कुन्डले, चुल्ठे र हाम्रो समाज

Binaya-Guragaiनेपाल प्रहरीले कपाल पाल्ने र कुन्डल लाउनेलाई समात्न थालेपछि आफँसँग सम्बन्धित एउटा घटना याद आयो । केही वर्ष पहिले धनकुटाको हिलेमा एउटा कार्यक्रमको संचालक म आफैँ थिएँ । त्यो बेला मेरो कपाल सामान्यभन्दा लामो थियो । सजिलोको लागि मैले चुल्ठो बाँधेको थिएँ । कार्यक्रमका सहभागीमध्ये तेह्रथुमकी एकजना महिलाले समापनको बेला भन्नुभयो, ‘तपार्इं जस्तो देखिनुहुन्छ त्यस्तो हुनुहँदोरहनेछ ।’ मैले सोधे, ‘किन त्यसो भन्नुभयो ?’ ‘तपार्इंको कपाल लामो छ, चुल्ठो बाट्नु भएको छ । ज्यान पनि सामान्य मान्छेको भन्दा मोटोघाटो बलियो देखिन्छ । हिजो मैले जब तपाईंलाई देखेँ मलाई डर लागेको थियो । यस्तो मान्छे पनि कार्यक्रम आयोजक हुन्छ ? यो त गुन्डाजस्तो देखिन्छ, त्यसैले म तपाईंसँग बोलीन आज कार्यक्रम चलाउँदा पनि सुरुमा मलाई बोल्न डर लाग्यो तपाईंसँग, तर अहिले लाग्यो तपार्इं त मैले सोचेभन्दा फरक हुनुहँदोरहेछ । तपाईंको कामदेखेपछि मेरो मनमा रहेको भ्रम हट्यो ।’ सँगैका सहभागी धनकुटाका मानवअधिकारकर्मी विदुर सुवेदीले भन्नुभयो, ‘उहाँ † चुल्ठेमात्र हो कुन्डले हैन ?’ त्यसपछि मात्र बुझे मैले ती महिलाको आशय ।
त्यही कार्यक्रमको क्रममा अघिल्लो साँझ धनकुटामा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईसँग चिया भेटघाट भयो । उहाँ सुरुमा मसँग खुलेर बोल्न चाहनुभएन । छुट्टिने बेलामा भन्नुभयो, ‘मलाई तपार्इं जस्ता चुल्ठे, कुन्डलेसँग पूर्वाग्रह छ, मन पर्दैन त्यसैले वास्ता गरिन, तर तपार्इं मैले सोचेजस्तो पर्नुभएन ।’ हिलेमा भइरहेको कार्यक्रममा राजेन्द्र राई पनि सहभागी हुनुहुन्थ्यो र उहाँले पनि मेरो कपाललाई लिएर मप्रति गरेको व्यवहारको उदाहरण दिँदै भन्नुभयो, ‘लामो कपाल पाल्ने सबैजना खराब हुँदा रहेनछन् ।’
अर्को घटना, म कार्यालयको जिम्मेवार कर्मचारीका रूपमा हरेक दिनजसो नेपाली तथा विदेशीहरूसँगको बैठकमा सहभागी हुनुपथ्र्यो । कपाल लामो, चुल्ठो बाँधेको, दाह्री पनि पालेको बेला मलाई यस्ता बैठकहरूमा धेरै ठाउँमा अप्ठ्यारो पथ्र्यो । किनकि मलाई सहभागी र आफ्नै समकक्षीहरूले पनि भन्थे– तपाईं त कस्तो इन्फर्मल भएर आएको यस्तो फर्मल कार्यक्रममा पनि । मभन्दा अलिकति पाका र जिम्मेवारीमा पनि ठूलाहरूले त भन्थे नै एकदिन एकजना मैले अत्यन्त सम्मान गर्ने मेरा मित्र जो युवा अभियानकर्मी पनि हुन् जोसँग मेरो तिमीकै सम्बोधन चल्छ ले एकदिन भने ‘तिमी जस्तो मान्छेले कपाल पालेको सुहाएन, बाँधेको त झनै सुहाएन । आफू त हल्का देखियौ नि जिम्मेवारीको पनि ख्याल राखेनौ, फर्मल बन्नुपर्‍यो … ।’ उनको आशय यस्तै थियो ।
यी घटनाहरू यहाँ खुलाउनुको कारण अरू केही नभएर लामो कपाल पाल्नेप्रति हाम्रो समाजको दृष्टिकोणको प्रस्तुतिमात्र हो । लामो कपाल पाल्नेलाई हाम्रो समाजले अहिलेसम्म सहज रूपमा स्वीकार्न सकेको छैन । किनकि लामो कपाल हुनेहरूप्रति समाजको धारणा र व्यवहार कपाल छोटो हुने र कुन्डल नलाउनेलाई गरिनेभन्दा फरक छ ।
लामो कपाल पाल्नेलाई यही समाजले हिरो भन्छ । सिनेमा तथा कथाका नायकहरू प्राय: लामो कपाल पाल्छन् । उनीहरूले राम्रो काम गरेको देखाएर नै प्राय: सिनेमा वा कथाको अन्त्य हुन्छ । एउटै सिनेमामा नायकले पनि कपाल पालेको देखाइन्छ भने नकारात्मक भूमिकामा आउने खलनायकले पनि कपाल पालेकै हुन्छ प्राय: । तर, दुवै भूमिका एकैपटक हेरेर आनन्द लिए पनि सिनेमा वा कथाको दुनियाँबाट बाहिर आउने वित्तिकै कपाल पाल्ने मान्छेको सकारात्मक छवि दिमागबाट धूमिल हँुदै हराउँछ तर नकारात्मक भने पछिसम्म कायम रहिरहन्छ । त्यसैले कपाल लामो हुनेहरू सहजै घुलमिल हुन सक्दैनन् । कपाल पाल्नेलाई लिएर सामान्य रूपमा आम प्रतिक्रिया निस्कन्छ ‘त्यो त क्या गुन्डा जस्तो छ, लामो कपाल भएको, डरै लाग्ने वा ।’
चिटिक्क दाह्री (प्राय: दाह्री पाल्नेहरू चिटिक्क देखिँदैनन्) मिलाएको, कपाल पालेको, चुल्ठो बाँधेको र कुन्डल पनि लाएको मान्छे यदि भर्खरको युवा छ भने गायक हुनसक्छ अलि परिपक्क देखियो भने कवि हुनसक्छ भन्ने आमधारणा पनि छ समाजसँग । कविप्रति हाम्रो समाज अहिले पनि सकारात्मक छैन । कविता मन पराउनु त परको कुरा कविलाई पागल, सन्काहा, बहुलाहा विभिन्न पगरी गुथाएर थप्पडी बजाउनेहरू अहिले पनि छन् समाजमा । दाह्री र कपाल पालेको मान्छे बाटोमा परैबाट देखियो भने पनि क्या कविजस्तो मान्छे गयो वा कहिलेदेखि कवि भइस् भन्नेसम्म प्रतिक्रिया सुन्न नपाइने होइनन् । गायक त्यसमाथि कुन्डले र चुल्ठेलाई त समाजको एउटा वर्ग युवाबाहेक अरूले भाउ दिएको अहिले पनि देखिँदैन । अलिकति पाको छ, र पनि दाह्री र कपाल पालेको छ भने उसलाई हाम्रो समाजले अधिकारकर्मीको रूपमा पनि चिन्छ । अनि समाजको नजरमा कुन्डलेहरू केटी जिस्क्याउँछन्, ग्यांङफाइट गर्छन्, लागूऔषध खान्छन्, कुलतमा फस्छन्, उनीहरूकै चुल्ठो पनि लामो हुन्छ ।
त्यसैगरी कपाल पाल्नेहरू समाजमा कि त बाबाजीहरू हुन्छन् कि त जोगी, खरानी घसेको सेताम्य शरीरमा लामो चुल्ठो बाटेका । समाजले उनीहरूलाई बैरागी भन्छ । विरक्त भएर हिंडेकाहरूसँग धेरै संगत गर्नुहुन्न, तिनीहरू त जे पनि खान्छन्, छाडा पनि हुन्छन् भन्ने मानिसहरूले भरिएको छ समाज । स्वच्छन्द धारणा र व्यवहारका कारण युवापुस्ता जो बढी नै सिर्जनशील र स्वतन्त्र हुन खोज्छ र छ पनि कपाल पाल्ने, कुन्डल भिर्ने कारणले गर्दा बेलाबेला निशानामा परिरहन्छ । अनि व्यवसायिक जीवनमा यदि तपार्इं कुनै महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ भने कपाल पाल्नु जिम्मेवारीको ख्याल नगर्नु भन्ने बुझिन्छ । जुन मैले आफँैले भोगेको घटना भनिसकेको पनि छु ।
कपाल पाल्ने, कुन्डल, मुन्द्रा लाउनेलाई गरिने दुव्र्यवहार वा फरक व्यवहारको कारण समाजको सोच र दृष्टिकोणमै गएर टुंगिन्छ । नेपाल प्रहरीले कपाल पाल्नेलाई कुन्डल लाउनेलाई अहिले गरेको कारबाही उसले गरेको भन्दा पनि हाम्रो समाजमा कपाल पाल्नेप्रति लामो समयदेखि रहिआएको धारणाको उपज हो जस्तो लाग्छ मलाई, तपाईंलाई के लाग्छ कुन्नि ?

प्रतिक्रिया