नेपालको राष्ट्रिय युवा नीतिले १६ वर्षदेखि ४० वर्ष उमेर समूहका जनसंख्यालाई युवा मानेको छ । युवामध्ये महिला युवाको जनसंख्या पुरुषको भन्दा अझ बढी छ तर महिलाको अवस्था कमजोर छ । विशेष गरेर शिक्षा, रोजगारी र सम्पत्तिमाथिको अधिकार कमजोर रहेको छ । किन महिलाको सवाल पुरुष युवाको भन्दा भिन्न हुन्छ त ? महिलाको प्राकृतिक र सांस्कृतिक भूमिकाले उसलाई घरपरिवारको व्यवस्थापकीय जिम्मेवारी दिएको छ तर आयआर्जनका कार्यमा संलग्न हुन पाउने अवस्था कमजोर छ, प्रजनन क्रिया प्राकृतिक भए पनि प्रजनन स्वास्थ्यमा पहुँच कमजोर छ, सम्पत्तिमाथिको अधिकारको बहस निकै चले पनि विवाह अगाडि र पछाडिको फरक सामाजिक व्यवस्थाले त्यो मुद्दाको सरल निष्कर्ष सम्भव नभएको यथार्थ हो ।
युवा मैत्री नीति र त्यसमा महिलाको विशेष अवस्था :
युवाको भौतिक श्रम, बौद्धिक ज्ञान र सीपको उच्चतम उपयोग गरी देश विकास गर्न युवा मैत्री नीतिको आवश्यक हुन्छ । युवा अवस्था मानव जीवको उत्पादक अवधि हो जसले आफ्नो क्षमता असीमित ठानेको हुन्छ त्यस्ता युवालाई आफ्नो रुचिको विषयका क्षेत्रमा काम गर्ने अवसर सिर्जना गर्नु नै युवा मैत्री नीति हो । यसो गर्न सके युवाले कुनै पनि काम बाध्यतामा होइन, जोशर जाँगरका साथ गर्न सक्छन् । जस्तै विज्ञानको क्षेत्रमा रुचि राख्ने एउटा युवा जो कुनै नयाँ आविस्कार गरी देशलाई केही दिन चाहन्छ तर नीति र अवसरको अभावमा शिक्षकमा सीमित हुन पुग्दछ भने युवाबाट राज्यलाई कुनै सकारात्मक टेवा कसरी पुग्न सक्छ ?
महिलाको विषयमा विशेष गरी शिक्षामा पहुँच वृद्धि गर्नुपर्ने र प्रजनन् स्वास्थ्यको सहज र सुलभ उपलब्धता प्राथमिकताका विषय हुन् । महिलाको स्वरोजगारको विषय त्यसपछिको महत्त्वपूर्ण पाटो हुँदै छ । शिक्षा र प्रजनन् स्वास्थ्यको क्षेत्रमा केही उपलब्धि भए पनि अझै निकै गर्न बाँकी छ र विद्यमान नीतिमा समयानुकूल परिवर्तनको समेत खाँचो छ । जस्तै, विद्यालय शिक्षामा महिलाको पहुँच बढाउन सरकारले गरेको निशुल्क शिक्षाको पहल स्वागतयोग्य भए पनि समयअनुसार गुणस्तरीय शिक्षाको अभाव खट्किएको छ । सामुदायिक विद्यालयहरू कन्या स्कुल जस्ता भएका छन् र एउटै बाबुआमाका छोराका लागि बोर्डिङ र छोरीका लागि सरकारी भएका छन् । यसरी भोलिको महिला युवा पुरुष युवाभन्दा कमजोर बनिरहेको छ ।
युवा आन्दोलन केका लागि ?
युवा आन्दोलनको चर्चा धेरै हुने गर्छ । यसैको लागि प्रत्येक पार्टीले युवा संगठनको निर्माण गरेका छन् । युवा संघ नेपाल त्यसैको उदाहरण हो । विद्यमान भूराजनीतिक परिस्थितिमा युवा आन्दोलनको कार्यदिशा पनि फरक हुने नै भयो । युवा स्वरोजगार कोषको रकम दुरुपयोग हुन नदिनु, युवा आन्दोलनको एउटा खबरदारी कार्यक्रम त हो तर यस्तै क्रियाकलापलाई नै ‘युवा आन्दोलन भनेर बुझ्नु गल्ती हुन्छ ।
युवा आन्दोलनका केही विशिष्ट उद्देश्य हुनुपर्छ र छन् पनि । समष्टिमा शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा युवा आन्दोलनका विशिष्ट उद्देश्य हुन् । यी उद्देश्य प्राप्तिका लागि सोही अनरूपका सवालहरूको सम्बोधन हुने गरी कार्यक्रमहरू तयार गर्नुपर्छ । उक्त रणनीतिक कार्याक्रमको तर्जुमा गर्दा समाजवादी राज्यको सैद्धान्तिक जगमा टेकेर गर्नुपर्ने हुन्छ । यही नै आन्दोलनको सार हुनुपर्छ । त्यसपछि कार्यान्वयनको तहमा विविध कार्यक्रमहरू तय हुन्छन् । यी आन्दोलनका रूप हुन् । यसरी हेर्दा युवा आन्दोलनले गर्नुपर्ने जति काम गर्न सकेको छैन र सैद्धान्तिक दिशाबोधसमेत गरेको छैन । आन्दोलनको रूप विरोधको मात्रै कदापि हुन सक्दैन । शिक्षाको सवालमा युवा आन्दोलन विरोधको रूपमा मात्र प्रकट भएको छ । शिक्षमा परिवर्तन कसरी गर्न सकिन्छ भनेर शैक्षिक नीति बनाउनु युवा आन्दोलनको कार्यक्रम हुनुपर्छ । रोजगारमूलक शिक्षा कसरी लागू गर्ने, गुणस्तरीय र समान शिक्षा कसरी दिलाउने, महिला, पिछडिएको जाति र वर्गको शिक्षमा समान पहुँच कसरी स्थापना गर्नेजस्ता सवालको सम्बोधन सो आन्दोलनको कार्यक्रम हुनुपर्छ । अनेरास्ववियुले यसमा पहल गरेको छ तर आन्दोलनको मुख्य दिशा शैक्षिकभन्दा राजनीतिक भएको हुनाले सोचेजति उपलब्धि हाँसिल भएको छैन ।
त्यसैगरी, स्वास्थ्य क्षेत्रको समस्याको कुरा गर्दा समाजवादी स्वास्थ्य नीति अन्तर्गत निशुल्क स्वास्थ्य सेवाको पैरवी गरेर मात्र पुग्दैन, नीतिगत खाका पनि दिनुपर्ने हुन्छ । विद्यमान स्वास्थ्य नीति टालटुले र झारा टार्ने किसिमको छ । जनआन्दोलन पछिको सरकारले निशुल्क स्वास्थ्यको अवधारणा ल्याए पनि सुविधाभन्दा दुविधा बढी थपिदिएको छ । स्वास्थ्य नीति मूलत: एकातिर प्रवद्र्धनात्मक र प्रतिरोधात्मक जनस्वास्थ्य नीति र अर्कोतिर उपचारात्मक चिकित्सकीय सेवा गरी दुई मूल धारको हुनुपर्छ । संस्थागत संरचना बलियो हुँदाहुँदै पनि आर्थिक र नीतिगत समस्याका कारण स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी हुन सकेको छैन । स्वास्थ्य सेवा कर लगू गरी त्यसैको आधारमा प्राथमिक स्वास्थ्य सेवा नि:शुल्क गर्न सकिन्छ । सरकारी स्वास्थ्य सेवाको गुणस्तर र पहुँच वृद्धि गर्ने नीति बनाउने कुरा युवा आन्दोलनको प्राथमिकता हुनुपर्छ । विशेषज्ञ चिकित्सकहरू सरकारी स्वास्थ्य सेवामा आकर्षित गर्ने नीति बनाइनुपर्छ ।
रोजगार र सामाजिक सुरक्षाको नारा लोकतन्त्रको स्थापनापछि निकै उच्च स्वरमा उरालिएको छ । तर, युवा संगठनहरू जसले युवा रोजगारको नाममा राजनीतिक गोष्ठी र सेमिनार गर्छन्, उनीहरूसँगै रोजगारसम्बन्धी नीति स्पष्ट देखिँदैन । रोजगारीको सिर्जना सरकार मात्र गर्दैमा वा सहरका भित्ता पोतिँदैमा पूरा हुने भए सायद हामीलाई अहिले राजनीतिक गफ गर्ने फुर्सद हुने थिएन । स्वरोजगारको नाममा पैसा छरेर रोजगार उमार्ने सपना बाँड्छन् पिएचडी प्रधानमन्त्री । सामाजवादीको बाहुल्य भएको देशमा श्रम गर्ने युवा राज्यबाट, सहकर्मीबाट र तिनकै पार्टीको नीतिबाट हेपिएका छन् । काम मिलाई दिएर कमिसन खाने र दलाली गर्ने कमरेडहरू कम्युनिस्ट पार्टीका अब्बल युवा नेतामा दरिंदै छन् । हुनुपर्ने त कृषिप्रधान देशमा कृषि उद्योगको स्थापना हो । वामपन्थीहरूको सिद्धान्तको प्रथम पृष्ठमै उत्पादन शक्ति र उत्पादन सम्बन्धको व्याख्या गरिएको छ । ‘उत्पादन’ लाई मन्त्र बनाएर विभिन्न वस्तुको उत्पादन गर्ने उद्योग स्थापना गर्ने नीति तथा कार्यक्रम युवा आन्दोलनको कार्यक्रम हुनुपर्छ । हामीले इलोक्ट्रोनिक्स सामान वा मोटर गाडीको उद्योग स्थापना गर्नुभन्दा कृषि उद्योग (खाद्य, नगदेवाली, पशुपालन, दूध उद्योग, आदि) र पर्यटनका क्षेत्रमा ध्यान केन्द्रित गरी आत्मनिर्भर हुनुपर्ने आवश्यकता छ । सामाजिक सुरक्षाको विषयभित्र भौतिक सुरक्षा, पेसागत सुरक्षा, मानवअधिकार, वातावरणीय र जैविक विविधताको सुरक्षा, आदि सामाजिक पर्यावरणीय अन्तरसम्बन्धका आयामलाई सम्बोधन गर्ने नीति निर्माण गर्न पैरवी र पहलकदमी युवा आन्दोलनका कार्यक्रम हुनुपर्छ ।
(लेखिका युवासंघ नेपाली केन्द्रीय सदस्य हुन्)
प्रतिक्रिया