गणतन्त्र स्थापनापश्चात् गठन भएका सरकारका तुलनामा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई कत्तिको सफल वा असफल ठान्नुहुन्छ ?

वर्तमान सरकारको सफलता र असफलतालाई केलाउँदा समग्रमा आधा सफल र आधा सफल भएको मान्न सकिन्छ । मूलत: पाँचवटा विषयमा केन्द्रित भएर बाबुराम नेतृत्वको सरकारको सफलता र असफलताको मूल्यांकन गर्नपर्ने हुन्छ । जस्तै– शिविरमा रहेका एमाओवादी जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन गर्ने मामिलामा सरकार सफल भएको मान्नुपर्छ । त्यस्तै संविधान निर्माणका लागि संविधानसभा बचाउन सक्नुपथ्र्यो त्यो सकिएन । यद्यपि, यो सरकारको एक्लो प्रयासले मात्रै बचाउन सकिँदैनथ्यो । विगतका सरकारका मन्त्रीजस्तै वर्तमान सरकारका मन्त्रीहरू पनि भ्रष्ट देखिए । राष्ट्रिय स्वाधिनताका सवालमा सरकार अत्यन्त कमजोर र निरीह रह्यो । जनअपेक्षाका सवालमा प्रधानमन्त्रीले जनतासामु गरेका प्रतिबद्धता अधिकांश पूरा गर्न सकेनन् । हेलो सरकारजस्तो जनमुखी काम सुरुआत, सडक बिस्तारको अभियानजस्ता कार्यलाई हेर्दा सरकारका राम्रा कार्यका रूपमा लिन सकिन्छ । सरकारले आमजनताको अपेक्षा अनरूप शान्ति र सुरक्षा (हत्या, अपहरण, बलात्कार) को अवस्थामा सुधार ल्याउन सकेको देखिएन । आर्थिक विकासका विषयमा कुरा गर्दा अघिल्लो सरकारजस्तै पूर्णबजेट ल्याउन नसक्दा आर्थिक क्षेत्र पनि ओरालो लागेको देखिन्छ । यी सबै राम्रा, नराम्रा कार्यको सुरुआत र सम्पन्न पार्नका लागि सबै राजनीतिक दलको सहयोग आवश्यक पथ्र्यो, जुन हुन सकेन ।

प्रतिक्रिया