थोरै सुत्नाले जिनमा गडबडी

Sleep_snoreमिहिनेतमा विश्वास गर्नेहरू सकेसम्म कम सुत्न चाहन्छन् । बढी सुत्ने बानीले अल्छीपना मात्र बढाउने उनीहरूलाई लाग्छ । तर, वैज्ञानिकहरूले राम्रो स्वास्थ्यका लागि पर्याप्त निदाउनुपर्ने बताएका छन् । ब्रिटिस अनुसन्धाताहरूका अनुसार निद्राको कमीले मानव शरीरको आन्तरिक कार्यप्रणालीमा नाटकीय ढंगले नकारात्मक प्रभाव पारिदिन सक्छ । हप्तामा ६ घन्टाभन्दा पनि कम निदाउने मान्छेको जिनमा सयौं बदलाव आएको भेटिएको छ । यद्यपि निद्राको कमीले स्वास्थ्यमा अरू के नोक्सान पार्न सक्छ, त्यो निक्र्योल भइसकेको छैन ।
प्रोसिडिंस अफ नेसनल एकेडेमी अफ साइन्समा जर्नलमा शोधकर्ताहरूले अपर्याप्त निद्राको सम्बन्ध हृदयरोग, मधुमेह, मोटोपना तथा कमजोर दिमागी हालतजस्ता शारीरिक समस्यासँग हुने उल्लेख गरेका छन् । पहिले अनुसन्धाताले हप्तैभरि १० घन्टासम्म सुत्नेहरूको रगतको नमुना परीक्षण गरे । फेरि अर्को हप्ता उनीहरूलाई ६ घन्टाभन्दा पनि कम सुताएर रगतको परीक्षण गरियो । यी दुई परीक्षणमा के देखियो भने ७ सयभन्दा बढी जिन्समा परिवर्तन भेटियो, बढी सक्रिय जिन्सहरूले प्रोटिनको उत्पादन तीव्र पारेर शारीरिक सन्तुलन बिगारिरहेका थिए । ‘यो नाटकीय परिवर्तन थियो,’ सरे विश्वविद्यालयका प्राध्यापक कोलिन स्मिथले भने– यो परिवर्तनले शरीरको तनाब र चोटप्रतिको प्रतिक्रिया तथा प्रतिरोधी क्षमतालाई प्रभावित पारेको देखियो । (एजेन्सी)

प्रतिक्रिया