हिलजुत्ता पहिले पुरुषको, अहिले महिलाको

Hil-Juttaअग्लो हिलवाला जुत्ता प्राय: महिलाहरूले मात्र लगाउने गरेको देखिन्छ । तर, तपाईंलाई थाहा छ, हिल जुत्ताको प्रचलन पुरुषहरूले लगाएर सुरु गरेका हुन् । महिलाहरूले लगाउनुअघि पुरुष जिन्दगीको हिस्सा बनेको थियो यस्तो जुत्ता । हिजोआजको आमसोचअनुसार सेक्सी र ग्ल्यामर लुक्सका लागि प्रसिद्ध छ हिलजुत्ता तर कुनै बेला यो बहादुरीको एउटा पाटो मानिन्थ्यो । घोडचढी युद्धका लागि अत्यावश्यकीय महत्त्वको मानिन्थ्यो ।
आजको इरान अर्थात् कुनै बेलाको पर्सियामा घोडचढीहरूले अग्लो हिल भएका जुत्ता लगाउँथे । घोडा चढेर शत्रुलाई निसाना लगाउने क्रममा योद्धाको खुट्टा चिप्लिएर लड्ने डर हुन्थ्यो । त्यसबाट बच्न योद्धाहरू खुट्टाको अग्लो हिललाई टेक्ने ठाउँमा अड्काएर शरीरलाई सन्तुलित बनाउँथे । त्यति बेलाको माहोलै यस्तो थियो कि मानौं हिलजुत्ता पौरुष व्यक्तित्वकै एउटा अभिन्न अंग हो । सन् १५९९ मा जब पर्सियाका शाह अब्बासले युरोपमा आफ्ना राजदूत पठाए, त्यहाँ पनि यस्तै जुत्ताको फेसन सुरु भयो । त्यसपछि रइस खानदानले सानको फेसनका रूपमा यस्ता जुत्ता प्रयोग गर्न थाले । हुन त हिल जुत्ता लगाएर उबडखाबड बाटोमा हिँड्न मिल्दैन न त कुनै काम गर्न सजिलो हुन्छ । सम्भ्रान्त परिवारको भने सबै काम नोकरचाकरले गरिदिने र टाढासम्म हिँडिरहनु नपर्ने भएकाले उनीहरूका लागि यी जुत्ता अव्यावहारिक थिएनन्, बरु सान र प्रतिष्ठाको फेसन थिए । तर, विस्तारै यो फेसनले सर्वसाधारणलाई पनि आकर्षित गर्न थाल्यो । त्यसो त फ्रान्सका इतिहासप्रसिद्ध शासक लुइस चौन्दवे आफ्नो शारीरिक उचाइ अग्लो देखाउन हिलवाला जुत्ता प्रयोग गर्थे । ५ फुट ४ इन्च अग्ला उनी १० इन्च अग्लो हिल लगाउँथे । भलै उनको यो विशेषतालाई मुख्यतया सामरिक महत्त्वसँग जोडर व्याख्या गरिन्छ । उनको हिलमा प्राय: रातो रंग लगाइएको हुन्थ्यो भने जुत्तामा निकै महँगो खाले पालिस दलिएको हुन्थ्यो । राज्यका सबैले त्यसको नक्कल गर्न थालेपछि रातो पोलिसवाला जुत्ताचाहिँ दरबारका मान्छेले मात्र लगाउन पाउने गरी उनले उर्दी जारी गरेका थिए । हिजोआज हिलजुत्ता सजिलै उत्पादन हुने गरे पनि त्यो जमानामा यस्ता जुत्ता बनाउनु कालिगढको विशेष खुबी मानिन्थ्यो ।
विस्तारै महिलाहरूमा पनि पुरुषजस्तो बन्ने चाहना सुरु भयो । यही क्रममा महिलाहरूले पनि हिलवाला जुत्ता लगाउन सुरु गरे । सुरुसुरुमा साहसी र बहादुरीपूर्ण कार्यमा विश्वास राख्ने महिलाहरू यसमा आकर्षित भए । यही दौरान मानवीय सभ्यता युद्धमा भन्दा शिक्षा र अन्य उन्नतिमा विश्वास गर्न थाल्यो । आवागमनमा अव्यावहारिकता महसुस हुन थालेपछि पुरुषहरूले यसलाई फेसनका रूपमा अँगाल्न छाडे । सन् १७४० मा त पुरुष र हिलजुत्ताको सम्बन्ध लगभग टुटेबराबर नै भएको थियो । त्यसको ५० वर्षपछि अग्लो हिलवाला जुत्ता महिलाको खुट्टाबाट पनि गायब भइसकेको थियो ।
उन्नाइसौं शताब्दीको मध्यभागतिरबाट भने हिलवाला जुत्ता फेरि फेसनका रूपमा फर्कियो । यतिबेला आकर्षक फोटोग्राफीमा विश्वास राख्ने महिलाहरूले मात्र यसलाई लगाउन थाले । गायब भइसकेको हिललाई फेसनका रूपमा महिलामाझ फर्काउनेहरू तिनै फोटोग्राफरहरू नै थिए । हिल जुत्ताले महिलालाई उत्तेजक एवम् कामुक देखाउने मान्यता स्थापित भयो फेसन दुनियाँमा । अहिलेको त कुरै गर्नुपरेन, ग्ल्यामरस र सेक्सी देखिन चाहने आममहिलाको मात्रै फेसनजस्तो हुन पुगिसकेको छ यो । कुनै बेला पुरुषले मात्रै लगाउने हिलजुत्ता अहिले कुनै पुरुषले लगाएको देखियो भने मान्छेहरू अचम्म मानेर सोध्छन्– ‘किन केटीको जस्तो जुत्ता लगाएको ?’
(एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया