माओवादी अब झिँगेदाउबाट प्रधानमन्त्री छानौँ भन्छ

kp olisअहिले सत्ता र प्रतिपक्ष दुवै वार्ता छोडेर आन्दोलनमा छन्, यसलाई कसरी बुझ्ने ? देशमा के भइरहेको छ भनेर बुझ्ने ?
पहिले अहिलेको सत्ता पक्ष के हो भनेर चिन्नु पर्छ । सत्तामा दुईथरी छन् एउटा सत्ताका नेतृत्वदायी अर्का सहयोगी । नेतृत्वमा रहेकाहरू गलत असान्दर्भिक र असफल विचारका संवाहक पात्रहरू हुन् र त्यसका सहयोगीको राजनीति नै छैन । दोस्रो उनीहरूको राष्ट्रव्यापी दृष्टिकोण छैन, कसैको जात होला, कसैको मेरो जिल्ला होला, खोलावारि खोलापारि होला, फलाना खोलादेखि फलाना खोलासम्म भन्ने कुरा होला । त्यो त्यस ठाउँका जनता ढाँट्ने कुरासम्ममात्र हो । जसो गर्दा सरकारमा बस्न पाइन्छ, मन्त्री हुन पाइन्छ, कता लाभ हुन्छ त्यता कुद्ने हो, त्यो राजनीतिक चरित्र होइन । सत्ता सहयोगीको अर्काे किस्ता व्यक्ति पार्टीहरूको छ । त्यो होला र खाउँला भनेर कुदिराखेको छ । अब यो सत्तापक्षबाट राम्रो कुराको अपेक्षा गर्नु नै बेकार छ । असामयिक, असफल गलत विचारको प्रतिनिधित्व गर्ने उग्रवामपन्थीले सत्ताको नेतृत्व गरेको र राजनीति नभएको स्वार्थी तत्वले समर्थन गरेको सत्तापक्षले जनता झुक्याउन गरेको कुरालाई तपार्इं आन्दोलन भन्नुहुन्छ भने म यसमा के टिप्पणी गरौं ? यिनीहरू देशका समस्या हुन् समस्या खडा गरिरहन्छन् । हामी लोकतान्त्रिक निकासका लागि आन्दोलनमा छौँ ।
सत्ता पक्ष समस्या हो भने समस्याको स्रोत पनि होला, समाधान पनि त होला नि ? त्यो के हो ?
अहिलेको परिस्थ्तििको सिर्जनाको स्रोत संस्थागत रूपमा माओवादी पार्टी हो र समस्याको सुरुआत समयको हिसाबले भन्नुहुन्छ भने ५२ साल फागुनबाटै सुरु भयो । जनयुद्ध नामको हिंसाबाट उसैले सुरुआत गरेको हो । कम्युनिस्टहरू सरकारमा गएर लोकप्रिय काम गर्न सक्छन् भन्ने पुष्टि भएपछि मान्ने काट्ने मार्ने काम गरेर वितन्डा सुरु गर्‍यो । त्यो कति अवसरवादी थियो भन्ने कुरा आज आएर हेर्नुहोस् त कतै इमान्दारिता भएन न आन्तरिक राजनीतिक प्रश्नमा न अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नमा । विस्तारवाद विरुद्धको लडाइँका लागि ट्रेन्च खने । त्यो जनतालाई देखाउन खनिएको थियो तर भित्र भित्रै तिमीहरूको स्वार्थमा दायाँबायाँ गर्दिन भनेर तमसुक गरिएको रहेछ । मैले त्यसबेलै भनेर तपाईंहरूले प्रकाशन गरेका कुराहरू पल्टाएर हेर्नुहोस् । मैले भनेको थिएँ यो नक्कली राष्ट्रवाद हो । नयाँ जनवादी क्रान्तिका लागि भनेर सुरु गरिएको वितन्डाले अहिले हेर्नुहोस् कसरी टावर ठड्यायो । त्यसमा प्रयोग गरिएका युवाहरूको जीवन कस्तो बिचल्ली बनाइयो । अहिलेसम्म त्यसको सबै आवरण गइसक्यो । त्यसकारण यो सत्तापक्ष समस्या हो भन्ने कुरा बुझ्नुपर्‍यो । यो कुरै नबुझेपछि समाधान के हो भन्नेमा पुग्न सकिँदैन ।
उनीहरूका पनि कुरा त छन् नि, तपाईंहरूले अग्रगमन स्वीकार गर्न सक्नु भएन अनि जनतालाई जागृत गर्नुपर्‍यो नि परेन ?
सत्तामा बसेर आन्दोलन ? कसका विरुद्ध ? आफै सरकारमा बसेर सरकारसँग के माग ? के विषयमा आन्दोलन ?
तपाईंहरू संघीयता विरोधी हुनुभयो, पहिचानसहितको संघीयता सुनिश्चित गर्न र तपाईंहरूलाई ठीक ठाउँमा ल्याउन जनजागरण आन्दोलन रे नि त ?
कठैबरी † यो कस्तो भने केटाकेटीहरूले भात पकाइ खेल्छन्, बाँड्छन्, पस्किन्छन्, खाएझैँ गरी हेर्छन् । ठूला मान्छेहरूले गरेको देखेपछि भाँडाकुटी खेल्दा केटाकेटीहरूले त्यसो गर्छन् । यिनीहरूले संघीयता, राज्यको पुन:संरचना लोकतन्त्र, जनताका अधिकार, मानवअधिकार, जीउधनको सुरक्षा मानवीय संवेदना मानवीय महत्ता, मानवीय गरिमा देशको विकाश भन्नु, यिनका मुखबाट त्यस्तो शब्द निस्कनु † आफैँ त राम्रा शब्दहरू जहाँबाट निस्कनु पनि राम्रो हो तर, यिनीहरूका मुखबाट सुहाएन के ? जसले यति निर्ममता अपनाउँछ त्यसले मानवीय कुरा गर्नु ? के हो संघीयता भनेको राज्यमा जनताको पहुँच पुर्‍याउने हक हो कि होइन ? संघीयता भनेको राज्यबाट जनताले पाउने सेवा सुविधा सहुलियत, सुरक्षा, सम्मानको प्रत्याभूति हो कि होइन ? शिक्षा स्वास्थ्यका अवसर सुलभ ढंगले पाउनु हो कि होइन ? उनीहरूले पाएको राजनीतिक अधिकार प्रयोगको सुनिश्चत वातावरण हो कि होइन ? त्यो केही पनि थाहा छैन, छुट्टिन पाउने, देशद्रोही अधिकारसहित एकल जातीय आत्मनिर्णयको अधिकारसहितको स्वायत्तता भनेको के यो संघीयता हो ? यसलाई संघीयता भन्छन् ?
के हो त संघीयता ?
पहिले थाहा पाउनुपर्‍यो नि के हो संघीयता, संघ केलाई भन्छ, कसरी बन्छ ? एकल जातीय स्वात्तता भनेको संघीयता हुन्छ ? संघीय शासन र एकल जातीय स्वायत्तता मिल्छ ? जातको राज्य र संघीयता मिल्ने कुरा हुन् ? संघीयता भनेको सामूहिकता हो । एकलजातीय राज्य भनेको सामूहिकता होइन एउटा जात विशेषको राज्य हो । शब्दको अर्थ थाहा छैन, गर्न खोजेको थाहा छैन पुग्न खोजेको ठाउँ थाहा छैन, अर्थ मर्म केही थाहा छैन । हाम्रो समूह तर, मेरो एक्लै के भनेको यस्तो ? एक्लो र समूह कसरी मिल्छ ? एकलजातीय राज्य र संघीयता, एक्लै जातिको स्वामित्व र संघीयता यो कुरै नबुझी के हामी संघीयता विरोधी ? त्यो होइन हामी संघीयताका पक्षधर हौँ । एकैको स्वायत्तताको पक्षमा रहेका उनीहरू संघीयता विरोधी हुन् । संघीयतामा अनेक जाति, भाषा, धर्म, संस्कृतिमा बसेका मान्छेहरू हुन्छन् त्यो एउटा प्रदेश भयो, अनि ती सबै मिलेर संघ बन्छ । विविधतालाई स्वीकारेर बहुलता र विविधताको सहअस्तित्व त्यो मात्रै संघ हुन्छ ।
अग्रगमनको पक्षमा तपाईंहरू नभइदिएर यथास्थितिमै रमाउन खोजेर पो समस्या आयो भन्छ त माओवादीले के हो कुरा ?
अग्रगमन भनेको के हो ? उनीहरूको र हाम्रो अग्रगमन फरक छ । हामी मान्छेले आफ्नो देशको राजनीतिक प्रणाली लोकतान्त्रिक होस्, जनपक्षीय होस्, नागरिकहरू उत्पादन कार्यमा लाग्न पाऊन्, प्रगति गर्न पाउन्, भन्छौँ । त्यसको बल प्रयोग होइन चेतना प्रयोग होस् भन्ने चाहन्छौँ । उनीहरूले यसलाई मानेनन् । अचानोमा राखेर मान्छेका खुट्टा ठुन्क्याउन पाउनु, करंङ् खुस्काउन पाउनु, ढाड भाँच्न पाउनु, जिउँदै मान्छे गाड्न पाउनु अनि त्यसको विरुद्ध कसैलाई कानुनले नछुनुलाई अग्रगमन भन्छन् । हामी त्यसलाई अग्रगमन भन्न सक्दैनौँ त्यो त मध्ययुग गमन हो । पार्टीको ठूलो ओहोदामा बस्यो टावर ठड्यायो, तल बस्यो रुँदै जिन्दगी बितायो, यो अग्रगमन हो ? हामी यसलाई अग्रगमन मान्दैनौँ । हामी सामाजिक न्यायको राजनीतिलाई आग्रगमन मान्छौँ ।
अहिले त वार्ता पनि भइरहेको छैन, चार वर्षमा संविधान नबनेर संविधानसभा पनि सकियो, त्यसपछिको ७ महिना पनि त्यसै व्यतीत भयो र प्रधानमन्त्री चयन हुन पनि सकेको छैन, तपाईंहरू आन्दोलनमा सत्तापक्ष जागरणमा निकास के हो त अब ?
यो समय खेर त जानु नै थियो । यसमा एमाले कांग्रेसको गम्भीर कमी रह्यो । माओवादी जे हो एमाले र कांग्रेसको नेतृत्वले त्यसलाई त्यही बुझेन । ६२/६३ को आन्दोलनपछि माओवादीलाई खुसी पार्न माओवादीले जे भन्यो त्यही हो भन्यो । हिंसावादी माओवादीले शान्तिपूर्ण आन्दोलन गर्‍योभन्दा पनि बेकार किन रिसाइदिने भनेर चुप लाग्यो । हो भन्दिए हुन्छ, भन्दिउँ न, भैगो भनियो । जनयुद्ध भनेर वितन्डा खडा गर्‍यो जनयुद्ध बहुत राम्रो भने पनि हामी त्यसको श्रेय लिँदैनाँै, हामीले गरेको होइन हामीलाई श्रेय चाहिँदैन । जनआन्दोलन माओवादीको न विश्वास हो न माओवादीले गरेको हो, त्यो हामीले गरेको हो । श्रेय लिन खोज्नेलाई लाज लाग्नुपर्ने हो । ल, माओवादीले हिंसा गर्नु गलत गरिएछ भनोस् झूठा भए पनि सही, श्रेय दिउँला । ल, ल भैगो किनकि हिंसा त छोड्यो नि भन्ने कुरा हुन्थ्यो । तर, विश्वास हिंसामा, हिंसाबाट मात्रै हुन सक्छ भन्ने । एमाले कांग्रेसले माओवादीका धूर्ततालाई बुझेनन् फुस्लिए ।
तपाईं पनि त हुनुहुन्थ्यो नि ?
म थिएँ, छँदैछु नि । व्यक्तिगत तवरमा को फुस्लियो को फुस्लिएन बेग्लै कुरा हो तर, एमाले कांग्रेस फुस्लिएकै हुन् ।
तपाइंले फुस्लिँदै गरेको कुरा सूचना किन दिनुभएन ?
मैले त्यो भनिरहँनै पर्दैन, के भनेँ के भनिनँ दुनियाँलाई थाहा छ । हतियारको व्यवस्थापन मात्रै होइन, हिंसा र हतियारको स्रोत हिंसाको नीति व्यवस्थापनमा ध्यान नदिइकन त्यसका बाइप्रोडक्टका रूपमा आएका हतियार र लडाकु व्यवस्थापनमा मात्रै ध्यान दिँदा नीति कायम रहेपछि यस्तो भयो ।
अब त नीति चेन्ज हुँदैछ भन्ने छ त महाधिवेशनबाटै नयाँ जनवाद पनि छोड्ने कुरा हुँदैछ रे त ?
राइटिस्ट लाइनमा गएर पतन हुनेको हुने नै यस्तै हो । राजनीति त छैन नि बिचराहरूसँग । नयाँ जनवाद भनेको के ? त्यसलाई छोडेर पुरानो जनवादलाई हामी पोलिटिकल डेमोक्र्यासी भन्छौँ जसमा आर्थिक र सामाजिक न्यायको कुरा भर पर्दाे हुँदैन । नयाँ जनवाद छोडेर जनताको बहुदलीय जनवादमा आएको भए पनि ठीकै भो भन्न सकिन्थ्यो त्यो भनेन । नयाँ जनवाद छोडेर पुरानो जनवादतिर गयो यो राइटिस्ट लाइनमा गएर भएको पतन हो ।
तपाईंहरू त माओवादीलाई रूपान्तरण गर्ने भन्दै हुनुहुन्थ्यो तर, ऊ रूपान्तरण हुँदा पनि किन चित्त बुझाउनु हुँदैन ?
हामीले चाहेको दक्षिणपन्थी रूपान्तरण होइन नि ।
कस्तो रूपान्तरण हो त ? सैद्धान्तिक हिसाबले कुन ठाउँमा छ माओवादी ?
माओवादी उग्रवामपन्थी सपनाहरूको आकाशबाट खसेको छ । लोकतान्त्रिक जमीनमा पनि आएको छैन, बल्ड्याङ खाएर राइटिस्ट जमीनमा पुग्ने हो कि भन्ने छ । ऊ माथिबाट झर्‍यो हामी लोकतान्त्रिक जमीनमा ल्याउन यता लड्काइरहेका छौँ, तानिरहेका छौँ । हेरौं कता पछारिन्छ ।
कुरा त्यसो होइन बरु एमाले पो उग्रवापपन्थी र यथास्थितिवादीको बीचमा परेर अस्तित्व गुमाउँदै छ भन्छन् त धेरैले ?
एमाले बीचमै त रहने हो नि । न हामी दक्षिणपन्थी यथास्थितिवादी हुन सक्छौँ न उग्रवामपन्थी । हामी बीचमै रहने हो । दक्षिणपन्थी र उग्रवामपन्थीलाई पनि बीचमै ल्याउन प्रयास गर्ने हो एमालेले ।
तर, बीचमा बस्दा बस्दै तपाईंहरू यस्तो भइसक्नुभयो कि एमालेको कुरा कसैले सुन्दैन । कि उग्रवामपन्थी आवाजले कि दक्षिणपन्थी चालतिर मान्छेको ध्यान छ कसले सुन्छ एमालेलाई ?
दशजना भद्र भलादमी बसेर गहन चिन्तन गरेका ठाउँमा बच्चा आएर प्याँ गरेर रोयो, ध्यान त्यसले त्यतैतिर तान्छ । हुल्याहा आएर होहल्ला गरे भने सबैको ध्यान त्यतैतिर तानिन्छ । तर, के अब गहन चिन्तन गलत थियो त्यो बच्चा प्याँ गरेर रोएकै राम्रो हुल्याहाबाजी नै राम्रो थियो भन्ने ? जसले ध्यान तान्छ त्यो राम्रो होइन । एकछिन प्रभावकारी नलाग्न सक्ला असल हुनु र ध्यान तान्नु बेग्लै कुरा हो । हामीले धेरैको ध्यान तान्न चन्द्रमा टिपेर खल्तीमा हाल्दिउँला भनेर गरिबहरूलाई मर्न बाध्य बनाएनौँ अवसर पाएका बेला एमालेको नौ महिने सरकार हेर्नुस् जनपक्षीय काम गरेर देखायौँ । जातैपिच्छे राज्य दिउँला भनेर धेरैको ध्यान तान्ने क्षणिक काममा हामी छैनौँ । सही कुरा गरेर समृद्धिको बाटो हिंड्ने प्रयास गर्ने कि एकछिन् भीड बटुल्ने काम गरेर देशलाई बर्बादीको खाडलमा धकेल्ने ?
तपाईंले जे भने पनि माओवादीले पहिल्यैदेखि जनताको आफूतिर ध्यान तानेर सफल भएकै छ नि त ?
के सफल भएको देख्नु भयो तपाईंले ? माओवादीको त भेट्नैसम्म कुहिइसक्यो । के ल्याउन भनेर जनयुद्ध नामको वितन्डा मच्चाएको ? के ल्याएर देखाए ? अनि केलाई नयाँ नेपाल भनी झुक्याउँदैछन् ? देख्नु भएको छैन ? ५२ सालदेखि आजसम्म के भयो त्यो ऐना हेरेजस्तै सबै देखिन्छ ।
निकासका रूपमा नयाँ सरकार कहिले बन्ला त अब ?
अब धेरै समय यो तमासा चल्दैन केही समयभित्र निकास निस्कन्छ निकालनुपर्छ ।
निकास निकाल्ने भनेर पहिले पनि सुशील कोइरालाका नाममा सहमति भयो भन्थे, कुरा फेरियो अब पनि त्यस्तै त होला नि ?
कस्तो अनौठो मान्नुहुन्छ तपाईं ? हामीले कुरा फेरेको हो र ? माओवादीले कुरा फेर्नु, भएको सहमति नमान्नु कुन अनौठो कुरा भयो ? माओवादी कुरा फेरिरहन्छ भन्ने कुरा संसारले बुझेको छ तपाईंले किन नबुझेको ?
अब स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार भन्ने प्रस्ताव रैछ हैन त ? तपाईंहरू मान्नुहुन्छ ?
को छ स्वतन्त्र ? यो केटाकेटीले भिँmगेदाउ खेलेजस्तो कुरा हो । हेर्दै जानुहोस् अब माओवादीले केही कुरा नपाएपछि अल्मल्याउन कसको ढ्याकमा झिँगा आएर बस्छ त्यही प्रधानमन्त्री भन्न सक्छ । दुई पैसाको सिक्का ल्याएर गाई कि त्रिशूल खेलौं भन्न सक्छ । के बाराम्बार यस्तै खेल्ने खेलौना हो देश ?
अब सरकार कसको नेतृत्वमा त ?
एमाले कांग्रेसलगायत लोकतान्त्रिक राजनीतिक दलको नेतृत्वमा ।
त्यसमा तपाईंहरूको प्राथमिकता कांग्रेसको नेतृत्वमा बनाउँ भन्ने छ, होइन त ?
प्राथमिकता होइन, सहजताका लागि भनेका हौँ ।
प्राथमिकता के हो त ?
प्राथमिकता लोकतान्त्रिक, चुनाव गराउन सक्ने सामथ्र्य भएको ।
एमालेले पायो भने सक्छ त ?
किन तपाईंलाई सक्दैन जस्तो लाग्छ ? एमालेले सक्छ ।
एमालेले पायो भने त तपाईंको पालो भन्ने छ हैन त ?
निर्णय त्यस्तो केही भएको छैन । धेरैले आफैँले बुझेर भनेका हुन सक्छन् आ–आफ्नै बुझाइका कुरा होलान् ।
पार्टीले निर्णय गर्‍यो भने ?
तपाईं पनि यतिबेला आएर यस्तो प्रश्न ? पार्टीले निर्णय गर्‍यो भने अरूले पनि आवश्यकता महसुस गरे भने हुन्छ । म १४ वर्ष लगातार राज्यको कैदी पनि भएको छु र मन्त्री पनि भएको छु । कैदी र मन्त्री एउटै उद्देश्यका लागि भएको हुँ । अर्काे कुनै भूमिकामा पार्टीले अगाडि सार्छ भने कार्यकर्ताका रूपमा त्यसलाई पनि मान्छु ।
धेरै कठिन अवस्था छ त, सक्नुहुन्छ संहाल्न ?
अरू बेला भए त संहाल्ने भन्ने शब्द नै प्रयोग हुँदैन । कठिन भएरै सम्हाल्ने कुरा हुन्छ ।
धेरै असफल भइसकेका छन् नि ?
धेरै असफल हुन्छन् सबै असफल हुँदैनन् ।

प्रस्तुति : रामशरण बजगाईं

प्रतिक्रिया