‘एमालेकी आमा’ गम्भीर अस्वस्थ

Radhaविराटनगर, २६ माघ । ‘एमाले पार्टीकी आमा’ भनेर परिचित ९४ वर्षीया राधा पौडेल गम्भीर अस्वस्थ्य भएकी छन् ।

विराटनगर–१५ जनपथबाट केही समयदेखि कञ्चनबारीमा सरेर बसोबास गर्दै आएकी पौडेलको गत आइतबारदेखि नोबेल मेडिकल कलेज विराटनगरको सघन कक्षमा उपचार भइरहेको छ । दम तथा उच्चरक्तचापबाट पीडित उनी पछिल्लो समय मधुमेहको सिकार भएकी छिन् । वामपन्थी राजनीतिबाट प्रभावित उनलाई एमाले मोरङले पार्टीकी आमाको संज्ञा दिएको थियो ।
ओखलढुंगाको रामपुरमा जन्मिएकी पौडेलले पञ्चायत कालदेखि नै प्रजातान्त्रिक तथा वामपन्थी आन्दोलनमा लागेकालाई संरक्षण दिनुका साथै विभिन्न कालखण्डमा भएका आन्दोलनमा प्रत्यक्ष परोक्ष सहयोग पुर्‍याउँदै आएकी थिइन् । पञ्चायतकालमा राजनीतिक कारणले नै ओखलढुंगा छोड्नुपर्ने वाध्यताले छोरा भवनाथ पौडेलसँगै मोरङको राजघाटमा केही समय बस्नुभएका पौडेल ०४० सालदेखि विराटनगरमा बसोबास गर्दै आएकी थिइन् । विराटनगरमा नेकपा एमालेले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा प्राय: सधैँ सहभागी हुँदै आएकी उनी केही समयदेखि अस्वस्थताका कारण घरमै आराम गर्दै आएकी थिइन् । तीन छोरी र एक छोराका आमा उनले मरणोपरान्त शरीर दानसमेत गरिसकेकी छन् । चिकित्साशास्त्रका विद्यार्थीलाई प्रयोगात्मक अध्ययनमा सहयोग पुगोस् भन्ने ध्येयका साथ उनले नोबेल अस्पताल तथा रिसर्च सेन्टर विराटनगरलाई आफ्नो शरीर दान गरिसकेको छोरा भवनाथले जानकारी दिए ।
करिब दुई वर्षअघि एक समारोह गरी एम्बुलेन्स खर्चसहित शरीर दान गर्ने इच्छापत्रमा सहीछाप गरी उनले अस्पताललाई बुझाएकी थिइन् । पौडेलसँगै उनका भाइ विराटनगर–७ का कृष्णप्रसाद दाहालले पनि मरणोपरान्त शरीर नोबेल अस्पताललाई दान गरेको इच्छापत्र अस्पताललाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया