प्रधानन्यायाधीश रेग्मी सकारात्मक

Khilraj Regmi Cjकाठमाडौं, १४ फागुन । प्रमुख चार राजनीतिक शक्तिको आग्रहमा प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व लिने संकेत गरेका छन् ।
बालुवाटारमा आज विहान प्रधानमन्त्री, प्रमुख चार राजनीतिक शक्ति र प्रधानन्यायाधीशबीच भएको छलफलका क्रममा उनले संवैधानिक तथा कानूनी अड्चन हटेमा नेतृत्व लिन सक्ने आश्वासन दिएका हुन् । रेग्मीको आश्वासनसँगै प्रधानमन्त्री बाबुराम भट्टराईले जेठ भित्रै निर्वाचन हुने जनाएका छन् ।
सरकारको नेतृत्व लिन आग्रह गर्दै चार राजनीतिक शक्तिले रेग्मलाई दुई पटक भेट गरेर आग्रह गरिसकेका छन् । यस अघि रेग्मीले सरकारको नेतृत्व लिन अनिच्छा जनाएका थिए ।
भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै मधेसी मोर्चाका नेता विजय गच्छेदारले प्रधानन्यायाधीश रेग्मी सरकारको नेतृत्व लिन सकारात्मक भएको बताए । ‘देश अब चुनावमा होमिन्छ,’ उनले भने ।
प्रधानन्यायाधीश रेग्मीसँग छलफल गर्न प्रधानमन्त्री भट्टराईका साथै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका संयोजक गच्छेदारलगायतका शीर्ष नेता प्रधानन्यायाधीशको निवास बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया