धेरैले राजनीति पुगेन भन्दै छन्

Rajan-mukarungराजन मुकारुङ कविताबाट आख्यान विधामा लागेका साहित्यकार हुन् । साहित्यको स्तरवृद्धिका लागि पूर्णकालीन लेखक बन्नुपर्ने सोचका आख्यानकार मुकारुङले साथीहरुसँग मिलेर ०५६ सालमा साहित्यिक अभियान ‘सिर्जनशील अराजकता’ थालेका थिए । सिर्जनामा सीमान्तकृत समुदायको आवाज उतार्ने उनी नश्लीय चेतना अर्थात् बोधलाई महत्व दिन्छन् । उपन्यास ‘हेत्छाकुप्पा’बाट आख्यानकारका रुपमा स्थापित उनको हालै दोस्रो उपन्यास ‘दमिनी भीर’ फिनिक्स बुक्सले प्रकाशन गरेको छ । कवितातर्फ ‘सेतो आरोहण’, ‘प्रारम्भ प्रक्षेपण’, ‘जिकिरको गद्दी’ र ‘मिथक माया’ गरी चार संग्रह प्रकाशन गरिसकेका उनले नयाँ कृतिबारे सौर्यसँग यसो भने :
‘दमिनी भीर’लाई कस्तो खालको उपन्यास भन्ने ?
खै कस्तो खालको भन्ने ? यो त विद्वान् पाठक र समीक्षकले पो भन्ने होला हौं । लेखकको तहबाट भन्ने हो भनेचाहिँ सामाजिक भन्नुपर्ला । यतिचाहिँ भन्नैपर्छ, यो परम्परागत ढाँचामा लेखिएको उपन्यासचाहिँ होइन । नायकवाद होइन, चरित्रलाई जोड दिइएको उपन्यास हो–दमिनी भीर ।
उपन्यासका लक्षित पाठक को हुन् ?
कल्ले पढ्ने र कल्ले नपढ्ने भन्ने हुन्छ र ? तपाईंको प्रश्न सायद बजारमा आएका केही ‘एडल्ट’ उपन्यासको प्रसंगमा होला । म त्यता सोच्दिनँ । ‘दमिनी भीर’ संक्रमणकालीन नेपाली समयको आख्यान हो । चित्रण हो । सबै वर्ग, तह, जाति, समुदायले पढ्नैपर्छ भन्छु । अझ संक्रमणकालमा केही भएन, भनेर निरस हुनेले त पढ्नै पर्छ क्यारे । मुलुकलाई नेतृत्व गर्छु भन्नेले त झनै के भन्दै, गर्दैरहेछन् आममान्छेहरू भनेर जान्नै पर्‍यो क्यारे ।
यसलाई नयाँ शैलीको उपन्यास भनिएको छ, के छ र त्यस्तो नयाँपन ?
कल्ले गर्‍यो हौ यस्तो हल्ला ? यो उपन्यास कलाका माध्यमबाट भनिएको आख्यान हो । विषय साना मान्छेहरूका अनन्त दु:खहरूको हो । नयाँ बुनोटमा लेख्ने प्रयत्न मात्रै हो मेरो । पूरै नयाँ भन्ने दुस्साहस म त गर्दिनँ ।
उपन्यासमा किराती मिथक, बिम्ब तथा प्रतीकको ‘भरमार’ प्रयोग छ । यो खस नेपाली साहित्यमा हस्तक्षेप हो या समृद्धिको पहल ?
नेपाली माटोका मौलिक मिथक, बिम्ब र प्रतीकको प्रयोगलाई हस्तक्षेप मानिनु हुँदैन । यसले नेपाली साहित्यलाई नै उँmचो बनाउँछ । र, यो पनि सत्य हो कि मैले गतिलो काम गरेँ भन्ने भ्रम ममा छैन । कोसिस मात्रै हो । ‘सिसिफस’ लेखेर संसारै जितियो, भन्ने डिङ हाँक्ने स्वभाव पनि मेरो छैन । नेपाली साहित्यमा मौलिकता ल्याउन हाम्रै सांस्कृतिक सौन्दर्यको प्रयोग होस् भन्ने ध्येय मात्रै हो मेरो ।
उपन्यासमा नायकजस्तो देखिने ‘नाम्देङ’ लेखकको प्रतिनिधित्व गर्ने चरित्र हो ?
बिल्कुल होइन । नाम्देङ त हाम्रो समय र समाजको साझा प्रतिनिधि हो । तपाईं–हाम्रै भाइछोरा, साथी–संगाती हो ।
यस उपन्यासमा राजनीति हाबी भएजस्तो देखिन्छ ।
राजनीतिक नारा हाबी हुँदा कला पक्ष ओझेलमा पर्दैन र ?
–खै धेरैले त राजनीति पुगेन पो भन्दैछन् । म पनि भन्छु– लेखकले नारा लेख्नुहुँदैन । तर, आख्यानको चरित्रले नारा पनि लगाउँछ । चुप लागेर बस्न पनि सक्छ । त्यो चरित्रले भन्ने हो । यति हो, त्यहाँ कला भने हुनैपर्छ ।
‘पहिचानसहितको संघीयता– जिन्दावाद’ भनेर उपन्यासको टुंग्याउनी गर्नुभएको रहेछ । यो पूरै नारा भएन र भन्या ?
ए कुरो त त्यसो पो ? खै तपाईंलाई कसरी प्रस्टयाऊँ ? मुलुकको वर्तमान राजनीतिको केन्द्र नै पहिचानसहितको संघीयता वरिपरि छ । यो मुद्दालाई त्यतिकै छाडेर यो मुलुक एक इन्च पनि अगाडि जान सक्दैन । ‘दमिनी भीर’का केही चरित्रहरूले पनि आफ्नो समय भनिरहँदा यो नारा लगाएको हो । यसमा अनौठो मान्नुपर्ने के छ र ?
आख्यानमा लेखक हाबी हुने प्रवृत्ति पनि छ नि, के भन्नुहुन्छ ?
–छ, तर यो त्यागिनुपर्छ ।
कविता विधाबाट साहित्यमा लाग्नुभएको सर्जक आख्यानमा लाग्नुभएको छ । आख्यानमा त्यस्तो शक्ति के रहेछ कि कविलाई कविताबाट विस्थापित गराइछाड्ने ?
विस्थापित भन्ने शब्द प्रयोग नगरौँ । यस्तो सोच्नै पनि मूर्खता हो । खासमा, एउटा उपन्यास लेखिसक्नु भनेको हजारौँ कविता भनिसक्नु पनि हो । अझ आख्यान लेख्दा साँध्नुपर्ने धीरता, गनुपर्ने साधना, पात्रहरूसित गर्नुपर्ने संवाद, उठबस अर्थात् उनीहरूसँगै बाँच्नु वा भोग्नुपर्ने जिन्दगी अहो ∕ अर्कै मजा छ नि ।
प्रस्तुति : सचित राई

प्रतिक्रिया