गोरखा घ्याल्चोकमा जन्मेका नारायण श्रेष्ठ अहिले प्रशारण पत्रकारितामा संग्लग्न छन् । बिबिसी वल्ड सर्भिस ट्रस्टले तयार पारेको कार्यक्रम ‘साझा सवाल’का प्रस्तोता उनी राजनीति, शान्ति प्रक्रिया र जनजीविकाको बारेमा बहस गर्छन् । कविता र निबन्ध लेखनमा पनि उनले आफूलाई उत्तिकै अब्बल साबित गरेका छन् । उनको ‘पार्थिव तस्बिर’ र ‘साक्षी’ कवितासंग्रह प्रकाशित छ । उनीसँग कविता र लेखनमा केन्द्रित भएर गरिएको कुराकानी :
नारायण श्रेष्ठ कविता किन लेख्छ ?
आत्मसन्तुष्टिका लागि । आफ्नै खुसीका लागि । देखेका कुरा अभिव्यक्त गर्न मन पराउँछु । त्यसैले लेख्छु ।
तपाइंले लेखेर मान्छे र समाजले केही पाएको छ त ?
मैले भनेँ, ‘म आफ्नै खुसीका लागि लेख्छु ।’ भनेपछि मेरा सिर्जनाबाट अरूले के पाउँछन् वा पाउँदैनन् भन्ने कुरा मेरो कल्पनाभन्दा बाहिरको हुन्छ, कम्तीमा लेखुन्जेलका लागि भए पनि पाठकले यसबाट के पाउँछन् त भनेर म लेखिरहेको हुन्न ? तर, लेख्नुको अर्को एउटा मजाचाहिँ छ । एकछिनलाई सोच्नुस्, केही पनि लेखिएको छैन यो संसारमा, के हुन्थ्यो होला मानव सभ्यता ? हरेक पुस्ताले सुरुआतको पाइला मात्र टेकिरहेका हुने थिए जसरी अलच्छिनी ढुंगो बोकेर सिसिफस आज पनि पहाड उक्लिरहेको छ । पहाडको चुचुरामा राखेको मात्र हुँदैन त्यो ढुंगा फेदिमा खसिहाल्छ । र, सिसिफस त्यही ढुंगा बोकेर अर्को दिन पनि उकालो लागिरहेको हुन्छ । ऊ त्यसैमा अभिशप्त छ । मान्छेको इतिहास र सभ्यता पनि त्यस्तै हुने थियो यदि कुनै पनि कुरा नलेखिएको भए । प्रत्येक पुस्ता पहिलो पाइला मात्र टेकिरहेको । तर, यो सभ्यता त्यस्तो छैन किनभने हरेक पुस्तामा उसले देखेको जानेको कुरा लेखिएको छ । र, हामी त्यही ज्ञानको एक खुडकिलो माथि पाइला राखेर हिँडेका छौँ । तपार्इंले देखेको, भोगेको र जानेको कुरा लेखिदिँदा भोलिका पुस्ताले त्यो कुरा जान्न त्यही घटना भोग्नुपर्दैन, त्यही समय पार गर्नुपर्दैन । एक पाइला माथिबाट उसको यात्रा सुरु हुनेछ । हो त्यसले पनि मलाई लेख्ने कुरामा प्रेरणा दिइरहेको हुन्छ ।
आफ्नै लेखनप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
जति लेख्न भ्याएको छु त्यसमा सन्तुष्ट नै छु । असन्तुष्ट हुनुपर्ने कारण छैन । अझ धेरै लेख्न पाएको भए हुन्थ्यो भन्ने कुराले चिमोटिरहन्छ ।
तपाईंको जिनमा पत्रकार बढी हाबी छ कि कवि ?
कवि । मेरो मनभित्र कवि बाँचेको छ । कुनै बेला लाग्थ्यो म दिनभरि पनि कविता लेखिरहन सक्छु । विम्बहरू दिमागभरि सल्बलाइरहेका हुन्थे । कविताको त्यो आराधना र उच्छवास् एउटा उचाइमा थियो । कवितासँगै म सुत्थेँ र बिहान कवितासँगै उठ्थेँ । कविता, कविता, कविता, बस त्योबाहेक केही पनि थिएन मेरो मनमा । दोस्रो कविता संग्रहका लागि केही प्रकाशकको ढोका चाहारेँ मैले । कोही पनि राजी भएनन् मेरो कविता छाप्न । केहीले त आफैँले पैसा खर्च गर्दा पनि नछाप्ने बताए । त्यसपछि मलाई लाग्यो अब म कविता लेख्दिनँ । किन लेख्ने जब छाप्न कोही तयार छैनन् भने ? सायद थोरै वितृष्णा पनि जाग्यो होला मेरो मनमा । अलि लामो ग्यापपछि फाइन प्रिन्टले अप्रोच गर्यो र त्यो संग्रह छापिन सक्यो । अहिले कविताप्रति वितृष्णा त हैन पेसाका कारण त्यतिबेला जस्तो लेख्न भने सकेको छैन । सायद अहिले कविभन्दा पत्रकार ‘नारायण’ ममा हाबी छ ।
अहिलेको कविताको केन्द्रीय स्वर के हो ?
सत्ताको विपक्षमा उभ्याउने कसरत । धेरैजसो काव्य सिर्जनामा म त्यही देख्छु । कविता पढ्दा कविहरूमा प्रतिपक्षको अनुहार देख्छु म । राजनीतिको वाद र सिद्धान्तभन्दा पनि सत्ताको विपरीत ध्रुवमा उभिन सायद सबैलाई सजिलो हुन्छ । त्यसमा कवि पनि पर्छन् । अर्को पाटोबाट हेर्दा यो भनेको बेथिति र बेहोसीप्रति खबरदारी पनि हो । किनभने कविहरू सुन्दर समाजको कल्पना गर्छन् जुन यथार्थमा कम मात्रै सम्भव हुन्छ । र, त्यसका लागि आवाज उठाउँदा त्यो जिरहले उनीहरूलाई प्रतिपक्षमा उभ्याउँछ, सायद ।
कहिलेकाहीँ यसो सोच्छु कुनै पनि बिरोध गर्नु नपर्ने सत्ता यदि यो समाजमा हुँदो हो त कविहरू के लेख्छन होला ? त्यस्तो बेला सायद उनीहरू ‘भजन’ र ‘स्तुति’भन्दा बढी केही लेख्न सक्नेछैनन् । जसले साहित्यको स्तर हासिल गर्न सक्दैन । र, त्यसबेला कविताको पनि मृत्यु हुनेछ । तर, यति भनिसक्दा के कुरामा म सचेत छु भने सत्ता र शक्तिको भजन र स्तुति गाउने कविहरू पनि त्यतिकै छन्, अहिले । तर, मेरो नजरमा तिनीहरू खासमा कवि होइनन् ।
अहिलेसम्म लेखिएका तपाईंका किताबले नेपाली समाजका आयामलाई कुन हदसम्म पक्डिएका छन् ?
म त भन्छु समय र परिवर्तन । जस्तो– जस्तो समयको धड्कन छ त्यहीअनुसार मेरा कविताले पनि जीवन पाएका छन् । मेरो पुस्ताको अहिलेसम्मको सबभन्दा ठूलो परिवर्तनको साक्षी करोडौं नेपालीमध्ये म पनि हु । मेरो बुझाइमा कविता लेख्दा एउटा आफू बाँचेको समय र परिवेशलाई समेटिने रहेछ, अर्को आफ्नो उमेर र त्यसको महकलाई । अहिलेसम्म मैले बाँचेको समय आन्तरिक द्वन्द्व र राजनीतिक उथलपुथलले भरियो । धेरै कविता मैले त्यही परिवेशका लागि लेखेँ ।
अहिले कविता लेखनको धार कता गइरहेको पाउनुभएको छ ?
सरल कविताहरूले अहिले कविताको बजार जमाइरहेछन् जस्तो लाग्छ । किनभने ती बुझ्न सजिलो, दिमागलाई कसरत दिनुनपर्ने हुन्छन् । जहाँसम्म सिद्धान्तको कुरा छ, लेख्दा म कुनै वाद वा सिद्धान्तको घेरामा रहेर लेख्दिनँ । लेखिसकेको सिर्जना कुन वादमा पर्छ भनेर त समालोचकले हेर्ने कुरा हो । एउटै सिर्जना एउटा आँखाले हेर्दा एक र अर्कोले हेर्दा फरक देखिन सक्छ ।
तपाईंका कविताको मूल आधार र आदर्श के हुन् ?
मेरो कविताका आदर्श केही छैनन् । तर, आधार मान्छे हुन् । मैले भेटेकै मान्छेहरूकै बारेमा म लेख्छु । र, उनीहरूकै लागि लेख्छु । मनिसहरूको भोगाइ, दैनिकी मेरा कविताका जग हुन् ।
शास्त्रीयताबाट मुक्त भनिएका मोहन कोइरालाका क्लिष्ट कविता कत्तिको रुचाउनुहुन्छ ?
मोहन कोइराला मलाई मन पर्छन् । पढेको पनि छु । उनका कवितामा विम्बहरूको प्रयोग मलाई चक्लेटी लाग्छन् । तिनले झिल्का उत्पादन गर्छन् । तर, मैले सबभन्दा धेरै पढेको कविताचाहिँ मदन रेग्मीका हुन् ।
कति होला कविताको आयु ?
मलाई लाग्छ नेपाली भाषा बाँचुन्जेल मेरा कविता बाँच्नेछन् । मेरा रचना मजस्तो दुई दिनका पाहुना होइनन् । यसको आयु लामो छ ।
कविता नभएको भए तपाईं कति निराश हुनुहुन्थ्यो होला ?
कविताको अभावमा जति नीरस यो समाज हुन्छ त्यति नै नीरस म पनि हुन्थेँ हुँला † तर यो हाइपोथेटिकल अवस्था मात्रै हो जस्तो लाग्छ ।
तपाईं हृदयले लेख्नुहुन्छ कि दिमागले ?
कुनै पनि कुराले हृदयमा छोएपछि म लेख्छु । जब त्यसले मेरो हृदयलाई छुन्छ थोरै दिमाग लागाउँछु र त्यो विचारलाई शब्दले प्राण भरिदिन्छु । त्यो प्राणमा दिमाग कम र हृदय धेरै भएकै मलाई वेस लाग्छ ।
दुनियाँमा यति धेरै मान्छेले साहित्य लेखिरहेका छन्, तपाईंले नै किन लेख्नुपर्यो ?
म अरूका लागि लेखिरहेको छैन भनेपछि यो दुनियाँको सार अर्ब मान्छेले लेखोस् नलेखोस् मलाई मतलब हुन्न । मतलब मात्रै मैले सोचेअनुसार लेख्न सकेँ कि सकिनँ भन्ने मात्र हुन्छ । एउटा कुरा चैँ के हो भने लेखुन्जुल म आफूलाई सन्तुष्ट पाउँछु तर लेखिसकेपछि फेरि अर्को असन्तुष्टिले म भित्र डेरा जमाइहाल्छ ।
आफैँले देखेको आफ्नो लेखनको कमजोर पक्ष के हो ?
अहिलेसम्म धेरै कविता लेखेकाले कविताकै बारेमा भन्नु उचित होला । मेरा कवितामा अर्थको काव्यिक दूरी (उयभतष्अ मष्कतबलअभ) लामो, निकै लामो हुन्छ । विम्बमार्फत कवितामा त्यस्तो दूरी राखेर कविता लेख्न म मन पराउँछु । त्यो दूरी भनेको पूर्णत: कवितामा प्रयोग हुने एउटा र अर्को विम्बबीचमा लाग्न सक्ने अर्थहरूको दूरी हो । यो केही कल्पनाशीलता र त्यसमा अभ्यास गर्ने बानी पनि हो । तर, मानिस यसलाई ‘क्लिष्ट’ भन्ने गर्छन् । सायद मेरो कमजोरी हो यो । तर, कहिलेकाहीँ मानिसहरूलाई आफ्नै कमजोरी प्यारो हुँदो रै’छ । म आफूलाई त्यही ठाउँमा पाउँछु ।
बलियो पक्ष नि ?
सायद समय । समयको धड्कन कवितामा समात्न खोजेको छु । मेरो पछिल्लो कविता संग्रह ‘साक्षी’ त्यसैको एउटा उदाहरण हो भन्ने मेरो दलिल छ ।
प्रस्तुति: दीपक सापकोटा
प्रतिक्रिया