कञ्चनपुरमा औद्योगिक व्यापार मेला हुने

काठमाडौं, २९ माघ । स्थानीय तथा राष्ट्रिय स्तरका उत्पादित वस्तु तथा सेवाको विस्तार र पहिचान गराउन कञ्चनपुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ ।
फागुन २१ देखि ३० गतेसम्म आयोजना हुने व्यापार मेला तथा पर्यटन महोत्सवले स्थानीय स्तरमा लगानीको अवसर सृजना गर्ने, सूचना प्रविधि सम्बन्धी जानकारी गराउने, कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजी गर्नका लागि मेला आयोजना गर्न लागिएको कञ्चनपुर उद्योग वाणिज्य सघका अध्यक्ष गणेशदत्त जोशीले जानकारी दिए ।
मेलाका बारेमा जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले मेला मार्फत सुदूरपश्चिममा लगानीका सम्भावित क्षेत्रको पहिचान गर्ने र त्यस्ता क्षेत्रमा लगानी गर्न निजी तथा सरकारी निकायको ध्यानाकर्षण गराउने बताए ।
भारतसंगको व्यापारका लागि मुख्य नाका मानिने बनबासा पुल नियमित र निर्वाद रुपमा खुलाउन मेलाका अवसरमा दवाव दिईने आयोजकले जनाएको छ ।
सुदूरपश्चिमाञ्चलका नौ वटै जिल्ला, भारतको उत्तराखण्ड, चम्पावत र उद्यमसिंहनगर जिल्ला तथा उत्तरप्रदेशका विभिन्न ठाँउहरुबाट २ सय भन्दा बढि स्टल मेलामा राखिने छ । मेलाको ३ लाख भन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने विज्ञप्तीमा उल्लेख छ ।
मेलामा करीव ५ करोड भन्दा बढिको आर्थिक कारोवार हुने आयोजकको विश्वास छ ।

प्रतिक्रिया