापतौल गर्दा परिमाणभन्दा धेरै गिटी भारततर्फ गइरहेको प्रमाणित भएको थियो ।
‘भन्सारले १२ देखि १६ टन सम्मको भन्सार काटेको खबर छ तर सबै ट्रकमा २५ टनभन्दा बढी गिट्टी लोड भएको पायौँ’ प्रहरी उपरीक्षक गोविन्दराम परियारले भने ‘यसरी अनुमान मात्रै लगाउनुस् कि दैनिक पचासौँ ट्रक निकासी हुने हाम्रा गिट्टी कति परिमाणमा सित्तैमा भारत गएका छन् ।’
प्रहरीले तौल जाँच गरेका एक दर्जन ट्रकहरूमा २६ देखि २८ टनसम्म गिट्टी लोड रहेको थियो । अत्यधिक भार बोकेको भन्दै प्रहरी थप २१ भारतीय ट्रकलाई समेत आफ्नो नियन्त्रणमा लिएको छ । क्षमताभन्दा बढी गिट्टी बोकेका ट्रक तथा टिपरहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरको परिसरमा राखिएको बताउँदै परियारले गिट्टी माफियाहरूले अवैध कारोवार भइरहेको प्रमाणित भएको बताए । निर्धारित मापदण्डभन्दा बढी गिट्टी निकासी गर्नेहरू विरुद्ध ऐन कानुनअनुसार कारबाही प्रक्रिया सुरु भएको समेत प्रहरी उपरीक्षक परियारले जानकारी दिए ।
यस सम्बन्धमा गौर भन्सार कार्यालयसँग बुझ्दा ६ चक्का ट्रकमा आठ घन मिटर र १० चक्का ट्रकमा ११ देखि १३ घन मिटर सम्मको राजस्व काटी भारततर्फ पठाइरहेको कागजताबाट स्पष्ट भएको छ । प्रत्येक ट्रकमा २० देखि २५ घन मिटरसम्म गिट्टी लगिए पनि भन्सार प्रमुख आपैँmले अवैध दस्तुरी लिएर गिट्टी बोकेको ट्रकलाई भारत लैजान इजाजत दिने गरेको भन्सार श्रोतको भनाइ छ ।

प्रतिक्रिया