प्रधानन्यायधीशकै नेतृत्वमा चुनावी सरकारः गाउँले

इलाम, १ फागुन । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउलेले निष्पक्ष निर्वाचन हुने सुनिश्चिता भए प्रधानन्यायधीशकै नेतृत्वमा भएपनि सरकार गठन गर्नुपर्ने बताएका छन् ।
दलहरुबीच प्रधानन्याधीशको नेतृत्वको चुनावी सरकार गठन गर्ने बारे बिवाद जारी रहेकै बेला अध्यक्ष गाउँलेले स्वतन्त्र र निष्पक्ष चुनाव हुने भए प्रधानन्याधीशकै नेतृत्वमा निर्वाचनमा जानुपर्ने बताएका हुन् । इलाममा आज स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले लामो समयसम्म मुलुक कामचलाउ सरकारको भरमा चल्न नसक्ने बताए । उनले ताजा जनादेशमा जानुको विकल्प दलहरुलाई नभएको उल्लेख गरे ।
‘मुलुक निर्वाचनहिन हुनुभन्दा प्रधानन्याधीशकै नेतृत्वमा भएपनि निर्वाचन गरी संविधान निर्माण गर्नु उचित हन्छ’ उनले भने, ‘निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गर्नका लागि राजनीतिक दलको प्रतिवद्धता आउनुपर्छ ।’
अध्यक्ष गाउँलेले पछिल्लो समयमा पत्रकारको हत्यामा संलग्नलाई जोगाउन सरकार आफैं लागेको भन्दै सिंगो प्रेस जगत नै असुरक्षित बन्दै गइरहेको बताए । उनले पत्रकारहरुको सुरक्षित नभए लोकतन्त्र, गणतन्त्र, नागरिक समाज, पेशा, व्यवसायी पनि सुरक्षित हुन नसक्ने बताए ।

प्रतिक्रिया