झिल्का उठ्दा लेखिन्छ कविता

Buddhi-Sagar– म त्यस्तो अन्तर्वार्ता क्रेजी मानिस होइन । टेलिभिजन र रेडियोमा अन्तर्वार्ता दिनै नपरोस्जस्तो लाग्छ । किनभने, म फररर बोल्न सक्दिनँ । बोल्ने कुरा सप्पै छुटेजस्तो लाग्छ ।

– म भाषामा बढी ध्यान दिन्छु । गीत सुन्दा संगीतमा ध्यान बढी जान्छ भने सिनेमा हेर्दा दृश्य, किताब पढ्दा भाषामा । भन्ने कुरा एउटै भए पनि कलाका विभिन्न माध्यमहरूले फरक ढंगले प्रस्तुत गर्छन् ।

– उपन्यास बजारमा आएपछि मेरो जीवनमा ठूलै परिवर्तन आयो । ममा गम्भीरता आयो । अलिअलि मानिसले चिन्न पनि थाले । अलिअलि संकोच लाग्न थाल्यो । र, सबैभन्दा ठूलो कुरा पाठकहरूले उपन्यास मन पराएपछि, ठूलो बोझ काँधमा आयो ।

लेखक बुद्धिसागर कलात्मक भाषामा आफ्नो कथा भन्ने शैलीका कारण स्थापित छन् । उनी आफ्ना लेखनमा सामान्य मानिसका कथा ल्याउँछन् । उनका ‘हजारौँ पृथ्वी हजारौँ आकाश’, ‘बुद्धिसागरका कविता’ कवितासंग्रह र ‘कर्नाली ब्लुज’ उपन्यास प्रकाशित छन् ।

‘कर्नाली ब्लुज’ तपाईंको आफ्नै अनुभव हो कि कल्पना ?
कति अंश आफ्नै कुरा हुन् । तर, धेरैजसो आख्यान हो । ‘कर्नाली ब्लुज’का अधिकांश पात्र र घटना सत्य नै हुन् । तर, एउटै पात्रको जीवनमा घटेका घटना होइनन् । मैले देखे र अनुभव गरेका तीनवटा पात्र मिलेर एउटा पात्र बनेका छन् भने कति घटनालाई आर्कषक बनाउन आख्यानको रंग पनि दिएको छु । त्यसैले ‘कर्नाली ब्लुज’ अटोबायोग्राफी होइन, आख्यान हो । आख्यान कोरा कल्पना नलागोस् भनेर स्थान विषेशको नाम भने जस्ताकोतस्तै राखेको हुँ ।
उपन्यासको बालक चरित्र तपाईंको सम्झनासँग कति निकट छ ?
५० प्रतिशत मेल खान्छ । म चकचके नै थिएँ तर, उपन्यासमा वर्णन गरेजति होइन । उपन्यासमा जुँगा बनाउने प्रसंग धेरैलाई रमाइलो लागेको छ र धेरैले त्यो लेखकनै हुनुपर्छ भन्ने अड्कल पनि काट्छन् । तर, त्यो आख्यान हो । मैले कहिल्यै त्यसरी फोटाहरूमा जुँगा बनाइनँ । त्यसैले किताबमा उल्लेख गरिएको बालसुुलभता र चकचके स्वाभाव ममा थियो तर किताबमा वणन गरिएका घटना केबल कल्पना हुन् । हुन त, हरेक पुस्तकमा लेखकको अनुभव कतै न कतै भइहाल्छ । मेरो बाल्यकाल रमाइलो थियो, र धेरै घटनाहरू पनि थिए, तर प्रसंग नमिलेर किताबमा आउन सकेनन् ।
लेखनका लागि प्रेरणा कहाँबाट पाउनुहुन्छ ?
जब मलाई जीवनमा मोनोटोनस हुन थालेको अनुभव हुन्छ, तब म लेख्न थाल्छु, आख्यानको संसारमा पसेर रमाउँछु । म कुनै नियत राखेर लेख्न बस्दिनँ । र, लेख्दा काँधमा कुनै बोझ पनि राख्न चाहदिनँ । केही आफूले भोगेका, केही साथीहरूले भोगेका र केही कतै सुनेका कुराहरूले जब छुन्छन्, मलाई लेख्ने प्रेरणा मिल्छ ।
तपाईंको लेखन तरिका कस्तो छ ? सुरु गर्ने कुनै विषेश रीत छ कि ?
म कविता एकपल्ट लेखिसकेपछि, समयसमयमा पुर्नलेखन गर्छु । आख्यानको पूर्ण खाका तयार गरेपछि मात्रै लेख्न बस्छु । आख्यानको कुन भागमा केके घटना घट्छन् । कुन पात्र कहानेर आउँछन्, त्यो म पहिल्यै तयारी गर्छु । र, आख्यान लेख्दा धेरै समय लगाउँछु । जस्तै म एक दिनमा एक हजार शब्द मात्र लेख्छु तर नियमित लेख्छु ।
तपाईं कसका लागि लेख्नुहुन्छ ?
पाठकका लागि । आफ्नो रुचिीको कुरा पहिला लेख्छु, अनि आफ्नो कुरा पाठकसित संवाद हुनलायक होस् भनेर पुर्नलेखन गर्छु । मेरो नितान्त व्यक्तिगत धारणा के छ भने, यदि आफ्नालागि मात्रै लेख्ने हो भने त्यो डायरीमा राखिराखे भयो । यदि त्यसलाई प्रकाशन गर्ने हो भने पाठकलाई पनि ध्यान दिनुपर्ने हुन्छ । यदि पाठकले पढिदिएनन् भने लेखक हुनुको अर्थ पनि भएन । तर, पाठकले जस्तो पढ्न खोज्छन्, त्यस्तो कुरा नियतबस लेख्दिनँ ।
किन लेख्न थाल्नुभयो ?
यसैमा रुचि बस्यो । अब रुचि लत भयो । अचेल अरू काम पनि केही आउन्नँ । त्यही भएर लेखिरहन्छु । तर, आफूलाई अपडेट राख्न अरू लेखकका किताब पढ्छु, नयाँनयाँ मानिस भेट्छु ।
आफूले लेखेको कुरा कत्तिको परिमार्जन गर्नुहुन्छ ?
म धेरैभन्दा धेरै परिमार्जन गर्छु । ‘कर्णली ब्लुज’ पनि मैले धेरैपल्ट परिमार्जन गरेको थिएँ । पहिलो लेखन हीरा हो भने पुर्नलेखन त्यसको चमक ।
तपाईंलाई अन्तर्वार्ता दिन कस्तो लाग्छ ?
ठीकै । म त्यस्तो अन्तर्वार्ता क्रेजी मानिस होइन । टेलिभिजन र रेडियोमा अन्तर्वार्ता दिनै नपरोस्जस्तो लाग्छ । किनभने, म फररर बोल्न सक्दिनँ । बोल्ने कुरा सप्पै छुटेजस्तो लाग्छ । पत्रिकामा पनि बोल्नभन्दा लेखेर दिन मन लाग्छ । यदि आफूसित भन्नलाई नयाँ कुरा छैनन् भने अन्तर्वार्ता नदिएकै राम्रो । यसले लेखक एउटै कुरा दोहार्‍याइरहन बाध्य हुँदैन भने पाठकले मोनोटोनस हुने गरी एउटै कुरा सुन्न पनि पर्दैन ।
उपन्यास र कविता लेख्नुमा के फरक थियो ?
कविता कहिलेकाहीँ झिल्का उठ्दा आउँछ र सररर लेखिन्छ, सकियो । आख्यानमा समय लाग्छ । इच्छा होस् नहोस् लेखिरहनुपर्छ । पछिल्लो समयमा जीवनको अधिकांश समय लेखनमै बिताउने भएकाले उपन्यास लेख्न रमाइलो लाग्छ । कविता मात्रै लेख्छु भन्यो भने त फुर्सदै फुर्सदले मरिन्छ । पछिल्लो समयमा मैले कविता लेखेको छैन । कवितालाई अलिअलि बुझ्ने भएपछि झन् गाह्रो हुँदै गयो । कविता मजस्तो सानोतिनो दिमाग भएको मानिसले रुचि राखेर पनि नहुने रै’छ । संसारमा धेरै आख्यानकार जन्मिन सक्छन्, तर कवि थोरै जन्मिन्छन् । अझ भनौ, एक युगमा एकदुईजना । म राम्रा कविता लेख्ने कविको कुरा गरिरहेको छु । कविता मेरो साधना, मेरो फिलोसफी, मेरो भोगाइभन्दा माथिको कुरा रै’छ । त्यही भएर म पछिल्लो समय आख्यानमा बढी रमाइरहेको छु । राम्रो आख्यान पनि गाह्रो नै कुरा हो । हरेस खानु पनि भएन ।
तपाईं आख्यानकार हुनुभन्दा अघि पत्रकार हुनुहुन्थ्यो । एउटा पत्रकार र लेखकका रूपमा आफ्नो तुलना कसरी गर्नुहुन्छ ?
मैले आफूभित्रको लेखक नमरोस् भनेरै पत्रिकामा जागिर खाएको थिएँ । लेखन पनि सुधारिने, पाठकहरूकोमा पुग्न पाइने, समाजका परिवर्तनहरू बारे उपडेट हुन पाइने भएकाले पत्रिकामा काम गरेको हँु । फेरि लेखक बन्न खोज्नेले लेख्ने नै काम गर्न पाउनु भाग्यकै कुरा हो । पत्रिकामा काम गर्दा मैले कहिल्यै समाचार लेखिनँ । कहिले कथा लेखँे, कहिले संस्मरण । त्यसैले म आफूलाई कहिल्यै पत्रकार मान्दिनँ । तर, पत्रिकाका पानाहरूले नै मभित्रको लेखकलाई फक्रिने मौका दिएका हुन् । त्यसका लागि धन्यवाद त दिनैपर्छ । मधुपर्क र गरिमाजस्ता साहित्यिक पत्रिकामा सुरुआतमा मेरा रचना छापिएका थिएनन् । मलाई स्थान केबल अखबारहरूले दिए । अखबारहरूले मलाई पत्रकारभन्दा पनि लेखक बन्न प्रोत्साहन दिएका हुन् ।
जिन्दगीमा सबैभन्दा सुन्दर सपना कहिले देख्नुभयो ?
सानैमा लेखक बन्ने सपना देखेको थिएँ । एउटा जासुसी उपन्यास, उपन्यास पनि लेखेको थिएँ । अहिले मेरो एउटा उपन्यास छापिइसकेको छ । तर, जासुसी होइन । त्यही पनि सपना पूरा भएजस्तै लाग्छ । अहिले पनि कैयांै सपना छन् । म तिनलाई पछ्याइरहेको छु । पूरा भएका सपना जहिले पनि सुन्दर हुन्छन् । अधुरा सपना जहिले पनि पीडादायी । म चाहन्छु, अहिले मैले देखेका सपना सबै सुन्दर बनून् ।
लेख्न ल्यापटपअघि बस्दा को अगाडि आउँछ ?
सर्वप्रथम त पात्र आउँछ । त्यसपछि पात्रको भूमि । र, सारा दृश्य । लेख्दै जाँदा साथीहरूको अनुहार आउँछ । यो अनुच्छेद फलानालाई मन पर्ला, यो हरफ फलानालाई । यो विम्ब र प्रतीक फलानालाई मन पर्ला भनेर साथीहरूका अनुहार आइरहन्छन् ।
उपन्यासकार भएपछि जीवनमा कस्तो परिर्वतन आयो ?
ठूलै परिवर्तन आयो । ममा अलि गम्भीरता आयो । अलिअलि मानिसले चिन्न पनि थाले । अलिअलि संकोच लाग्न थाल्यो । र, सबैभन्दा ठूलो कुरा पाठकहरूले उपन्यास मन पराएपछि, ठूलो बोझ काँधमा आयो । अझै सुन्दर कसरी लेख्ने भनेर अध्ययन बढाएँ । गम्भीरतापूर्वक अरूका कुरा सुन्न थालेँ । पहिला मेरो मुख बढी चल्थ्यो, अहिले कान बढी चल्छन् ।
तपाईंको लेखनमा आफ्ना समकालीन साथीहरूको प्रभाव छ कि ?
समकालीन साथीहरूको लेखनको प्रभाव त छैन तर उनीहरूका कुरा, बुझाइ र दर्शनको प्रभाव छ । मलाई लाग्छ, जीवनको दर्शन ठूलाठूला किताबमा मात्रै हँुदैनन् । आफूसित गाँसिएका साथीहरूबाट जीवन दर्शन पाइन्छ । म समकालीन साथीहरूका सुन्दर कुराबाट प्रभावित हुन्छु ।
नेपाली कविता र आख्यानको धार कता गइरहेको पाउनुभएको छ ?
कविता अचेल भयावह विम्बबाट मुक्त भएर साधारण विम्बमा आइसकेको छ । अहिले कविहरू नितान्त व्यक्तिगत फिलोसफी लेखिरहेका छन् । र, कविको मौलिक फिलोसफीले नै उसलाई कालजयी बनाउने हो । कविहरू त्यसतिर उन्मुख छन् । सिसिफस र सुकरातका विम्बहरू कविताबाट हटिसकेका छन् । कविहरू मौलिक र आफ्नै मिथकतिर फर्किरहेका छन्, सुखद् कुरा यही हो । आख्यान अहिले धेरैको रुचिको कुरा भएको छ । आख्यानले पैसा र ग्ल्यामर दुवै दिन थालेको छ । आख्यानको भविष्य राम्रो छ । पाठकहरू बढिरहेका छन् । यसले लेखकलाई पनि ठूलै चुनौती दिएको छ । पाठकहरू एकैपल्ट संसारभरिका लेखकसित नेपाली लेखकलाई तुलना गरेर पढिरहेका छन् । यदि लेखक त्यसमा अब्बल हुन सकेन भने गाह्रो हुँदै जानेछ । हामीसित युरोपतिर नभएका र अत्यन्तै चोखा (भर्जिन) विषयहरू छन् । तिनै हाम्रा अनुहार हुनेछन् । यो कुरा अहिले आख्यान लेखिरहेका केही लेखकलाई थाहा छ । यो राम्रो कुरा हो ।
तपाईंको लेखनलाई जुत्तामा होइन, खुट्टामा पालिस लगाइएको उपमा दिइन्छ नि ! (कन्टेन्टभन्दा भाषामा ध्यान दिनुहुन्छ तपाईं) ?
हो, म भाषामा बढी ध्यान दिन्छु । गीत सुन्दा संगीतमा ध्यान बढी जान्छ भने सिनेमा हेर्दा दृश्य, किताब पढ्दा भाषामा । भन्ने कुरा एउटै भए पनि कलाका विभिन्न माध्यमहरूले फरक ढंगले प्रस्तुत गर्छन् । साहित्यको पहिलो सर्त नै भाषा हो । जति नै ठूलो विषय उठाए पनि भाषा भएन भने त्यो पढिँदैन । म आफै पनि किताब पढ्दा पहिलो कुरा भाषा नै हेर्छु । मलाई मनपर्ने भाषा छ भने पढ्छु, छैन भने पढ्दिन । कुनै कुराको कन्टेन्ट मात्रै बुझ्नु छ भने गैर आख्यान नै पढे भैगो । फेरि कन्टेन्ट मानिसको भागोइपिच्छे गतिलो र अगतिलो भएर आउने हो । सबै कन्टेन्ट समयअनुसार तगडा र कमजोर हुन्छन् । मैले कन्टेन्टमा ध्यानै नदिने त होइन तर मेरो कन्टेन्टले कसैलाई अपिल नगर्न सक्छ । आखिर भित्री खुट्टा फोहर भएपछि जुत्तामा पालिस लगाएर मात्र केही हुँदैन ।
लेखनमा विषय झूर हुन्छ कि लेखक ?
सायद लेखक । विषय त कुनै पनि झूर हुँदैन । गतिलो लेखकले जस्तोसुकै विषयमा पनि गतिलोगरि लेख्न सक्छ । आखिर सानो र कसैले वास्ता नगरेको कुरालाई फरकढंगले लेखेर मान्छेको मन छुन सक्ने लेखक नै त असल लेखक हो ।
प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया