“वैशाखमा आफ्नै घरमा सर्छु”

suminaम एसएलसी सिध्याएर ०६२ सालमा काठमाडौं आएँ । त्यही बेलादेखि भाडाको कोठामा बस्दै आएकी हुँ । सुरुमा दाइ र दिदीका साथ बुद्धनगरमा बसेँ, धेरै वर्ष । काठमाडौं आइकन दुई ठाउँमा कोठा सरियो । दुई वर्षअघि दादा अध्ययनको सिलसिलामा विदेश गएपछि हाल दिदी र म बालुवाटारमा बस्दै छौँ । बुद्धनगरको घरमा कोठा थुप्रै रहेको र त्यो पछिल्लोचोटि हामीलाई आवश्यकता नपरेकाले छोडेका हौँ । पाँचवटा कोठा र एउटा किचेन थियो । अहिले बालुवाटारमा तीन कोठा र एक किचेन भएको फ्ल्याटमा बसेका छौँ । अच्चम्मको कुराचाहिँ के भने बुद्धनगरमा बस्दा त्यत्तिका कोठाका जम्मा १० हजार भाडा तिथ्र्यौं । अहिले बसेको ठाउँमा चाहिँ बत्ती–पानी गरेर १४ हजार पुग्छ ।
जे भए नि मैले घरबेटीचाहिँ सबै राम्रै पाएकी छु, पहिले र अहिले पनि । त्यही कारण काठमाडांैमा घरभाडामा बस्दा कहिल्यै पनि दु:खको अनुभव भएको छैन । बुद्धनगरमा चाहिँ पानीको समस्या थियो, त्यहाँबाट सर्नुको एउटा कारण त्यो पनि हो ।
अहिलेचाहिँ मैले एउटा घर पनि किनिसकेकी छु, शंखमूल हाइटमा । तर, त्यो घरमा बसिसकेकी छुइनँ । किनकि त्यो अझै अलिकति बन्न बाँकी छ, फिनिसिङ गर्न अझै ५–७ लाख रुपियाँ लाग्छ । आत्मनिर्भर बन्न सकियोस्, अरू परिवारलाई पनि बसाउन सकियोस् भनेर मैले घर किनेकी हुँ । त्यसअघि पनि घर त हेर्दै आएकी थिएँ, तर यो घरचाहिँ मलाई साह्रै मन पर्‍यो । निकै मेहनत गरेकी छु मैले यो घर जोरजाम गर्न । त्यसो त म पैसाको सदुपयोग गर्छु, अनावश्यक खर्च गर्दिनँ । चलचित्रबाट आएको कमाइ, घरबाट जम्मा भएको पैसा, साथीहरूसँगको सरसापटी र फाइनान्सबाट लोन निकालेर घर किन्ने पैसा जोहो गरेकी हुँ । परिवारबाट जम्मा भएको र चलचित्रबाट कमाएको पैसा मैले पहिल्यदैखि बैंकमा जोगाएर राख्दै आएकी थिएँ । चलचित्र क्षेत्रमा मैले बगाएको पसिनाको प्रतिफल हो यो मेरो ड्रिम होम । नयाँ वर्षको प्रारम्भसँग आगामी वैशाखमा विशेष योजनासाथ सो घरमा सर्ने विचार गरेकी छु । त्यहाँ मेरो पूरै परिवार बस्नेछ । बुबाआमा, दादादिदी सबै जना । आफ्नो मेहनतको आम्दानीलाई राम्रो काममा सदुपयोग गर्न पाएकोमा गर्व पो लाग्दो रहेछ त ।
घर किनिसकेपछि एउटा कुराले चाहिँ निकै सताउन थालेको छ मलाई– बिहेपछि पनि आफ्नै मेहनतले बनाएको घरमा बसिराखुँ कि पतिको घर जाने होला † जे भए नि विवाहपछि त पतिकै घर जानुपरिहाल्यो नि † नत्र त आफ्नै पतिलाई घरज्वाइँ बस्ने नामर्द भन्लान् भन्ने डर † जहाँ पुगे पनि आफ्नो घर अनि त्यहाँ बस्ने आफन्तको माया त कहाँ घट्छ र आखिर ।
दुईतले छ, मैले किनेको यो घर । सबै गरेर नौ कोठा छन् । तर, ती ठूलाठूला छन्, मैले अपेक्षा गरेअनुसारकै । मेहनत गरे पनि सुखले यो घर किन्न सकेजस्तो लाग्छ मलाई आफैँलाई । दु:ख भएजस्तो लाग्दैन । मैले सुखले जोडेको सम्पत्ति हो यो ।
सामान्यतया अरू कलाकार पारिश्रमिक जम्मा गरेर गाडी किन्नेतिर सोच्छन् । चाहेकी भए म पनि गाडी किन्न सक्थेँ होला । तर, मलाई गाडीभन्दा घर मन पर्छ । आवश्यक र महत्त्वपूर्ण पनि त्यही लाग्छ । गाडी सबै कुरा पुगेपछि मात्रै किन्दा पनि हुन्छ । गाँस र कपासपछि मुख्य आवश्यकता त बास नै हो नि † यही सोचले सबैभन्दा पहिले काठमाडौंमा भर पर्दो बासको जोहो किन नगर्ने भनेर घर किनेकी हुँ खासमा भन्दा । यति भएपछि ढुक्कले बिनाटेन्सन आफ्नै घरमा बस्न पनि त पाइने भो नि † (वार्तामा आधारित)

प्रतिक्रिया