इन्धन लिन भारत गएका व्यक्ति मृत

वीरगन्ज, २० फागुन । इन्धन लिन भारतको बरौनी गएको नेपाली टयांकरका सहचालकको शव आएको छ । १४ फागुनमा बरौनी गएको ना४ ख १५९९ नम्बरको टयांकरका सहचालक बारा प्रस्टोकाका अजमत देवानको शव शनिबार भारतीय प्रहरीले नेपाल पठाएको हो ।

प्रहरीका अनुसार १५ गते डिजेल लिएर फर्किदै गर्दा भारतको मुजप्फरपुरमा अपरिचित समूहले लठ्याउने औषधि खुवाएपछि बिरामी परेका देवानसहित तीनजना भारतको पटना मेडिकल हस्पिटल भर्ना भएका थिए । उपचारका क्रममा देवानको त्यही अस्पतालमा शुक्रबार मृत्यु भएको हो । मुजफरपुरको ढोली भन्ने स्थानमा भारतीय नम्बर प्लेटको बोलेरो चढी आएका १०/१२ जनाको लुटेरा समूहले टयांकरमा सवार देवानसहित तीन जनालाई बेहोस पार्ने नशालु पदार्थ खुवाएपछि उनीहरू बिरामी परेका थिए । त्यसपछि २० हजार लिटर डिजेलसहितको टयांकर लुटेरा समूहले लुटेर लगेको बारा प्रहरीका इन्स्पेक्टर रामनाथ घिमिरेले जानकारी दिए ।
भारतीय प्रहरीले देवानको शवसहित उनीसँगै रहेका दुईजनालाई एम्बुलेन्समा चढाएर नेपाल पठाएपछि घटना शनिबार सार्वजनिक भएको इन्स्पेक्टर घिमिरेले बताए । प्रहरीले हत्याको अनुसन्धानका लागि देवानसँगै रहेका दुवैजनालाई नियन्त्रणमा लिएको छ ।
यसैबीच हत्याको विरोधमा देवानका आफन्तले वीरगन्जको बाइपासमा शनिबार प्रदर्शन गरेका छन् । मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै प्रस्टोकाका बासिन्दाले बाइपासमा शनिबार बिहान ११ बजेदेखि प्रदर्शन गर्दै सडकसमेत अवरुद्ध पारेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया