बस भाडा ४० प्रतिशतले घट्यो

कैलाली, १९ फागुन । सुदूरपश्चिमको अग्रणी यातायात व्यवसायी संघ सुदूरपश्चिम यातायातले कैलालीदेखि बाजुरासम्मको बस भाडा चालीस प्रतिशतले घटाएको छ । धनगढीमा प्रधान कार्यालय रहेको यातायात संघले आफ्नो ३०औँ वार्षिकोत्सवका उपलक्ष्यमा भाडादर घटाएको हो । बाजुरा रुटमा यसअघि प्रतियात्रु एक हजार ६ रुपियाँ रहेकोमा घटाएर ६ सय रुपियाँ कायम गरिएको संघका अध्यक्ष टेकराज जोशीले बताए ।

‘हामीले दुर्गम भेगका जनतालाई राहत होस् भनेर वैशाख मसान्तसम्मका लागि भाडादर घटाएका छौँ, त्यसपछि के गर्ने भन्ने विषयमा संघको बोर्डले निर्णय गर्नेछ,’ जोशीले भने । नयाँ वर्ष नजिकिरहेको र संघ स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा संघले भाडादर घटाएको जानकारी उनले दिए ।
सुदूरपश्चिम यातायातले भारी मात्रामा भाडादर घटाएपछि आफूहरूलाई ठूलो राहत भएको बाजुराका कैलाश जोशीले बताए । नयाँ वर्षको आवागमनसँगै संघले भाडादर घटाएपछि भारतबाट मजदुरी गरेर आउने बाजुरेली बढी लाभान्वित हुनेछन् । कैलालीदेखि बाजुरासम्म तीन सय २० किलोमिटरभन्दा बढी दूरी रहेको यो रुटमा सेती अञ्चल यातायात व्यवस्था कार्यालयले कच्ची र साँघुरो सडक भएकाले यातायात सञ्चालनको अनुमति दिएको छैन ।

प्रतिक्रिया