पासाङल्हामुसँग छुटेको दिन

Lakpafuti-sherpa‘तिमी नान्दालाई बेसक्याम्प पुर्‍याएर फर्किनु । म पनि पिकबाट फर्किन्छु । अनि, तिमी शेर्पाहरूलाई साथ लिएर पिकमा जानु ।’ पासाङ ल्हामु दिदीले मलाई दिएको अन्तिम निर्देशन थियो यो । हाम्रो समूहको उहाँ लिडर हुनुहुन्थ्यो । म डेपुटी लिडर थिएँ । तीन जना नेपाली महिलाले सगरमाथाको यात्रा तय गरेका थियौँ । तर, साउथ कोल (आठ हजार मिटर उचाइ) पुगेपछि नान्दा राईलाई अल्टिच्युड सिकनेसले समात्यो । अनुहार नीलो हुन थाल्यो । त्यसपछि उसलाई लिएर बेसक्याम्प झर्ने जिम्मेवारी पासाङल्हामु दिदीले मलाई सुम्पनुभयो । शेर्पा सहयोगी लिएर म बेसक्याम्पतर्फ ओह्रालो लागेँ, पासाङ दिदी एभरेस्ट पिकतर्फ उकालो लाग्नुभयो ।
१९९३, मे १८ को त्यो निर्देशन माउन्ट एभरेस्ट सम्झिनेबित्तिकै मेरो मथिंगलमा आइहाल्छ । मन उकुसमुकुस हुन्छ । पासाङल्हामुलाई लिडर बनाएर हामी सगरमाथातर्फ उक्लिएका थियौँ । त्यति बेला वेदर अलि खराब थियो । तैपनि, साउथ कोलसम्म पुग्न समस्या भएन । तीनै जना सहजै पुगेका थियौँ । हाम्रो साथमा गाइड सोनाम छिरिङ र पेम्बानुरु शेर्पा हुनुहुन्थ्यो । साउथ कोलबाट नान्दा राईलाई तल लिएर आउनुपर्ने भएपछि उहाँ सोनाम र नुरुलाई लिएर चढ्नुभयो । म नान्दालाई लिएर तल झरेँ । पासाङको श्रीमान् पनि मसँगै हुनुहुन्थ्यो त्यति बेला ।
उनीहरू माथि गएको दुई दिनसम्म तल केही खबर आएको थिएन । त्यतिबेला अहिलेजस्तो वाकीटकी प्रविधि पनि सहज थिएन । पासाङ चुचुरोमा पुगेर फर्किएर साउथ समिट आइपुगेपछि अक्सिजन सकिएछ । मौसम पनि खराब भएछ । पासाङ फर्किन नसकेपछि नुरु आए । अक्सिजन सकियो, पासाङ साउथ समिटमा छ भनेपछि हामीले भएको अक्सिजन पठायौँ । त्यो रात साउथ कोलबाट नुरु अगाडि बढ्नै सकेनछन् । म बेसक्यापमा सुतिरहेकी थिएँ । सायद तन्द्रामा थिएँ । ‘लाक्पाफुटी बैनी’, पासाङ दिदीले बोलाएजस्तो लाग्यो । पाल उठाएर बाहिर हेरेँ, तर उहाँ हुनुहुन्नथ्यो । दुई–तीनपटक त्यही आवाज आएभैँm लाग्यो । पाल उठाएँ, केही देखिँदैन । मलाई निकै चिन्ता लाग्यो, कतै पासाङ दिदी….. । निन्द्रा लाग्दै लागेन । गाइड सोनामलाई पनि त्यस्तै भएछ त्यो रात । भोलिपल्ट बिहानै पो थाहा भयो, पासाङ दिदीले संसार छोड्नुभएछ ।
मेरो बैठक कोठाको भित्तामा उहाँसँगै खिचिएको तस्बिर झुन्डिरहेको छ । हेर्छु, मन्द मुस्कानमा दुवै जना प्रफुल्लित छौँ । ‘क्विन अफ हिमालयन,’ पृष्ठभूमिमा सगरमाथा राखेर बनाइएको तस्बिरमा लेखिएको छ । फेरि, त्यहि दिनको सम्झनामा दुखेको मनको मैलो आँखा भएर आँसुको विम्बमा तरक्क चुहिन्छ । कुँडिएको मनले भन्छ, ‘शारीरिक रूपमा तन्दुरुस्त भएर पनि मैले सगरमाथामा पाइला राख्ने पहिलो नेपाली साहसिक नारी बन्ने मौका गुमाउनुपर्‍यो ।’ अर्को मनले फेरि भन्छ, ‘मेरी साथीले सगरमाथालाई जिते पनि त्यो सफलताको उचाइ सबैसँग सशरीर बाँड्न पाइनँ ।’ मन फेरी विह्वल हुन्छ । तैपनि, जबरजस्ती आफूलाई सम्हाल्छु अनि मनमनै सम्झाउँछु– ‘एक नेपाली महिलाको साहसको कदर मृत्युपर्यन्त राष्ट्रिय विभूतिको उपमाले भने पनि त गरेको छ ।’
पासाङल्हामु शेर्पा र मेरो एउटै थलोमा जन्मियौँ, सोलुखुम्बुको चौरीखर्कमा । हामी एउटै दाजुभाइका खलक पनि हौँ । हाम्रा हजुरबुबाको पालादेखि नै सिजनमा ट्रेकिङ र अरूबेला किसानी काम गर्ने चलन थियो । सायद त्यसैको असर होला, मलाई पनि हिमाल चढ्ने काम मन पथ्र्यो । हिमालमा विदेशीहरूको काम गर्दा हुने कमाइले आत्मनिर्भर बन्न सकिन्छ भनेर पनि यतातिर आकर्षण बढेको हो । तर, छोरीमान्छेलाई पर्वतारोहणको काम सहज भने थिएन । मचाहिँ बाल्यकालदेखि नै बलियो थिएँ, मानसिकता पनि सायद बलियो नै भएर होला पुरुषहरूको बीचमा काम गर्दा कमजोर महसुस कहिल्यै भएन । फ्याक्चर भएको खुट्टा लिएर पनि भरिया भएर हिँडे म । १३ वर्षको उमेरदेखि भरिया बनेर पर्वतारोहण पेसामा लागेकी हुँ । पछि कुकको हेल्पर, कुकदेखि गाइडसम्म बनेँ । म र पासाङ दुवै बाल्यकालदेखि नै पर्वतारोहणमा लागेका हौँ । तर, हामी कहिल्यै एउटै यात्रामा परेनौँ । नेपालका धेरै हिमशिखर चढेपछि म लामो समय युरोपका हिमशिखरको यात्रामा गएँ । दीर्घकालीन पर्यटन विषयमा हल्यान्ड पुगेर ग्य्राजुयट पनि गरेँ । पछिल्लो समय युरोपियन देशका ६ हजार मिटरसम्मका हिमालमा स्की खेलेर फर्किएको थिएँ ।
त्यतिबेला नै नेपाल र भारतका महिलाको समूहले सगरमाथा चढ्ने कार्यक्रम बनेको रहेछ । त्यस यात्रामा म र पासाङलाई पनि समावेश गर्ने प्रस्ताव आएको थियो । तर, एक महिना भारतमा तालिमका लागि जाने समय नभएपछि त्यो यात्रा रद्द भयो । पासाङ सगरमाथा चढ्न धेरै अघिदेखि उत्सुक हुनुहुन्थ्यो । दुईपटकसम्म कोसिस पनि गरिसक्नु भएको थियो । भारत जान नपाए पनि हामी दुई मिलेर सगरमाथा चढ्ने निधो गर्‍यौँ । मनले अठोट गरेपछि नसकिने केही हुँदैन । आवश्यक प्रक्रिया पूरा गरी अन्तत: सगरमाथा यात्रामा निस्कियौँ ।
(वार्तामा आधारित)

प्रतिक्रिया