प्रधानन्यायाधीश विरुद्ध साना वामदल

cp mainaliकाठमाडौं, १८ फागुन । साना वामपन्थी दलहरुको गठबन्धन ‘राष्ट्रिय वाम–लोकतान्त्रिक मञ्च’ले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने प्रमुख चार राजनीतिक शक्तिहरुको निर्णय प्रति असन्तुष्टि जनाएको छ ।
काठमाडौंमा आज बसेको मञ्चको बैठकले वहालवाला प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुख बनाउने विवादस्पद प्रस्ताव र त्यससँग सम्बन्धित अन्य विषयहरुबारे छलफल गरेको हो ।
राजनीतिक निकासका सम्बन्धमा आएको वहालवाला प्रधानन्यायाधीशलाई निर्वाचन सरकारको कार्यकारी प्रमुख बनाउने विवादस्पद प्रस्ताव तथा मतदाता नामावली, नागरिकता, सत्य निरुपण तथा मेलमिलापलगायतका विषयमा सरोकारवालाहरुसँग परामर्श गर्ने निर्णय गरको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानन्यायाधीशका सम्बन्धमा आलोचनात्मक दृष्टिकोण राख्ने राजनीतिक दल, राजनीतिकर्मी, न्याय क्षेत्रका व्यक्तित्व र नागरिक समाजका नेताहरुसँग फागुन–२२ अन्तरक्रिया गर्ने निर्णय पनि मञ्चले गरेको छ ।
नेकपा (माले) का महासचिव सीपी मैनालीको नेतृत्वमा गठित मञ्चमा लोकनारायण सुवेदी अध्यक्ष, नेकपा (संयुक्त माक्र्सवादी), हिक्मतबहादुर देउवा अध्यक्ष, समाजवादी जनता पार्टी, हरि आचार्य प्रवक्ता, नेकपा (मसाल), मनोज भट्ट कोषाध्यक्ष, राष्ट्रिय जनमोर्चा, डा.भरत लामिछाने, महेश्वर श्रेष्ठ अध्यक्ष, संयुक्त जनमोर्चा नेपाललगायतको सहभागिता छ ।

प्रतिक्रिया