एमाओवादी भ्रष्टाचारमा डूबेको आरोप

nc n maoकाठमाडौं, २४ माघ । विपक्षी दलहरुले एमाओवादीले देशलाई सबै संवैधानिक अंग विहीन बनाएर सत्ता सुनुयोजित रुपमा कब्जा गरी देशलाई आफ्नै हालि मुहालीमा सञ्चालन गर्न लागेको आरोप लगाएका छन् ।
संयुक्त लोकतान्त्रिक आन्दोलन परिचालन समितिले आज संयुक्त विज्ञप्ति जारी गरे जनतालाई आहत पार्ने काममा सत्ताधारी दलहरु लागिरहेको गम्भीर अवस्था विद्यमान रहेको जनाएका छन् ।
‘भ्रष्टाचारको चरम चुलीको मात्र होइन, हिजो कथित जनयुद्धका नाममा नेपाली जनतामाथि भएको हत्या, हिंसा र ज्यादतीका विरुद्ध देशका कुना कुनाबाट आवाज बुलन्द रुपमा उठ्न थालेका छन्,’ विज्ञप्तिमा भनिएको छ,’ ‘यी आवजले न्यायको तिर्खा सबै नेपालीलाई लाग्दै छ भने स्पष्ट बुझन सकिन्छ ।’
सहमतिको सरकारको निर्माण गरी तुरुन्त संविधानसभाको चुनावको निश्चितता नभएसम्म मुलुकले निकाश पाउन नसक्ने उनीहरुले जनाएका छन् ।
त्यसै गरेर विपक्षी दलहरुले माघ–२६ गते खुल्लामञ्चमा हुने विशाल संयुक्त आमसभामा उपस्थितिका लागि सम्पूर्ण मजदूर, किसान, युवा, विद्यार्थी, पेशा व्यवसायी, वुद्धिजीवी, कलाकार, व्यापारीलगायत अनुरोध गरेका छन् ।
विज्ञप्ति जारी गर्नेमा कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), राष्ट्रिय जनशक्ति पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाल सद्भावना पार्टी आनन्दी देवी र चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल रहेका छन् ।

प्रतिक्रिया