०७ सालको क्रान्तिको बीजारोपण

arbinda-rimalतिनताका महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतिदेवीफाँटस्थित घर प्रजातन्त्रवादीहरूका लागि राजनीतिक स्थल नै बनेको थियो । विशुद्ध साहित्यकार देवकोटाज्यू क्रमिक रूपले प्रखर राणाविरोधी प्रजातन्त्रवादी हुन पुग्नुभएको थियो । राजनीतिक रूपले सचेत तन्नेरीहरू उहाँको घरमा जम्मा भइरहन्थे । साहित्यकार हृदयराज शर्मा, नरसिंहबहादुर श्रेष्ठ, प्रकाशबहादुर के.सी, शंकरप्रसाद जोशी, चन्द्रधर उप्रेती, सूर्यबहादुर बस्नेत, शंकरप्रसाद कोइराला तथा डिल्लीराज उप्रेती आदि नियमितरूपमा त्यहाँ गइरहनुहुन्थ्यो । म पनि पुग्थेँ । कवि, नाटककार श्यामदास वैष्णव र कवि लक्ष्मणप्रसाद लोहनी त महाकविको सेवामा सधँै संलग्न हुनुहुन्थ्यो ।
पछि देवकोटाज्यू नेपालमा प्रजातन्त्रको प्रचार–प्रसार र स्थापना गर्ने उद्देश्यबाट पहिले दार्जिलिङ र त्यसपछि बनारस पुग्नुभयो । उहाँका जोशिला कविताहरू नेपाली राष्ट्रिय कांग्रेसको मुखपत्र ‘युगवाणी’ मा छापिएर गुप्त रूपले देशभरि वितरित हुन्थे ।
त्योभन्दा अघि देवकोटाजीले नेपालमा प्रजातान्त्रिक परिवर्तनको आकांक्षाबाट अभिप्रेरित भएर नेपालको वास्तविक राजनीतिक, आर्थिक, सामाजिक अवस्थालाई झल्काउने गरी एउटा राजनीतिक विश्लेषणात्मक निबन्ध तयार पारेर त्यसलाई त्रिपुरेश्वरस्थित गेस्टहाउसमा बस्नुभएका भारतीय संविधानविद् श्रीप्रकाशलाई सुटुक्क दिनुभएको थियो । पछिको राजनीतिक उथलपुथलमा नेपाल र नेपालीहरूको आकांक्षाप्रति सही दृष्टिकोण राख्न उक्त निबन्धले भारत सरकारलाई कति सहायता र सहयोग गर्‍यो वा त्यसबाट भारत सरकार कत्तिको प्रभावित भयो, त्यो आजसम्म गूढ रहस्य नै भए तापनि त्यो कारबाही देशभक्त प्रजातन्त्रवादी नेपाली युवाहरूको आँटिलो कार्य थियो । यस अर्थमा देवकोटाजी त्यस आकांक्षाका प्रवक्ता हुनुहुन्थ्यो । यी सब कार्य २००७ सालको क्रान्तिका लागि बीजारोपण थिए ।
काठमाडौँ झ्यालखानाभित्रबाट टंकप्रसादजीलगायत नेपाल प्रजापरिषद्का नेतृत्व र बाहिरबाट नेपाली राष्ट्रिय कांग्रेस (त्यस बेला नेपाली कांग्रेसको स्थापना भएको थिएन) को नेतृत्वलगायत अन्य प्रजातन्त्रवादीले श्रीप्रकाशको भ्रमणप्रति ठूलो आशा लगाएका थिए । नेपालको संवैधानिक सुधारमा सहयोग गर्न भारतीय प्रधानमन्त्री नेहरूले श्रीप्रकाशलाई काठमाडौं पठाउनुभएको थियो । तर, पद्मशमशेरले घोषणा गर्न आँटेको सीमित सुधारपट्टि पनि राणातन्त्रको शत्रुता प्रस्टिन धेरै दिन लागेन । त्यसको एक महिनापछि नै मोहनशमशेरको नेतृत्वमा बाँकी भाइखलकहरूले पद्मशमशेरका विरुद्ध पारिवारिक ‘कु’ गरी उनलाई भारत धपाए । २००५ सालको वैशाखमा पद्मशमशेरले राँचीबाट प्रधानमन्त्रित्व पदबाट राजीनामा पठाएपछि मात्र मुख्तियार मोहनशमशेर ‘श्री ३ महाराज’ बन्न पाए ।
यी आन्दोलनका कारणबाट नै लप्टनको होटेल एउटा राजनीतिक अखडा बन्न पुगेको थियो । त्यसका प्रति सरकारी गुप्तचरहरूका कोपदृष्टिलाई सजिलैसँग देख्न बुझ्न सकिन्थ्यो । मोहनशमशेर ‘श्री ३ महाराज’ को गद्दीमा बस्दा त्यो गद्दी काठमाडौं तीन सहरमा चलेको प्रजा पञ्चायतको आन्दोलनबाट हल्लिन थालिसकेको थियो । प्रजातान्त्रिक एवं नागरिक हकको आवाज उठाएर यहाँका जागृत तन्नेरीहरूले एउटा सशक्त आन्दोलन सञ्चालन गरिसकेका थिए । क्रूर पुलिस दमन र गिरफ्तारीबाट पनि यो आन्दोलन दबेन ।
प्रजा परिषद्का नेताहरूले आफ्ना कामकारबाही नेपाली राष्ट्रिय कांग्रेसको शाखाकै रूपमा चलाएको देखिन्थ्यो । यसका दुइटा कारण थिए : एउटा त प्रजापरिषद्का मुख्य नेताहरू जम्मै जेलमा बन्द थिए, अर्को– प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद आचार्यलाई बनारसवासी विश्वेश्वरप्रसाद कोइराला तथा डिल्लीरमण रेग्मी दुवैले आपसी सहमतिबाट नेपाली राष्ट्रिय कांग्रेसको सभापति चुनेका थिए । यस आन्दोलनमा काठमाडौं चार भञ्ज्यांङका विवेकी नेता र कार्यकर्ताहरूले बाहिरी झगडाको कुनै असर
पर्न दिएनन् ।
त्यसका संगठनकर्ता र सक्रियतावादीहरूलाई मोहनशमशेरको शासनले समातेर झ्यालखानमा थुनेपछि विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र केदारमान व्यथितलाई लिएर गुप्त तरिकाले काठमाडौं पस्नुभयो । विश्वेश्वरप्रसादको आगमनको प्रत्येक विवरण त्यसबेलाका हुजुरिया जर्नेल विजयशमशेर राणालाई थाहा थियो र उनले आफ्ना प्रधानमन्त्री बाबु र अन्य कट्टरपन्थी काकाहरूको दमनचक्रमा विश्वेश्वरप्रसादलाई पर्न नदिन उहाँको पूरापूरा बचाउ गरे भनी सरदार भीमबहादुर पाण्डेले आफ्नो किताब ‘त्यसबखतको नेपाल–भाग–२’ मा लेख्नुभएको छ । उहाँले गर्नुभएको दाबीमा फस्न नचाहिँ म के भन्छु भने कोइरालालाई डिल्लीबजारमा डिल्लीराज उप्रेती, सूर्यबहादुर बस्नेत, नरसिंहबहादुर श्रेष्ठ, शंकरप्रसाद जोशी, प्रकाशबहादुर के.सी. आदि तन्नेरीहरूले मिलेर नरेन्द्रबहादुर बस्नेत लखनउ पढ्न गएको बेला उहाँको घरमा लुकाएर राखे र त्यहीँबाट निकै दिनसम्म कोइरालाले आफ्नो काठमाडौंका गोप्य राजनीतिक गतिविधि चलाउनुभयो ।
राणाशासनका जमानामा त्यस्तो राजनीतिक शरण दिनु भनेको बडो आँट र साहसको कुरा थियो, जुन साहस मेरा अर्का मित्र भावी डाक्टर सूर्यबहादुर बस्नेतले गरेर देखाएका थिए । पछि, कोइरालालाई आफ्नो घरमा शरण दिएको र कांग्रेसी पर्चा टाँसेको अभियोगमा सूर्यबहादुरलाई राणाशासनले एक महिनासम्म हनुमानढोकाको पुलिस थानामा थुनेर राख्यो । यसरी पुस महिनामा कोइराला समातिनुभयो र उहाँलाई भद्रगोल जेलमा थुनियो । यसबाट कोइरालालाई उहाँको पिता खरिदार कृष्णप्रसाद कोइरालालाई झ्यालखानामै सडाएर मारेजस्तै गरी राणाहरूले सिध्याउनेछन् भन्ने आशंकाले काठमाडौंका त्यतिबेलाका राजनीतिक कार्यकर्ता सन्त्रस्त भए ।
यस आन्दोलनको क्रममा क्रान्तिकारी नवयुवकहरूले काठमाडौं, पाटन र भक्तपुरका विभिन्न ठाउँहरूकासाथै काठमाडौंकै इन्द्रचोकको बाइसपसलको छेउस्थित शिवमन्दिरको पेटीमा चढेर त्यही ठाउँबाट भाषण गर्नु बडो प्रतीकात्मक थियो, जहाँ शुक्रराज शास्त्री र गंगालालले १० वर्षअगाडि आमसभा गर्नुभएको थियो ।
असाधारण महत्त्वको घटना
२००७ सालको कात्तिकमा पञ्चकको पाँचदिने जुवा फुकेको एक दिन कात्तिक २५ गते साँझपख एक्कासि हवाइजहाज उडेको आवाज सुनियो । त्यसलगत्तै मुट्ठा पर्चाहरू माथि आकाशबाट टोलटोलमा छरिए । त्यो राणाशासनविरुद्ध सशस्त्र संघर्ष गर्न नेपाली कांग्रेसबाट देशवासीहरूलाई अपिल गरिएको पर्चा थियो । भोलिपल्टै नेपाली कांग्रेसको मुक्ति सेनाले वीरगञ्ज कब्जा गर्‍यो । त्यो नेपालमा राणाशासनको अन्त्यको संकेत थियो । त्यो संकेतलाई ठोसरूप दिएको जस्तै गरी कात्तिक २१ गते राजा त्रिभुवनले प्राय: पूरै राजपरिवारसहित भारतीय दूतावासमा राजनीतिक शरण लिए । त्यस्तो हुनु त असाधारण महत्त्वकै घटना थियो ।
राणाशासनले आफ्नो १०४ वर्षको शासनकालभरि जति कूटनीतिक गतिविधि गरेको थियो त्यति र त्योभन्दा बढी नै त्यसले त्यसपछिका २–३ दिनभित्र गर्नुपर्‍यो होला । विश्व जनमतको दबाबमा परेर राणाशासन त्रिभुवनलाई विशेष वायुयानद्वारा कात्तिक २६ गतेका दिन नयाँ दिल्ली प्रस्थान गर्न दिन बाध्य भयो । राजा त्रिभुवनबाट गरिएको उक्त राजनीतिक अभिव्यक्तिलाई आफ्नो मुक्तिको आकांक्षाअनुरूप ठानेर प्राय: सम्पूर्ण राजधानी गौचर हवाइअड्डातिर ओइरियो । चन्द्रधर उप्रेती र म पनि भीडले ठेलिँदै गौचर लाग्यौँ । त्यहाँ धुमधाम लाठीचार्ज भयो, कैयौँ घाइते भए तर जिन्दावाद र मुर्दावादको नारा लाग्न छुटेन । त्यस दिनको त्यहाँको अभिव्यक्ति कुनै दबेको चीज फुटेर बाहिर निस्केकोजस्तो लाग्थ्यो । हवाइअड्डाको विशाल जनअभिव्यक्तिका महिला सहभागीहरूमा शान्ता श्रेष्ठमाथि निर्मम प्रहार हुँदा पनि उनी फ्रान्सेली ऐतिहासिक वीरंगना जोन अफ आर्क जस्तै जाज्वल्यमान देखिन्थिन् । राजा त्रिभुवनसँग ऐक्यबद्धता र प्रजातन्त्रप्राप्तिका आकांक्षामा त्यस दिनको मेरो पारिवारिक संलग्नताको हकमा चाहिँ काका शैलेन्द्रनाथ रिमाल र साहिँला दाजु तेजेन्द्रनाथ रिमाल जुलुसबाट नै समातिनुभएको थियो ।
राणाविरोधी आन्दोलनको व्यापकताबाट र भावी नयाँ नेपाल नयाँ भारतसँग नगिचिने भयबाट तर्सिएर अंग्रेज–अमेरिकी सरकारले ‘वास्तविकता’ बुझ्न भनी घाग अंग्रेज कूटनीतिज्ञ सर एल्सर डेनिङको नेतृत्वमा एउटा आयोग काठमाडौं पठाए । राजधानीका नागरिकहरूले ठूलो बहादुरी र आँट प्रदर्शन गरेर अपूर्व जुलुस झिके । उक्त आयोग नेपाली जनताले व्यक्त गरेका राणाविरोधी प्रदर्शनबाट प्रभावित नभइरहन सकेन । अदम्य राणाविरोधी प्रो. शंकरदेव पन्तले उक्त जुलुसको नेतृत्व गर्नुभएको थियो ।
राजा त्रिभुवन भारतीय दूतावासमा शरण लिन गएबाट राणाशासनका मुखिया मोहनशमशेर त्यतिबिघ्न भयभीत भएका थिएनन् भनिन्छ । तर, उनी पञ्चकको उपर्युक्त साँझ काठमाडौंभरि छरिएका पर्चाबाट त्राहित्राहि भएका थिए । यसबाट प्रत्यक्ष लाभ नख्खु जेलमा थुनुवामा परेका गणेशमान सिंह, सुन्दरराज चालिसे र उहाँहरूसँगै ठोरीबाट पक्रेर ल्याइएका एवं फाँसीको सजाय तोकिएका हरिबहादुर श्रेष्ठ, टेकबहादुर आदिलाई भयो । यी सबैमाथि आइपर्न सक्ने फाँसीको खतरा अब टर्‍यो ।
राणाविरोधी संघर्षको पर्चा काठमाडौंमा हवाइजहाजद्वारा छरिएपछि नेपाल खाल्डोको सामाजिक मनस्थितिले कोल्टे फेर्‍यो । तर विडम्बना कस्तो भने अनिश्चितताले भरिएको परिवर्तनको आशंकाले पनि धेरैलाई छोप्यो । प्रजातान्त्रिक आन्दोलनमै सक्रिय रहेकामध्ये धेरैजसो भोलिको दृश्यावलीबारे स्पष्ट थिएनन् भने साधारण मानिसहरूले त आफ्नो सामु छाएको वास्तविकतालाई कताकता दु:स्वप्नसरह ठान्नु पनि अस्वाभाविक थिएन । आखिर, राणाशासन धेरैका लागि पारिवारिक निरंकुशतन्त्रको पर्यायवाची मात्र नभएर एउटा स्थापित समाज, मूल्य, मान्यता र अनुशासनको व्यवस्था पनि थियो । राणाशासकहरू प्रजाहरूप्रति ‘समदर्शक’ तथा ‘न्यायकर्ता’ का रूपमा प्रतिविम्बित थिए । राणाशासनलाई समाजले आत्मसात् त गरेन तर त्यसको पूरै विरोधी पनि त्यो भएको थिएन । बरु, राणाविरोधी आन्दोलनका सहभागीताहरूमा स्थानीय मानिसहरू हुँदाहुँदै पनि काठमाडौंको सामान्य समाजमा ‘कांग्रेस’ भन्ने शब्द अलि ‘विजातीय’ नै प्रतिध्वनित भएको कुरालाई मान्नै पर्दछ ।
राणाशाही–विरोधी सशस्त्र क्रान्ति विभिन्न ठाउँबाट एकैसाथ सुरुभयो । यसमा प्रमुख स्थान वीरगन्ज थियो । उता विराटनगरबाट ‘रेडियो प्रजातन्त्र नेपाल’ नामक रेडियो स्टेशनले काम चालु गरिसकेको थियो । तिनताका काठमाडौं खाल्डोभरिमा घरमा रेडियो हुने मानिसहरूको संख्या ५–६ हजार पनि नाघ्दैनथियो होला । आ–आफ्नो रेडियोमा उपर्युक्त विद्रोही रेडियो स्टेसनको कार्यक्रम सुन्ने त झन् कम संख्यामा थिए होलान् । प्रजाहरूमा त्यस्तो मनस्थिति भए पनि अब जमिनबाट मात्र होइन, हावाबाट पनि विद्रोहीहरूको मार खप्नुपरेकोले गर्दा राणाशासन चाहिँ मर्माहत नै भएको रहेछ । तर आफ्नो अदब र अनुशासनको कारण राणाशासनले ‘विदेशीहरूको इशारामा नाच्ने विद्रोहीहरूका सामु आफू दबेको प्रमाण किञ्चित दिएन । त्यसले वीरगन्जलाई पुन: कब्जा गर्न र विराटनगरबाट विद्रोहीहरूलाई ‘लघार्न’ जवाफी फौजी अभियान चलायो । वीरगन्ज राणाशासनको हातमा फर्कियो पनि । यसले निभ्न लागेको शासनलाई केही समयका लागि बल्ने हौसला दियो । तर, पूर्व–पश्चिम र दक्षिणका मोर्चाहरू झन सक्रिय भइरहेका थिए र मुुक्तिसेनाले एकपछि अर्को विजय हासिल गर्दै गइरहेको थियो ।
यी सबै मोर्चाहरूमा कांग्रेसकै प्रतिबद्ध नेता तथा कार्यकर्ता सक्रिय थिए । कम्युनिस्टहरूको सहभागिता पनि क्रमिक तर उल्लेखनीय रूपले बढिरहेको थियो । कतिपय क्षेत्रमा त कांग्रेस–कम्युनिस्ट नेतृत्वमा राणाविरोधी आन्दोलनले जमिन्दारविरोधी अभियानको रूपसमेत लिएको थियो । तमसुक जलाइने घटना पनि धेरै ठाउँमा भए ।
यत्तिकैमा मलाई तिहारपछिको छुट्टी मनाएर फेरि कलकत्ता पढ्न फर्किनु थियो । सधैँको चहलपहलपूर्ण थानकोट फेदी त्यसदिन सुनसान थियो । सामान्य भरिया पनि पाइएनन् । अत: गढीमा भारी–गुन्टा जँचाउँदा हाम्रो भरिया त ‘तल्लोजातको छुन नहुने’ मानिस भएको पत्तो लाग्दा हामी झन् ‘कांग्रेस’ ठहरियौँ । हामीलाई नांगेझार जस्तो पारेर खानतलासी गरियो । म नाउँ चलेको बाबुको छोरा भएकोले सायद त्यहाँ थुनिनुचाहिँ परेन ।
ऋषिकेश शाह, नरसिंहबहादुर श्रेष्ठ, खगेन्द्रबहादुर बस्नेत, पर्लजंग राणा र सूर्यबहादुर थापा आदि लखनउ–अलाहबाद र म कलकत्ता जान सँगसँगै हिँडेका थियौँ । साँझ भीमफेदी पुगियो । भोलिपल्ट बिहान कोचाकोच भरिएको बस चढेर अमलेखगन्ज जाँदा सहयात्रीहरू सबै निर्जीव प्राणीसरह देखिन्थे । वीरगन्ज फेरि राणाशासनको कब्जामा आएको खबरको विवरण राति धर्मशालामा सबैले सुनिसकेका थिए । चुरीमाईको सुरुङ पार गर्दा पनि कुनै सनसनी मच्चिएन । सबैजना त्राहीमाम् थिए ।
सँधै गुलजार रहने, चावबाडमा जस्तै भीड हुने र नगरवासीहरूका लागि घुम्ने, डुल्ने, मानिस भेट्ने ठाउँको रूपमा प्रख्यात वीरगन्जमा सन्त्रासपूर्ण वातावरण, अनौठो निस्तब्धता छाएको थियो भने ठाउँठाउँमा कडा फौजी पहरा लागेको देखिन्थ्यो । कुनै पनि यात्रु चिया वा पान खानका लागि रेलको डिब्बाबाट तल ओर्लेन । सबैजना रक्सौल पुग्ने चिन्तामै थिए । किन हो कुन्नि, त्यहाँ पुगेपछि मात्र बल्ल सास फेर्न सजिलो होला भन्ने लागिरहेको थियो ।
वीरगन्ज रेल्वेस्टेसनमा एक घन्टाजतिको विश्रामपछि रक्सौल पुग्दा पो वीरगन्ज स्टेसनमा त्यसदिन छाएको त्रासपूर्ण वातावरण, अनौठो निस्तब्धता र ठाउँठाउँमा फौजी पहराको वास्तविकता थाहा पाइयो ।
रक्सौलबाट भोलिपल्ट सुगौलीको बाटो गरी पटना हुँदै कलकत्ता जान लाग्दा रक्सौल स्टेसनमा फेरि भेट भएका क्रान्ति योद्धाहरू वीरगन्ज गुमेकोमा विक्षुब्ध भए तापनि नेपालभरि चारतारे झन्डा फहराउन सकिने विश्वासले ओतप्रोत देखिन्थे ।
(रिमालको पुस्तक ‘डिल्लीबजारको लप्टनको होटल’ बाट )

प्रतिक्रिया