डायरीमा गीतहरू लेख्दै/मेट्दै…

Rajbabu-Shresthaराजुबाबु श्रेष्ठ कथालेखनमा चिनिएका नाम हुन् । पछिल्लो समय गीतलेखनमा पनि आफूलाई उभ्याएका श्रेष्ठका तीन कथासंग्रह ‘मारिनोसेलोको जुन’, ‘पुस्तान्तर (संयुक्त)’, ‘मृत्युमेला’, दुई कवितासंग्रह ‘मनहरू’, ‘देश दुखेको बेला’ चार गीतिएल्बम ‘वचन’, ‘आयाम’, ‘आशय’, ‘बयान’ प्रकाशित छन् । उनका राजेशपायल राईले गाएको ‘वचनैले जोड्यौ नाता’, मनोजराजले गाएको ‘चोट खाँदाखाँदा’ लगायत गीत चर्चित छन् । उनीसँग गरिएको गीत–संवाद :

बजारमा तपाईंको कथाकारको इमेज छ, किन गीतकार हुनुपरेको ?
मेरो कथाकारको इमेज बदल्न वा नयाँ परिचय स्थापित गर्न मैले गीत लेख्न थालेको होइन । लेखनको समय हेर्ने हो भने मेरो कथा र गीत लेखेनको उमेर एकैएकै हो । फरक यत्ति हो कि कथाहरू प्रकाशन भए गीतहरू डायरीका पाना भित्रै रहे । कत्ति गीतहरू डायरीमा लेख्दै र मेट्दै गरेँ । पछिल्लो समयमा आएर सांगीतिक संगतका कारण डायरीका पानाभित्र लुकेर बसेका मेरा पुराना गीतहरू संगीत भरिएर बजारमा आए, जसका कारण गीतकारको रूपमा पनि मेरो परिचय बन्न पुग्यो । यसमा मेरो इच्छा र योजनाभन्दा पनि समय र संयोगको भूमिका रहेको म ठान्छु ।
गीत लेखेर थुप्रै पुरस्कार र सम्मान पाएपछि तपाईंले आफूलाई ‘हाइप्रोफाइल’ गीतकार ठान्न थाल्नुभो’ रे †
पहिलो कुरा त सिर्जनाको प्रोफाईल हुन्छ जस्तो लाग्दैन । सर्जक आफ्नो सिर्जनामा बाँच्ने हो, कुनै प्रोफाईल र दर्जामा होइन । अर्को कुरा आफँैले आफूलाई यस्तो हुँ, उस्तो हँु भन्नु कुनै पनि सर्जकका लागि सुहाउने विषय होइन । एउटा गीतकारको लागि श्रोताको मायाभन्दा ठूलो केही हुँदो रहेछ, जसरी सपनाजस्तो सुन्दर अरू केही हुँदैन । श्रोता भनेका सुन्दर सपनाजस्ता हुन्, जो सधैँ सपनामा आइदिए हुन्थ्यो भन्ने लागिरहन्छ । श्रोताले मेरा गीतहरूलाई कुन रूपमा लिएका छन् त्यसैबाट मेरो स्थानको निर्धारण हुन्छ भन्ने म ठान्छु । यदि बजारको हल्लाबाटै प्रश्न गर्नुभएको हो भने पनि यसलाई एउटा गीतकारको सुखद भविष्यको संकेतको रूपमा बुझ्छु ।
सबै विधामा ह्वारह्वारती लेख्न थालेपछि लेखक स्वयम ‘मिसअन्डरस्टुड’ हँदैन र ?
मैले कहिल्यै योजना बनाएर कुनै कुरा लेखिनँ । आफूलाई यो विधामा स्थापित गर्छु भनेर पनि कहिल्यै सोचिनँ । जुन कुराले मनको गहिराइमा छोयो त्यसबेला कलम चलाएँ । जेजे गरेँ, मनबाट गरेँ । मनको निर्देशनमा लेखिएका कुरा कहिले कथा बनेर आए, कहिले गीत, कविता र नियात्रा । लेखक एउटै परिचयमा बाँधिनुपर्छ भन्ने लाग्दैन । पाठक र श्रोताको मन छुन सक्ने सिर्जना जतिसुकै विधामा भए पनि त्यसले सर्जकको परिचय झन् फराकिलो हुन जान्छ । एउटै सर्जक धेरै विधामा स्थापित भएको उदाहरण पनि भेटिन्छन् नि होइन र †
विदेशी भूमिको दर्द र दु:ख भएको ‘मारिनोसेलोको जून’ जस्तो स्ट्यान्डर्ड कथा लेख्ने राजुबाबु श्रेष्ठ ग्ल्यामर र माया पिरतीमा झुम्न थाल्यो भनिन्छ, कति सत्य हो ?
हालका केही वर्ष गीतीलेखनमा मेरो सक्रियता बढेको पक्कै हो । ग्ल्यामरको दुनियाँमा म देखिएको पनि पक्कै हो तर यसैमा झुलेको भने होइन । मैले कथा लेखनलाई पनि सँगसँगै लगेको छु । यसै वर्ष रत्न पुस्तक भण्डारबाट मेरो विदेशी कथाहरूको संग्रह ‘मृत्युमेला’ प्रकाशित भयो । नियात्रा लेखनको कार्य पनि जारी छ । गीत एकैचोटि धेरै श्रोतामाझ पुग्ने र मिडियामा बढी आइरहने हुनाले यस्तो देखिनु स्वभाविकै हो ।
पाठकको ध्यान गीत/कविताभन्दा बढी आख्यानले तान्न थालेको छ, गीत/कविताको मूल्यमा ह्रास आएको हो ?
पछिल्लो समय आख्यानतर्फ पाठकको रुचि बढेको कुरा सत्य हो । आख्यान लेखनको प्रभाव पनि बढेको छ तर यसबाट गीत/ कविताको मूल्यमा ह्रास आएको हो भन्न मिल्दैन । गीत र कविता आख्यानजस्तो आम मानिसमा पुग्न सकेको देखिँदैन । कुनै चर्चित पुस्तकको पाठक पचास हजार पुग्दा नपुग्दै एउटा चर्चित गीतको श्रोता बिसां लाखभन्दा बढी भइसकेका हुन्छन् र दशाँ लाखको मनमा बस्न सफल भैसकेको हुन्छ । तसर्थ, आख्यानको पाठक बढे भन्दैमा गीतको मूल्य घट्यो भन्ने अर्थ लगाउनु न्यायसंगत देखिँदैन ।
तपाईंलाई हाइरेटेड गीतकार भन्नेहरू पनि छन् । एउटा गीत कति मूल्यमा बेच्नुहुन्छ ?
सत्य कुरा त मैले आजसम्म मेरो गीतको कुनै रेट राखेको छैन । सिर्जनाको मूल्य यति नै हो भनेर तोक्न कठिन हुन्छ । फेरि मलाई मेरो विगत राम्रोसँग थाहा छ । कुनै दिन संगीतकारहरूलाई त्यसै गीत दिँदै हिँड्ने मान्छे पनि मै हुँ । यो मेरो भाग्य हो कि यति धेरै गीतको भीडमा मेरा केही गीत चर्चित भए । पारिश्रमिककै कुरा गर्नुपर्दा कुनै गीतमा दश हजारसम्म पनि पाएको छु । यसको मतलब त्यो मेरो रेट भन्ने अर्थमा लिन मिल्दैन । आजसम्म यति लेऊ भनेर भनेको छैन तर दिएकोमा चित्त बुझेको छ । कतिपय नयाँ भाइहरूलाई बिना पैसा पनि गीत दिएको छु । उनीहरूमा मैले मेरो संघर्षका दिनहरूको झल्को देख्छु । म पैसामाभन्दा बढी गीतको स्तरीयतामा ध्यान पुर्‍याउँछु ।
तपाईंलाई आफ्ना कुरा भन्न गीत नै किन चाहिन्छ ?
एकैपटक धेरै मान्छेमाझ आफ्नो भावाना अभिव्यक्त गर्ने माध्यम गीत नै हो, तसर्थ आफ्नो मनका कुरा लाखौं श्रोतामाझ पुर्‍याउन गीतभन्दा सशक्त साधन अरू हुनै सक्दैन ।
एउटा राम्रो गीतको परिभाषा तपार्इं दिन सक्नुहुन्छ ?
भन्न त शब्द, संगीत र स्वरको अनुपम संगम भएको गीत नै राम्रो गीत हो भन्ने गरिन्छ तर मेरो परिभाषा अलि बेग्लै छ । मचाँहि श्रोताको मनको भित्री पाटोलाई छुन सफल गीतलाई नै राम्रो गीत भन्न रुचाउँछु ।
गीतले समाज र सत्तालाई कतिको असर गर्छ ?
हेर्नोस्, एउटै गीतले ठूलाठूला तानाशाहहरूको सत्ता हल्लाइदिएको र देशको राजनीतिमा उथलपुथल गरेका अनेकां दृष्टान्तहरू भेटिन्छन् । गीतलाई समाजमा जनचेतना जगाउने सरल र सशक्त माध्यमको रूपमा पनि बुझिने गरिन्छ । हाम्रै देशमा पनि विभिन्न कालखण्डमा सत्ता र समाज परिर्वतन गर्ने संवाहक बनेको छ, गीत । सत्ता टिकाउन र फाल्न प्रयोग भएको छ, गीत । सामाजिक विकृति भण्डाफोर गर्ने माध्यम बनेको छ, गीत । तसर्थ, गीतको शक्तिलाई नजरअन्दाज गर्न सकिँदैन ।
प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया