“प्रधानन्यायाधीश प्रधानमन्त्री बने भाँडभैलो”

पोखरा : नेकपा–माओवादीका सचिव नेत्रविक्रम  चन्दले प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद्ले निकास होइन, देशमा भाँडभैलो मात्रै ल्याउने बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ पोखराले आइतबार गरेको
पत्रकार सम्मेलनमा नेता चन्दले कुनै पनि हालतमा प्रधानन्यायाधीश रेग्मी नेतृत्वको सरकार स्वीकार नगर्ने बताएका हुन् ।
‘प्रधानन्यायधीश खिलराज रेग्मी प्रधानमन्त्री हुनु भनेको देश विस्फोटनमा जानु हो त्यसैले उनको नेतृत्वको सरकार कुनै हालतमा उपयुक्त हँुदैन,’  उनले भने ‘न्यायालयलाई प्रशासकीय जिम्मेवारी दिनु नाजायज, अस्वाभाविक र परनियन्त्रित हुन्छ त्यसैले दिनु हँुदैन । मुलुकको जिम्मेवारी दलको हातबाट प्रशासकलाई दिन मिल्दैन, त्यसमा कुनै  पार्टी र
नेताको समेत समर्थन छैन ।’
उनले विदेशी इशारामा प्रधानन्यायाधीश नेतृत्वको
मन्त्रिपरिषद्को प्रस्ताव आएको दाबीसमेत गरे । उनले दुई–चार
पार्टीले  हल्ला गर्ने र प्रस्ताव लाद्न खोजेको जिकिर गर्दै त्यसको प्रतिकारमा
आफूहरू उत्रिने बताए । चन्दले प्रधानन्यायाधीश रेग्मीलाई
सरकारको नेतृत्व नसमाल्न सुझावसमेत दिएका थिए ।  उनले अबको विकल्प गोलमेच सम्मेलन अथवा
सर्वदलीय सहमतीय  सरकारको गठनबाहेक अरू केही नभएको बताए । (सौस)

प्रतिक्रिया