गिरिजाबाबु लुकेर रक्सी पिउँथे

B-L-Sharmaहामी काठमाडौंमा मिठाईको व्यापार गथ्र्यौं । त्यतिबेला क्याटरिङ संचालन गरिसकेको थिइनँ । प्रधानमन्त्री भएपछि एकदिन बिपीले तिमीले क्याटरिङ पनि संचालन गर भनेर सल्लाह दिनुभयो । त्यसपछि क्याटरिङ सर्भिस सुरु गरेको हुँ । राणा र राजाहरूकै पालादेखि हामीले क्याटरिङ सेवा थाल्यौँ । त्यतिबेला राणाहरूको खानामा खसीको मासु, मिठाई, दालभात र तरकारी हुन्थ्यो । उनीहरू चराका मासुको सोखिन थिए । कालिजको मासु आफैँ व्यवस्था गर्थे ।
२००७ सालमा प्रजातन्त्र आउनुअघिदेखि नै हामीले विवाह, भोजभतेरमा क्याटरिङ सर्भिस दिन थालेको हौँ । त्यतिबेला म २२/२३ वर्षको ठिटो थिएँ । बिपीपछिका नेपालका सबै प्रधानमन्त्रीका भोजभतेरमा अनमोल क्याटरिङ सर्भिसबाट नै खानाको व्यवस्था गर्ने गरेका छौँ ।
नेपालका थुप्रै प्रधानमन्त्रीसँग मेरो राम्रो दोस्ती भयो । अझ बढी उहाँहरूको खानपानबारे बुझ्ने मौका पाएँ । किसुनजीसँग त विशेष दोस्ती थियो । बेलाबेलामा मलाई बोलाइरहनुहुन्थ्यो । उहाँ खानमा बढी सोखिन हुनुहुन्थ्यो । किसुनजी धेरै रक्सी खान रुचाउनुहुन्थ्यो । खानेकुरामा पनि भेराइटिज चाहिन्थ्यो उहाँलाई ।
गिरिजाबाबुचाहिँ रसमलाइको बढी सौखिन । रसमलाई चारवटा पिस लगिदियो भने दुईवटा तत्काल खानुहुन्थ्यो । अनि, दुईवटा राख्न लगाएर ‘भोलि मलाई दिनु’ भन्नुहुन्थ्यो । उहाँ खानेकुराचाहिँ हल्का किसिमका रुचाउनुहुन्थ्यो । मासु एकदुई पिस खाएपछि पुग्थ्यो । रक्सी खाने बानी भएपनि गिरिजाबाबु कहिल्यै सार्वजनिक पार्टीहरूमा भने पिउनुहुन्नथ्यो । पिए पनि लुकेर पिउनुहुन्थ्यो ।
सूर्यबहादुर थापासँग पनि मेरो खास दोस्ती बन्यो । अहिले पनि बेलाबेला भेट भइरहन्छ । उहाँलाई फस्ट क्लास खाना चाहिन्छ । चामल, भात, आलु रुचाउने त सामान्य नै भयो, मासुको परिकार विशेष चाहिन्छ सूर्यबहादुरलाई । लोकेन्द्रबहादुर चन्दचाहिँ खाने कुरामा खासै छनोट गर्नुहुन्न । जे पाइन्छ त्यसमै सन्तुष्ट हुने बानी । शेरबहादुर देउवा पहिले रक्सी खुब खानुहुन्थ्यो, अहिले छोड्नुभइसक्यो । अहिले ब्ल्याक कफी खानुहुन्छ धेरैजसो ।
माधव नेपालले पनि कहिल्यै खानामा कम्प्लेन गरेको थाहा पाइनँ । साधारण खानेकुरा रुचाउनुहुन्छ । जे दियो त्यही खाइदिनुहुन्छ । झलनाथ खनाल पनि खानामा यो–त्यो भनिरहनुहुन्न । जे दिएको छ त्यही खाइदिनुुहुन्छ । मसँग भेट्दा उहाँ ‘ल सँगै फोटो खिचौँ’ भनेर फोटोग्राफरलाई बोलाइहाल्नुहुन्छ, मलाई पनि रमाइलो लाग्छ उहाँसँग भेट्न ।
प्रचण्डचाहिँ खानामा सोखिन स्वभावका हुनुहुन्छ । आलु तामा र बोडीको तरकारी भनेपछि हुरुक्कै हुनुहुन्छ । प्रचण्ड प्रधानमन्त्री भएका बेला मैले क्याटरिङ गरेको भोजमा कहिल्यै पनि आलुतामा र बोडीको तरकारी छुुटेन । अहिलेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि खानामा रोजीछाडी गर्नुहुन्न । जस्तो छ त्यस्तै चुपचाप खाइदिनुुहुन्छ । प्रधानन्त्रीपत्नी हिसिला यामी खाने बेला निकै रमाइलो गर्नुहुन्छ । खाना खुवाउन बसेका हामीसँग हात मिलाउँदै आउनुहुन्छ । उहाँलाई सुपाडी खुब मन पर्छ भन्ने मलाई थाहा छ । कोटको खल्तीबाट सुपाडी निकालेर दिई पनि हाल्छु । अरू साथी पनि खानुहुन्छ रे भन्दै थप सुपाडी पनि माग्नुहुन्छ । उहाँहरूका लागि भनेर थुप्रै सुपारीको व्यवस्था गरेर बस्छु म पनि । (वार्तामा आधारित)

प्रतिक्रिया