चित्रकला र हस्तकला प्रदर्शनी

इलाम : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति किरण मानन्धरले कलाप्रतिको मोह जागे मात्र कलाका माध्यमबाट जीविकोपार्जन गर्न सकिने बताएका छन् ।
ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौं र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इलामको संयुक्त आयोजनामा शुक्रबार इलाम चोक बजारमा आयोजित बृहत् चित्रकला तथा हस्तकला प्रदर्शनीमा सहभागी हुँदै मानन्धरले मानिसभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउन सके कलाबाट कलाकारको जीविकोपार्जन हुनसक्ने बताए ।
धेरै समयदेखि इलाममा कलाकारिताको विकास नभएको भन्दै मानन्धरले कलाप्रतिको जागरण पैदा गराउन चित्रकला तथा हस्तकला प्रदर्शनी आयोजना गरिएको बताए । मानन्धरले कलाले जीवन चलाउन सक्ने भन्दै स्थानीय स्रोत र साधनको समुचित प्रयोग गरेर कला सिर्जना गर्न सकिने धारणासमेत व्यक्त गरे । प्रतिष्ठानले यस वर्ष पूर्वाञ्चल विकास क्षेत्रमा दुई स्थानमा प्रदर्शनी गर्ने लक्ष्य लिएकामा फागुन ६, ७ र ८ गते सुनसरीको धरानमा सम्पन्न भइसकेको र इलाममा शुक्रबार आयोजना गरिएको चित्रकला विभागका प्रमुख प्राज्ञ शान्तकुमार राईले बताइन् । प्रतिष्ठानले इलाम र झापाका ३० जना कलाकारलाई पोस्टकार्ड, निमन्त्रणा कार्ड र क्यानभास तयार गर्नेसम्बन्धी कार्यशाला सञ्चालन गरेको छ ।

प्रतिक्रिया