शुक्रबार “समय” आउने

Samayaकाठमाडौं : चलचित्र क्षेत्रमा दोस्रो पुस्ताको प्रवेश प्रतिदिन बढ्दै छ । यस्तैमा नायिका मौसमी मल्लका छोरा बिक्कि मल्ल पनि अभिनयमा देखिएका छन् । ‘समय’ नामक चलचित्रमार्फत उनी अभिनयमा देखा परेका हुन् । आगामी १८ गतेबाट चलचित्र देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । उमेरले पनि टिन एजर्स बिक्किले चलचित्रमा पनि टिन एजर्स भूमिका निर्वाह गरेका छन् । चलचित्रमा उनी प्लेब्वाईको भूमिकामा छन् । त्यसैले पनि यसमा उनको नायिका सुरबी जेनसँग उत्तेजक दृश्य छ । चलचित्रका प्रस्तुतकर्ता मौसमी मल्ल हुन् ।
‘चलचित्रमा आफ्नो जीवनको वास्तविक कथालाई पनि उठान गरेको छु’, मौसमीले भनिन् । दयाराम दाहालको निर्देशन रहेको चलचित्र ‘समय’ मा राजेश हमाल, मौसमी मल्ल, बिक्कि मल्ल र सुरबी जैनको मुख्य अभिनय छ । चलचित्रलाई सन्देशमान श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रले दुई पुस्ताबीच समयले ल्याउने भिन्नतालाई देखाउन खोजेका निर्माता श्रेष्ठले बताए । शुक्रबार प्रदर्शनमा आउने तयका साथ प्रमोसनमा जुटेको चलचित्र ‘समय’ आइतबार सेन्सरमा पुगेको थियो । तर, चलचित्रलाई सेन्सरले आइतबार पनि प्रमाणपत्र दिएन ।
‘सेन्सर बोर्डका केही सदस्यले मेरो चलचित्रलाई दोस्रोपटक पनि रिलिज हुन नदिने षड्यन्त्र गरिरहेका छन् । त्यसैले पनि मलाई सेन्सरले सर्टिफिकेट नदिएका हुन्’, मल्लले आइतबार साँझ सौर्यसँग भनिन् । ‘सेन्सर बोर्डले भनेभैँm मैले सिनेमाको एउटा चुम्बन दृष्य र एउटा बेडको दृष्यलाई चार/चार सेकेन्डमा झारेको छु तैपनि, चलचित्र अश्लील भयो भनेर फेरि सेन्सर गर्न मानेन ।’ गत माघ बीस गते प्रदर्शनमा आउने सम्पूर्ण तयारी गरे पनि चलचित्र सेन्सरकै कारण सरेको थियो । (सौस)

प्रतिक्रिया