साँझहरूको अन्त्यपछि

Govinda-bartamanभोलिपल्टको बिहान विचार र वीर्य दुवै स्खलित भएको पुरुषजस्तो शिथिल थियो । मस्तिष्कमा विराट सन्नाटाले फन्को मारिरहेको थियो । यात्राका उत्साह र रोमाञ्चहरू समाप्त भएका थिए । कतै केही बिझाइरहेको थियो । यही मनोदशामा सहयात्रीहरूसँगै म आँगनमा निस्केँ । कटेजका नारायणजी र उनकी पत्नीले स्वयं सरिक भएर मीठो चिया खुवाए ।

फेवाको किनारमा आइपुग्दा मलाई लागिरहेको थियो, मेरो मन र शरीरबाट केही उप्किएर गइरहेको छ र अब त्यो कहिल्यै फर्किएर आउँदैन । तानसेनको एउटा क्षणजस्तै यतिबेला पनि मलाई कुनै एकान्तमा बसेर अश्रुग्रन्थिलाई पर्याप्त स्वतन्त्रता प्रदान गर्न मन लागिरहेको थियो । त्यो कायरता होइन, मानसिक शुद्धीकरणको राम्रो तरिका हुन सक्थ्यो । तर अनुकूलता थिएन । हामी फेवाको पानीमाथि डुंगामा तैरिन पुगिसकेका थियौँ । मलाई भने केही अप्रिय पदार्थमा डुबिरहेको अनुभूति भइरहेको थियो ।
फेवातालको बाराही मन्दिरमा केही क्षण अलमलियौँ । मन्दिरवरिपरिको रेलिङबाट तल पानीमा माछाका बथान देखिएका थिए । म तिनै बथानलाई हेर्न थालेँ । कसैले पानीमाथि स्याबजी फालिदियो । माछाको बथान त्यहीँ आयो । बथानका माछा चोसो परेको मुख बाएर फालिएका आहारा खाइरहेका थिए । त्यस क्षण एउटा माछामाथि अर्को र अर्को माछामाथि अर्को, फेरि अर्कोमाथि अर्को र अर्कोमाथि अर्को झुत्ति खेलिरहेका थिए । र, फालिएका चारा टिपिरहेका थिए । दृश्यको हिसाबले यो रोचक थियो भने यसको प्रक्रिया र सारको हिसाबले घृणास्पद ।
राजनीतिक पार्टी र तिनका तथाकथित संसदीय अभ्यासलाई यस दृश्यले राम्ररी चित्रित गरेझैँ मलाई लाग्यो । यदि संसदीय पार्टीका क्रियाकलाप त्यही प्रकारको नभइदिएका भए सायद रोल्पा, कैलाली र बाग्लुङतिर मानिस त्यसरी मारिने थिएनन् । मानिसले त्यसरी यातना पाउने थिएनन् । कृष्णी चौधरी र पार्वती डागौराले लोग्ने गुमाउनुपर्ने थिएन ।
फेवाबाट हामी बिहानको खाजाका निम्ति बरालजीको निम्ता मान्न गयौँ । पृथ्वीचोकबाट पूर्वतिर लाग्दा गाडीको झयालबाट मैले उत्तरतिर हेरेँ । माछापुच्छ्र्रे छयांग देखिएको थियो । अन्नपूर्ण हिमशृंखलाको यो विशिष्ट उपहार जहिले पनि आकर्षक लागिरहन्छ । माछापुच्छ्रेलाई पछिल्तिर पारेर हामी पूर्वतिर हुइाकियौँ ।
दस बजे दमौली । साढे दस बजे डुम्रे । डुम्रेमा रोकियौँ र चिया खायौँ । डुम्रेसँग खगेन्द्र संग्रौलाका स्मृति गाँसिएका छन् । उहाँले गरेको काम र उहाँले लगाएको मायाका प्रसंग त्यहाँ छरिएका छन् । एकछिन् कुराकानीको विषय त्यही भयो । गीतको प्रेमी राजु यहाँ पनि गीतिचक्का खोज्न गयो, तर चित्तबुझ्दो नभेटेर फर्कियो । सुन्नलाई अब हामीसँग नयाँ गीत छैनन् । मनभित्रै बजिरहेको छ, उदासीको गीत । त्यसै–त्यसै दिक्क लाग्न थालेको छ । म मनमनै स्टिभी वन्डरको गीत गुन्गुनाउँछु :
ल्य लभध थभबचुक मबथ तय अभभिदचबतभ
ल्य अजयअयबितभ अयखभचभम अबलमथ जभबचत तय नष्खभ बधबथ
ल्य ब्उचष् िचबष्ल, लय ष्दिचब क्गल
ल्य धभममष्लन क्बतगचमबथ धष्तजष्ल तजभ mयलतज या व्गलभ
क्ष् वगकत अबििभम तय कबथ, क्ष् यिखभ थयग
खैरेनी, मुग्लिङ हुँदै गाडी केबुलकार स्टेसन आइपुग्यो । केबुलकार चढ्ने रहरले आएका, प्रेमको धित मार्न जोडी भएर आएका र भाकल पूरा गर्न आएका थरीथरीका मानिस झुरुप्प देखिन्छन् । त्रिशूलीमाथि तुन्द्रुंग झुन्डेका केबुलकार तारले घिसारिँदै उक्लिरहेका र त्यसरी नै ओर्लिरहेका छन् । यी मानिस र यी दृश्यलाई देशभरिजसो पड्किएका गोली र मारिएका गरिब नेपालीबारे कत्तिको चासो होला ?
किन आधा रातमा हतियार बोकेर मानिसहरू आफूजस्तै मानिसलाई मार्न हिंड्छन्, किन मुलुकभरि अन्योल र सन्त्रासको जालो फैलिरहेको छ र किन सरकार र माओवादी आआफ्ना हठहरूसहित भिडिरहेका छन्, त्यसबारे चिन्ता र चासो मनकामनातिर गइरहेका र फर्किरहेका कसैलाई भएझैं लाग्दैन । मनकामनाले मानिसका आकांक्षालाई साँच्चै नै पूरा गर्ने थिइन् भने उनले यस देशको निर्दोष आकांक्षालाई पनि पूरा गर्ने थिइन् । मनकामना मनको भ्रान्तिको मूर्तिकरणसिवाय केही होइन भन्ने सत्य मनकामनातिर धाइरहेको जमातलाई बुझाउन यस देशले अझ कति समय कतिथरी युद्ध खप्नुपर्ने हो ?
एक बजेतिर मलेखुको रिचोकटार आइपुग्छौँ । हामीले अझै खाना खाएका छैनौँ । भात खाने कि नखाने भन्ने विषयले हाम्रो गाडीभित्र अन्योल उब्जाएको थियो । गाडीभित्रका चारमध्ये दुईजना नखाने र दुईजना खाने मनस्थितिमा थिए । त्यसैले अन्योलको बीचैमा एउटा निकासजस्तो गरी खाना खाने निर्णय भयो ।
बायाँतिर त्रिशूली बगिरहेको छ । यदि मानसिक स्वास्थ्य ठीक छ भने नदीको किनारै–किनार यात्रा गर्न मलाई रमाइलो लाग्छ । नदीको प्रवाहका विस्मयकारी दृश्यले त्यस्तो रमाइलो दिइरहन्छन् । नदी कतै एक खुड्किलो ओर्लिन्छ र खुड्किलो ओर्लिरहेको नदी सेतो छयाकटे देखिन्छ । कतै त्यसैगरी ओर्लिन्छ र नदी ओर्लिएको दृश्य कुलोबाट घट्टमा खसेको पानीजस्तो देखिन्छ । कतै ओर्लिएपछि एउटा ठूलो थालजस्तो सतहभरि नदीले दह बनाउँछ । थालमा भरिएर नदी फेरि बढ्छ, फिँजारिन्छ र कहिलेकाहीँ फिँजारिएको ठाउँबाट भंगालो फाट्छ ।
एउटै नदीका दुई भंगाला भिन्नु भएका भाइजस्ता देखिन्छन् । जसरी हामी कहिलेकाहीँ बेइमान बुद्धिमा ठोक्किन पुग्छौँ र हाम्रो केही छिनलाई भुमरी पर्छ । त्यसरी नै नदी पनि कहिलेकाहीँ पहरोतिर ठोकिन्छ र भुमरी पर्छ । तैपनि अड्किरहँदैन । नदी र जीवनमा थुप्रै समानता छन् । गति, गति र फेरि गति, रोकियो कि नदी सकियो । अहिले म त्यस्तै दृश्य हेरिरहेको छु । नदी पूर्वबाट पश्चिम बगिरहेको छ र हाम्रो गाडी पश्चिमबाट पूर्व । हेर्दाहेर्दै आदमघाट आइपुग्छ । यो बेलौतीको मौसम होइन, नत्र भने यहाँ बेलौती भनिने अम्बाहरू लिएर कराउँदै आउने मासिसले यात्रुलाई छोप्थे ।
बैरेनी आइपुगेपछि विपरीत दिशातिर बगिरहेको त्रिशूली उत्तरी पहाडका खोँचहरूतिरबाट आइरहेको देखिन्छ । अब नदीको प्रवाहलाई उत्तरतिर छोडेर हामी गल्छी प्रवेश गर्छौं । गल्छीपछि महादेवबेसी, महेशखोलाको बगरमा गिट्टी कुटिरहेका महिला र फेरि धार्के । धार्के आसपास ससाना ठाउँमा च्यााखे थापेर यात्रु बल्झाउन बसेका पसलहरू छन् । हामी कतै नबल्झिइकन सवा दुई बजे नौबिसे पुग्छौँ ।
गाडी आफ्नै गतिमा छ, तर गाडीभित्र हाम्रो संवादको गति अवरुद्ध भएको छ । कोही कसैसँग बोलिरहेको छैन । एकअर्काप्रतिको लगाव लगभग सकिएको छ । केही अरुचिकर तत्वले सबैलाई गाँजिरहेझैँ लाग्छ । म सोच्छु, यो सबै सोह्रवटा साँझले हामीलाई दिएको मानसिक यातनाको परिणाम हो । युद्ध, मारकाट, सामाजिक खण्डीकरण, आतंक, यातना, अन्योल, आशंका र घना अँध्यारोको आभासले हाम्रो मस्तिष्कलाई अप्रत्यक्ष रूपमा आघात गरिरहेको छ । त्यसैले हामीमा आकर्षण, लगाव र आनन्दभाव पराजित थिए । हामी एकअर्काप्रति अलगाव अनुभव गरिरहेका थियौँ । हामीलाई अलगावको यो सीमासम्म पुर्‍याएको युद्ध र त्यसका कुरूप परिणामले नै हो । त्यसैले युद्धलाई कुरूप र कलाहीन अनुहारमा जन्म दिनु क्रान्तिकारी कार्य होइन भन्ने विचार मलाई भित्रैदेखि सही लागिरहेको थियो ।
नागढुंगाको उकालो आइसक्छ । यहाँ पनि घुम्तीहरू छन्, तर यो उकालो घुम्ती ढिकीचउरको जस्तो होइन । मलाई ढिकीचउरको खतरनाक बाटोमा भएको ल्यान्डरोभर र राजुको परीक्षाको सम्झना हुन्छ । त्यस कठिन परीक्षामा दुवै पास भएका थिए । तर, प्रतापपुरमा पुस्तक जलाउने माओवादीको परीक्षा जारी छ । माओका गुरुका पनि गुरु माक्र्सका पुस्तकसमेत जलाउन उद्दत हुने र त्यस निन्दनीय कार्य गरेकोमा कत्ति पनि पश्चात्ताप नगर्ने माओवादीहरू ज्ञानको संरक्षण गर्ने परीक्षामा सधैँ फेल भइरहन्छन् भन्ने तीव्र बोध भइरहेको थियो मलाई ।
अब काठमाडौं उपत्यका परदेश गएको परिवारलाई स्वागत गर्न प्रतीक्षारत अभिभावकजस्तै हाम्रो आँखाअगाडि प्रस्तुत भएको थियो । मैले मेरो प्रिय काठमाडौंलाई मनमनै माया र अभिवादन गरेँ ।
सिल्ली संवेदना र कृतघ्न काव्यचेत भएका थुप्रै कविले काठमाडौंलाई गाली गरेर तथाकथित कविता लेखेका छन् । काठमाडौं भएर र काठमाडौं आएर नै आफ्नो हैसियत बनाएका त्यस्ता कविहरूको काठमाडौंविरोध समाजशास्त्रीय दृष्टिले अयथार्थ र द्वेषपूर्ण अभिव्यक्तिसमेत हो । आफ्नो आयतनभरि पचहत्तरै जिल्लाका टाठाबाठालाई ठाउँ दिएर काठमाडौंले आफ्नो भूगोल र सत्ताको वितरणसमेत गरेको छ । काठमाडैंको ध्वनि, धूलो र धुवाँ प्रदूषणमा काठमाडौंबासीको भन्दा तिनै व्यक्तिको भूमिका ठूलो छ । जो काठमाडौंलाई कविता र भाषणमा गाली गर्छन् । तथाकथित शिष्ट भाषामा काठमाडौंलाई सत्तोसराप गर्नेहरू अब कहिले आएर मसँग एउटा घडेरी माग्ने हुन् भनेर काठमाडौं व्यंग्यात्मक मुस्कान फालेर बस्न थालेको थुप्रै भइसकेको छ ।
काठमाडौंमा भर्खरै घडेरी किनेर घर बनाइरहेको पश्चिमतिरको एउटा व्यक्ति पनि यसबेला मैले अनायास सम्झिएँ । ऊ मौका पर्नासाथ काठमाडौंलाई खसाल्न चुक्दैनथ्यो । एकदिन ऊ नयाँ सडकको पेटीमा उभिएर गफ चुटिरहेको थियो र भनिरहेको थियो : ‘ठुल्ठुला कवि–लेखक भानुभक्त आचार्य, लेखनाथ पौडेल, माधव घिमिरे, धर्मराज थापा आदि जम्मै पश्चिमकै हुन् नि, के छ र काठमाडौंमा ?’
म नजिकै थिएँ र उसलाई सुन्नेबित्तिकै झनन्न भएको थियो । धृतराष्ट्रले फलामको भीमसेन धुल्याएजस्तो म उसलाई धुल्याउने इच्छामा पुगेको थिएँ । तर मैले आफूलाई सम्हालेँ । उसको एकव्यक्तीय प्रतियोगिताको अघिल्तिर पुगेर मैले भनेँ :
‘महाकवि लक्ष्मीप्रसाद देवकोटा नि ?’
‘त्यो त, अ: …,’ ऊ सकपकायो र उसको अनुहार अकस्मात खुम्चिँदै गयो । पराजयबोधले उसका आँखा निस्तेज भए । त्यसपछि नाटककार बालकृष्ण समहरूको नाम लिइरहनु आवश्यक भएन । काठमाडौंका भएर नै नेपालका भएका अरू पनि महान् पुरुषको नाम लिएर मरिसकेको त्यस मूर्खलाई फेरि मार्नु मलाई अनुचित लाग्यो र म आफ्नो दिशामा हिंडेँ । म विगतको त्यस कुरूप क्षण सम्झँदै अघिल्तिरको काठमाडौंलाई हेर्न थाल्छु ।
स्वयम्भूका आँखामा धूलो छयाप्न तम्तयार काठमाडौंबाहिरका काठमाडौंका ऋणीहरू राजनेता र प्रशासकको भेषमा काठमाडौंलाई हरदम शक्ति आर्जनको केन्द्र मानेर ढुकिरहेको पक्षलाई पनि काठमाडौंले उहिलेदेखि अहिलेसम्म निर्निमेष हेरिरहेको छ । केन्द्रीकरणको विरोधमा विकेन्द्रीकरणको नारा लगाउने तथाकथित बुद्धिजीवीले पनि यही काठमाडौंको पानी खाँदै व्याकुल काठमाडौंलाई मेलम्चीको सपना देखाइरहेको पनि थुप्रै भइसकेको छ । यी र अझै अनेकौं विडम्बनाको भोक्ता बनेर बसेको मेरो काठमाडौंलाई जब नागढुंगाबाट म देख्छु, तब मलाई काठमाडौंको अझ माया लाग्न थाल्छ ।
दिनको सवा तीन बजे हामी काठमाडौंको नगरक्षेत्र कलंकी आइपुगेका छौँ । बस, माइक्रोबस, टेम्पो र मोटरसाइकलको घुइँचोले नागरीय रौनक र पर्यावरणीय प्रदूषण दुवैको एकसाथ आभास भएको थियो । हामी प्रस्थानको समयमा आएको चक्रपथकै बाटो समातेर दगुर्याैँ । साढे तीन बजे महाराजगन्जको नारायणगोपाल चोक आइपुगियो । चिया खाएर त्यहाँबाट हिंड्ने सल्लाह भयो । यो हाम्रो यात्राको अन्तिम चिया र अन्तिम बसिबियाालो ।
आधुनिक र उच्चवर्गीयमा विशेषत: आधुनिक परिधानका युवायुवतीको भीड थियो । हामी एउटा टेबुलवरिपरि बस्यौँ । पोखराको लेकसाइडमा जस्तै यहाँ पनि केही परिचित र केही अपरिचित परिकारमा ग्राहक संलग्न थिए । हामी चिया वा चिसो दुईमध्ये एक हलुको पदार्थ खाएर यात्राको धङधङी कम गर्ने मनसायले छिरेका थियौँ ।
‘के खाने ? चिसो खाउँm कि ?’ सुरेशले भन्यो ।
‘म त चिसो खान्छु †’ मैले भनेँ ।
राजुले चिसै खाने कुरा गरेपछि खगेन्द्रदाइले पनि चिसै खाने विचार गर्नुभयो । हामीले कोकाकोला मगायौँ । म त फेन्टा खान्छु भनेर खगेन्द्रदाइले फेन्टा मगाउनुभयो । हाम्रो सुरेश उच्चशिक्षा अध्ययन गर्ने क्रममा वर्षौं सातसमुद्रपारि नर्वेमा बसेर आएको मानिस । ऊ थुप्रै परिकारसँग परिचित छ । पश्चिमा भोजन संस्कृतिबारे ऊ हामीभन्दा धेरै गुना जानकार छ । उसले कुनै विशिष्ट लाग्ने पेय मगायो । हामी त्यहाँबाट छिट्टै निस्कियौँ । केही मिनेटभित्रै हामी सत्र दिनको सहयात्राबाट छुट्टिँदै थियौँ । अलगावहरूको बीचमा पनि एक खालको लगाव बिस्तारै पलाउन थाल्छ । मलाई मनमनै नजानिँदो न्यास्रो लाग्न थाल्छ ।
पाँच मिनेटमा हामी धोबीखोला पुल तरेर चाबहिल क्षेत्र प्रवेश गर्‍यौँ । घर आइपुगेको खुसी र सहयात्राको समाप्ति दुवै मिलेर एउटा साँझजस्तो मनस्थिति पैदा भएको छ । यो दु:ख होइन र सुख पनि होइन । जसरी साँझ भन्नु उज्यालो पनि होइन र अँध्यारो पनि होइन, त्यसरी नै यतिबेलाको हाम्रो स्थिति मिलन र बिछोड दुवै होइन । आठ वर्ष चलेको गृहयुद्धपछि दोस्रोपटक भएको युद्धविराम पनि एउटा साँझजस्तै थियो । यो युद्धविराम अशान्ति पनि होइन, शान्ति पनि होइन । यसका पछिल्तिर युद्धका विभीषिकाहरू थिए भने अघिल्तिरका दिनहरू घना अन्धकारमय कालरात्रिजस्तै हुने सम्भावना पनि थियो । न दिन न रात भनेजस्तो युद्धविराम स्वयंलाई एउटा साँझजस्तो मानेर सोह्रवटा साँझहरू हामीले युद्धग्रस्त क्षेत्रमा व्यतीत गरेका थियौँ । सत्रौं सााझ हामी आआफ्ना घरमा हुनेछौँ । त्यसको अनुहार कस्तो हुने हो ?
आफ्नो झोला समातेर हड्बडाउँदै म गाडीबाट ओर्लिएँ । म एकदमै नर्भस थिएँ । युद्धका कुरूप परिणामहरूको लस्करले मलाई लखेटिरहेको थियो ।
(वर्तमानको बहुचर्चित यात्रा–संस्मरण ‘सोह्र साँझहरू’को भर्खरै प्रकाशित दोस्रो संस्करणबाट । यसको प्रकाशन फाइन प्रिन्ट’ले गरेको हो ।)

प्रतिक्रिया