उखु किसान आन्दोलनको तयारीमा पुरानै मूल्यमा भुक्तानी

sugerken-kisanरौतहट, ८ फागुन । उखुको नयाँ मूल्य कायम भए पनि श्रीराम सुगर मिल्स रौतहट गरुडाले किसानलाई पुरानै दरमा भुक्तानी दिएपछि उनीहरू आन्दोलनको तयारीमा जुटेका छन् ।

चिनी उत्पादक संघ र उखु उत्पादक किसान महासंघबीच केही दिनअघि सम्पन्न वार्तामा प्रतिक्विन्टल उखुको मूल्य चार सय ८१ रुपियाँ कायम भएको थियो । तर, रौतहटमा भने सो सहमतिविपरीत उखु किसानलाई पुरानै दररेटमा भुक्तानी दिने सूचना मिल्सले निकालेपछि किसान आक्रोशित भएका हुन् ।
चिनी उत्पाद संघ र किसानबीच वार्ता भएर चार सय ८१ रुपियाँ प्रतिक्विन्टल निर्धारण भए पनि श्रीराम मिल्सले नयाँ दररेट लागू गरेको छैन । मिल्सले एकदेखि १५ पुससम्म उखु क्रसिङ गरेकोले १४ माघदेखि पेस्कीस्वरूप चार सय रुपियाँप्रति क्विन्टलको दरले भुक्तानी दिने सूचना गरेको उखु उत्पादक संघ रौतहटको अध्यक्ष जयनाथ यादवले बताए ।
नयाँ दर/रेट कायम भए पनि पुरानै दरमा भुक्तानी दिने सूचना प्रकाशित गरेकामा मिल्स प्रशासनप्रति आपत्ति प्रकट गर्दै उत्पादक संघका जिल्ला अध्यक्ष यादवले नयाँ रेटमा उखु किसानलाई भुक्तानी नदिए संघ चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
श्रीरामले गेटमा ढुवानी गरेका किसानको हकमा भुक्तानीको सूचना निकालेको तर सर्लाही र बाराका किसानले काँटामा बिक्री गरेको उखुको भुक्तानी सूचना अहिलेसम्म मिल्सले ननिकाल्दा आफूहरू निकै समस्यामा परेको इनर्वाका किसान महिन्द्र ठाकुरले भने । उनले मिलमा उखु बिक्री गरी समयमै रकम पाउने आशा भए पनि निराश हुनुपरेकोमा दुख व्यक्त गरे । मिल प्रशासनको हेलचक्रयाइँका कारण दु:ख खेप्न बाध्य भएका उनको भनाइ छ । नयाँ मूल्य निर्धारण हँुदासमेत पुरानै मूल्यमा भुक्तानी पाएको देख्दा अहिले किसानलाई खेतको उखु टोक्नु न बोक्नुको अवस्था सृजना भएको छ ।
श्रीराम मिल्सका आर्थिक प्रबन्धक नन्दकिशोर गुप्ताले चिनी उत्पादक संघ र उखु उत्पादक किसान महासंघ बीचको बैठकमा उखुको मूल्य ४ सय ८१ कायम भएको निर्णय मिल्सलाई प्राप्त नभएको बताए । उनले निर्णयको प्रतिलिपि नआउँदासम्म आफूखुसी नयाँ दररेटमा भक्तानी गर्न नसकिने बताए । ‘लिखित रूपमा निर्णय आएपछि मात्र नयाँ मूल्यमा भुक्तानी दिने छाँै,’ उनले भने ।

प्रतिक्रिया