इनोभेटिभ र भ्याली ब्लकलाई यु–१४ बास्केटबल उपाधि

काठमाडौं, १७ फागुन । इनोभेटिभ इंग्लिस स्कुल र भ्याली पब्लिकले दोश्रो यु–१४ अन्तरविद्यालय राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । इनोभेटिभ ब्वाइज र भ्याली पब्लिक गल्र्समा च्याम्पियन बने ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको ब्वाइजको फाइनलमा इनोभेटिभले आइडियल मोडेल स्कुललाई ४०–२९ ले पराजित गर्‍यो । इनोभेटिभको जितमा अजय कुँवरले १३ अंक योगदान गरे । गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले एन्जल्स हर्टलाई ३४–१९ ले निराश पार्‍यो । विजयी टिमका लागि लक्ष्मी चौधरीले १० स्कोर गरिन् ।
ब्वाइजमा १५ तथा गल्र्समा २४ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको ब्वाइजमा इनोभेटिभका आशिष बस्नेत तथा गल्र्समा भ्याली पब्लिककी लक्ष्मी चौधरी ‘मोस्ट भेलुएवल प्लेयर’ घोषित भए । प्रतियोगिता रामकुमार बस्नेतको स्मृतिमा नेपाल बास्केटबल संघद्वारा आयोजित थियो ।

प्रतिक्रिया