अस्थिर राजनीतिक मानसिकता

sangita‘भन्ने बेलामा गिरिजाप्रसाद पछिको नेता तैँ होस् भन्ने तर व्यवहारमा छलछाम र ठगी गर्ने यो तपाईंहरूको बेइमानी बाहेक के हो ?

संविधानसभामा जाऔँ बैठक त सुरु गरौँभन्दा महिला सांसद्हरू खुर्सानी लिई बसेका छन्, मार्छन् भन्ने एमालेका नेता हुन् ।’
‘जनता फेरि एकपटक आँधीबेहरी बनेर उठ्नु पर्ने अवस्था आउन सक्छ, हाम्रो टाउकोमा टेकेर अगाडि बढ्नु पर्ने अवस्था आउन सक्छ ।’
उपरोक्त पंक्तिहरू एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्ति हुन् । जुन राष्ट्रिय दैनिक नयाँ पत्रिकामा ८ माघ ०६९ मा प्रकाशित भएका थिए । संविधानसभा विघटनको आन्तरिक र बाह्य कारण के–के थिए ? त्यसबारे संविधानसभामा अभ्यासरत तत्कालीन दलका शीर्ष नेता नै पूर्ण जानकार छन्, अरू होइनन् । तर, संविधानसभाको विघटनको परोक्ष कारण महिला सभासद्लाई जोड्नुको अर्थ के हुन्छ ? यो महिलामाथिको राजनीतिक हिंसा हो कि होइन ? गत २३ माघमा होटल एभरेस्टको सभाकक्षमा तत्कालीन महिला सभासद्हरूको संजालले महिला हिंसाकै विषयमा कार्यक्रमसमेत गरेका थिए । उनीहरूले आफूप्रति जिम्मेवार शीर्ष नेताको सोच र चिन्तन कस्तो थियो ? भन्ने कुराको हेक्का पाए वा पाएनन् जिज्ञासा छ ।
आयुर्वेदले गुलियो, पीरो, नुनिलो, तीतो, टर्रो, अमिलो लगायत ६ रसलाई मानवीय जीवनका लागि आवश्यक ठान्छ । मानवीय स्वास्थ्यका लागि सन्तुलित रूपमा खानुपर्ने मान्यतासमेत राख्छ । भान्सा र खानामा प्रयोग हुने खुर्सानीको महिलासँग मात्र के अन्तरसम्बन्ध छ ? शोध र अनुसन्धानको विषय हुन सक्ला । राजनीतिसँग यसको कुनै साइनो र नाता छ जस्तो लाग्दैन । तर, राजनीतिक क्षेत्रबाट महिलासँग गाँसेर खुर्सानीको कुरा प्रचण्डले मात्र गरेका होइनन् । ०४७ साल वैशाख ६ गते कृष्णप्रसाद भट्टाराईको नेतृत्वमा गठित मन्त्रिमण्डलका गृहमन्त्री योगप्रसाद उपाध्यायलाई भेट्न अष्टलक्ष्मी शाक्यको नेतृत्वमा महिला प्रतिनिधि मण्डल गएको थियो । त्यसबेला मन्त्री उपाध्यायले महिलाहरूको आत्मसुरक्षाका लागि ‘लामालामा नंग पाल्नु र खोर्सानीको धूलो लिएर हिँड्नु’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । उतिबेला यो विषय निक्कै चर्चामा आएको थियो । एक प्रकारले हंगामा नै मच्चियो । त्यसबेला हास्यास्पद र गैरजिम्मेवारी मानिएको उक्त कथनको पुनरोक्ति संविधानसभाको अवसानसँग फेरि आउनु महिलामाथिको एक किसिमको मानसिक हिंसा हो । तर, त्यसबेला जस्तो यो प्रसंग अहिले त्यति चर्चित भए जस्तो लागेन । नत जसले भन्यो भनेर संकेत गरिएको थियो, त्यो पार्टी एमालेबाट यसको खण्डन र समर्थन नै भयो ।
अहिंसाका उपासक महात्मा गान्धी (सन् १८६९–१९४८) ले अहिंसाको अर्थ मन, वचन र कर्मले कसैको हानी नपुर्‍याउनुलाई मानेका छन् । त्यसैले शीर्ष नेताको उक्त सोच र चिन्तनले महिलामाथि एक किसिमको राजनीतिक हिंसा नै गरेको छ । महिलालाई हेर्ने दृष्टिकोण र चिन्तनको सवालमा पाश्चात्य युनानी चिन्तक प्लेटो (इ.पु.४२७–३४७) निक्कै उदार थिए । उनले महिला र पुरुषमा कुनै भेदभाव गरेनन् । सहशीर्षाको मात्र होइन, सैन्य सेवामा समेत महिला प्रवेशलाई खुला गरेका थिए । तर, उनकै सर्वाधिक प्रिय शिष्य अरस्तु (इ.पु.३८४–३२२) ले महिलालाई केटाकेटी, विदेशी र दाससरह ठानेर सार्वजनिक जीवनमा प्रवेशका लागि अमान्य ठहर गरेका थिए । हिन्दूहरूको पूजनीय ‘रामचरित्रमानष’ ‘रामायण’ का रचयिता तुलसी दासले ढोल, मृदङ्, पशु र नारी भन्दै महिलालाई तल्लो कोटिमा राखेका थिए । महिलालाई हेर्ने र बुझ्ने सम्बन्धमा आफैँ दुई पत्नीका धनी अरस्तुले महिलाहरूको ३२ वटा दाँत पनि हुँदैनन् भनेका थिए भनेर ओशो रजनीशले निक्कै तार्किक ढंगले अरस्तुको उक्त कुराको खण्डनसमेत गरेको पाइन्छ । हिन्दू ऋषि मनुले घरमा महिलालाई पूज्य ठाने पनि स्वतन्त्र भने नहुने बताएका छन् । यस्तै सामाजिक चिन्तन, परम्परा र रुढीवादीलाई चुनौती दिँदै २१औँ शताब्दीका महिलाले जे–जस्तो ठाउँमा आफ्नो पहिचान र प्रतिष्ठा आर्जन गर्न सफल भएका छन् यसमा हामी सबैले गौरव गर्न सक्नुपर्छ ।
संविधानसभा अवसानको नैतिक जिम्मेवारी बढी र कम मात्रामा कसको थियो ? त्यसको मूल्यांकन त इतिहासले अवश्य गर्ला । अहिले पक्ष र विपक्षमा आएका विचारहरूको कुनै अर्थ छैन । संविधानसभाले संविधान दिन सकेन विघटन भयो । यति मात्र अहिलेको शाश्वत सत्य हो । नैतिक दायित्व ठूलो दलले लिनुपर्छ । संविधानसभाबाट संविधान जारी गर्ने सभासद् संख्या उनीहरूकै हातमा थियो । राष्ट्रिय शक्तिका स्रोतका रूपमा भूगोल, हावापानी, भौगोलिक विशेषता, स्थान, प्राकृतिक साधन, जनसंख्या, राजनीतिक अवस्थितिलगायत सिद्धान्त, विचार, राष्ट्रिय नैतिकता र नेताहरूको ज्ञानसमेतलाई मानिन्छ । शीर्ष नेतृत्वको अस्थिर मानसिक चिन्तनले राष्ट्रिय शक्तिको वृद्धि र प्रतिष्ठा आर्जन गर्न सक्छ वा सक्दैन ? यसको हेक्का संबद्ध पक्षमा नै हुनुपर्छ ।
संविधानसभा विघटनको सवालमा महिला सभासद्हरूसँग खोर्सानी छ भन्ने अमर्यादित ठट्यौलो र फितलो तर्क अगाडि सार्नसमेत नहिचकिच्याउने शीर्ष नेताको अभिव्यक्तिले नेताहरू संविधान निर्माणको कार्यप्रति सचेत नभएको प्रस्ट्याउँछ । सँगै नेपालमा संविधान सभाको औपचारिक रूपले उठानमा ल्याउने तत्कालीन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको समेत स्मरण गराएको हुनुपर्छ ।
राजा त्रिभुवन सपरिवार ६ नोभेम्बर १९५० मा भारतीय राजदूतावासमा शरण लिँदै १० नोभेम्बरमा दिल्ली गएपछि भारतले तत्कालीन राजनीतिक शक्तिबीच सम्झौता गराउने उद्देश्यले तीन सूत्रीय स्मृतिपत्र तत्कालीन राणा सरकारलाई दिएको थियो । सो स्मृति मान्नका लागि आग्रहसमेत गरेको थियो । जसमा संविधानको मस्यौदाको लागि संविधानसभा निर्वाचन यथाशीघ्र गराउने, संविधान मस्यौदा गर्ने तथा लागू गर्ने समयसम्मको लागि जनप्रतिनिधिसमेत समावेश भएको मन्त्रीमण्डल गठन गर्ने, त्रिभुवनलाई राष्ट्राध्यक्षको रूपमा मान्यता यथावत राखी फिर्ता आगमनसम्मको लागि राजप्रतिनिधि परिषद्को गठन गर्ने थियो । त्यसपछि राजनीतिक शक्तिहरूको द्रुतगतिमा भएको अभ्यास, छलफल, दूतहरूको आदानप्रदान हुँदै अन्तत: यही प्रस्तावमा केही थपी दिल्ली सम्झौता भएको थियो । जसको मध्यस्थता गर्न अहं भूमिका तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले गरेका थिए । त्यसैले लाग्छ अहिले नेहरूको भौतिक उपस्थिति भएको भए संविधानसभा अवसानको कारक तत्त्वमा महिलाहरूसँग खोर्सानी थियो भन्ने कुरालाई कसरी लिन्थे होलान् ? अस्थिर राजनीतिक चिन्तनको मूल्यांकन कसरी कुन रूपमा गर्थे होलान् भन्ने जिज्ञासा मनमा उठेको छ । संविधानसभाद्वारा डा.अम्बेडकर नेतृत्वमा बनेको भारतीय संविधानले ६ दशकभन्दा बढी अवधि बितिसकेको छ । तर, नेपालमा भने यस अवधिमा भारतकै जस्तो ६ वटा संविधान बन्न सक्ने अवस्था टरेको छ । यसको कारण अस्थिर राजनीतिक चिन्तन नै हो भन्न आपत्ति मान्नु पर्दैन । यस चिन्तनले देशलाई कहाँ पुर्‍याउँछ ? हेर्नुको विकल्प पनि हामीसँग छैन ।

प्रतिक्रिया