संसारकै लामो बिरालोको मृत्यु

Cat-longसंसारकै सबैभन्दा लामो बिरालोको मृत्यु भएको छ । अमेरिकाको नेवादा राज्यमा स्टिवी नामक सो बिरालोको क्यान्सरका कारण मृत्यु भएको हो । सन् २०१० मा गिनिज बुकमै रेकर्ड दर्ता गरिएको सो बिरालोको नाकदेखि पुच्छरसम्मको लम्बाइ १ दशमलव २३ मिटर थियो । विगत एक वर्षदेखि क्यान्सरसँग जुध्दै आएको आठ वर्ष उमेरको बिरालो सोमबार घरमै मृत फेला परेको थियो । रेनो सिनियर सेन्टरमा यसको उपचारप्रक्रिया पनि निरन्तर चलिरहेको थियो ।

स्टिवीका मालिक रोबिन हेन्डरिक्सनको भनाइ छ, ‘ऊ नयाँ मानिसहरूबीच घुलमिल हुन मन पराउँथी, यसैकारण उसले थुप्रै मान्छेको मन जितेकी थिई ।’ संसारकै सबैभन्दा लामो पुच्छर हुने बिरालोको रेकर्ड पनि स्टिवीकै नाममा थियो । मंगलबार हजारौं व्यक्तिले फेसबुकमार्फत स्टिवीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । पूरा नाम माइमेनस स्टिवर्ट गिलिगन रहेको सो बिरालोले सन् २०१२ मा पोर्टल्यान्डको ओरेगनमा सम्पन्न ‘अन्तर्राष्ट्रिय क्याट शो’ मा पनि भाग लिएको थियो । आयोजकले शो मा स्टिवीको प्रदर्शन मन बहलाउने खालको रहेको बताए । ०१२ को सुरुआतमा उसलाई लिम्फोसर्कोमा रोग लागेको पत्ता लाग्यो । हेन्डरिक्सनका अनुसार उपचारप्रक्रियाकै क्रममा चिकित्सकहरूले स्टिवीको किड्नीमा ट्युमर पलाएको भेटेका थिए । (एजेन्सी)

प्रतिक्रिया