विद्यार्थी लिन गएको गाडी तोडफोड

काठमाडौं, १५ फागुन । ललितपुर धोबीघाटस्थित डिएभी सुशील केडिया विश्वभारती उच्चमाध्यमिक विद्यालयका तीनवटा गाडी तोडफोड भएको छ । बिहान विद्यार्थी बोक्न हिँडेका दुईवटा बस र प्रिन्सिपलको गाडी नेकपा–माओवादीनिकट अखिल नेपाल शिक्षक संगठन र अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

भारतीय पाठयक्रममा आधारित पुस्तक खारेज र निष्कासित शिक्षक पुनर्बहालीको माग राख्दै आन्दोलन गरिरहेका संगठनले स्कुलको गाडीमाथि तोडफोड गरेको हो । बा २ ख २४४४ र बा १ ख ६४२१ नम्बरको बस र प्रिन्सिपलको बा ६च ९६०० नम्बरको गाडी तोडफोड गरेको भाइस प्रिन्सिपल रामचन्द्र खनालले जानकारी दिए । बा २ ख २४४४ नम्बरको बस पुल्चोकनजिक र बा १ ख ६४२१ नम्बरको बस चक्रपथको धोबीघाट तथा प्रिन्सिपलको गाडी एकान्तकुनामा तोडफोड
भएको हो ।
शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीले संगठनको माग विद्यालयले बेवास्ता गरेकाले गाडी तोडफोड गरिएको स्विकारे । लोहनीले विद्यालयलाई गाडी नचलाउन आग्रह गरेको तर नमानेपछि तोडफोड गरिएको बताए । संगठनले माग पूरा नगरेकाले डिएभी विद्यालयका कुनै पनि गाडी सोमबारदेखि तीन दिनसम्म चल्न नदिने चेतावनी दिएको थियो ।
भाइस प्रिन्सिपल खनालले वार्ताद्वारा छलफल भइरहेको अवस्थामा विद्यार्थी बोक्ने गाडी तोडफोड हुनु दु:खद भएको बताए । उनले पाठयक्रम संशोधन र शिक्षकका बारेमा छलफल भइरहेको दाबी गरे । उनका अनुसार विद्यालयका पूर्वशिक्षक नै गाडी तोडफोडमा संलग्न थिए ।
संगठनले तीन महिनादेखि भारतीय पाठयक्रम खारेज र शिक्षक पुनर्बहालीको आन्दोलन गरिरहेको छ । सरकारद्वारा गठित समस्या समाधान समितिले निष्कासित शिक्षकलाई पुनर्बहाली गर्न निर्देशनसमेत दिइसकेको छ । तर, विद्यालयले शिक्षकलाई पुनर्बहाली गरेको छैन । विद्यालयले राजेश मानन्धर, दीपक घिमिरे र सन्तोष थापालाई निष्कासन गरेको थियो ।

प्रतिक्रिया