आर्मी र मध्यमाञ्चल हकी सेमिफाइनलमा

Hockey-10-24वीरगन्ज, २५ माघ । विभागीय टोली नेपाल आर्मी र मध्यमाञ्चल विकास क्षेत्र दोस्रो राष्ट्रिय हकी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । वीरगन्जमा जारी प्रतियोगितामा दुवै टोलीले बुधबार लगातार दोस्रो जित हात पार्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन । आदर्शनगर रंगशालामा बुधबार भएको पहिलो खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चल विकास क्षेत्रलाइ ४–१ ले पराजित गर्‍यो । खेलको पहिलो हाफमा चार वटै गोल गरेको मध्यमाञ्चलले दोस्रो हाफमा एक गोल खाएको थियो । मध्यमाञ्चलका लागि राजेशनाथ अधिकारीले दुई तथा अरविन्दर सिंह र अन्पित पाठकले एकएक गोल गरेका हुन् । पश्चिमाञ्चलका लागि एक मात्र सान्त्वना गोल दोस्रो हाफमा सोम बहादुर थापाले गरे । बुधबारको जितसँगै मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

यसअघि मंगलबार मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ७–० को फराकिलो अन्तरले पराजित गरेको थियो । बुधबार नै भएको अर्को खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ । आर्मीले पूर्वाञ्चल विकास क्षेत्रलाइ ४–० ले पराजित गरेको हो । आर्मीका लागि दीपेन्द्र ऐर, राम शाह, सत्यनारायण चौधरी र शेरबहादुर रोक्काले एक–एक गोल गरेका हुन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । आर्मीले चार वटै गोल खेलको दोस्रो हाफमा गरेको हो । बुधबारको जितसँगै आर्मी पनि सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ । यसअघि मंगलबार आर्मीले सुदूर पश्चिमाञ्चल विकास क्षेत्रलाई
३–० ले हराएको थियो । सेमिफाइनल पुग्ने बाँकी दुई टोलीको बिहीबार टुंगो लाग्नेछ । बिहीबार हुने पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल तथा पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलबीचको विजेता टिम सेमिफाइनलमा प्रवेश गर्नेछन ।
पर्सा जिल्ला हकी संघले आयोजना गरेको दोस्रो राष्ट्रिय हकी प्रतियोगिता २७ माघसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पाँच विकास क्षेत्र र नेपाल आर्मी गरी कुल ६ टिमको सहभागिता छ । प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने टिमले २० हजार रुपियाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट प्रशिक्षकले १५ हजार रुपियाँ पाउनेछन् । उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया