आफूले लेखेको समाचार तीनचोटि पढ्थेँ

Yasoda-Timalsinaसोह्र वर्षपहिले एउटा सन्ध्याकालीन पत्रिकाबाट सुरु भयो मेरो रिपोर्टिङ यात्रा । उपत्यकामा खाना पकाउने ग्यासको समस्यासम्बन्धी थिया, त्यो रिपोर्ट । । राजधानीका जनता ग्यास अभावको मारले पिरोलिएका थिए । जनतामा हाहाकार थियो । सोहीबारेमा समाचार लेखेकी थिएँ ।
पहिलो समाचारमै बाइलाइन छापिएको थियो । सायद सान्दर्भिक समस्यालाई ठीक समयमा उठान गरेर लेखेकाले होला । पत्रिकामा आफ्नो नाम छापिँदा दंग परेकी थिएँ, केके न गरेजस्तै । अहिले पनि सम्झन्छु त्यो क्षण । सबैभन्दा जान्ने पत्रकारै आफू भइएछ कि जस्तो लाग्ने । एक ठाउँ बस्दा तीनपटक पढ्थेँ, त्यो समाचार । त्यसको दुई–तीन वर्षपछिसम्म पनि आफू ठूलै पत्रकार भएजस्तो लाग्थ्यो । तर, जब गहिरिएर यो क्षेत्रमा भिज्न थालेँ, यथार्थबोध भइहाल्यो । पत्रकारिताको आयतन त आफूसँग रहेको ज्ञानको तुलनामा निकै विस्तृत पो रहेछ । त्यसपछि जति वर्ष बित्दै गए, उतिउति लाग्न थाल्यो– के नै पो जनिएको रहेछ र, जान्न बाँकी कुरा अझै थुप्रै रहेछन् † साँच्चै जति सिके र बुझे पनि नपुग्ने पेसा हो पत्रकारिता ।
यथार्थ लेख्नु धर्म हो, पत्रकारिताको । यसर्थ समाचार सधैँ पात्रको पक्षमा हुँदैन । यस्तो अवस्थामा हप्की–धम्की खानु सामान्यजस्तै भएको छ । एकपटक गजेन्द्रनारायण सिंह मन्त्री थिए । अहिले त उनको निधन भइसक्यो । पदको दुरुपयोग गर्दै जेल सजाय भोग्दै गरेका एक कैदीको कैद मिनाह गराउन सफल भएका थिए, उनी । सिंहको पहलमा मन्त्रिपरिषद्ले सो निर्णय गरेछ । त्यसबारेको यथार्थ बुझेर समाचार बनाउन सम्पादकको आग्रहमा म मन्त्री क्वार्टर पुगेँ । गज्जुबाबु त यति आक्रोशित भए नि, मलाई पिटौंला जस्तै पो गर्न थाले । धम्क्याए, ‘हामीलाई मधेसी भनेर हेप्ने, पत्रकार भन्दैमा जे पायो त्यही लेख्ने †’ तीनपटक हात उज्याए, धन्न पिट्न भने पिटेनन् ।
सिन्धुपाल्चोकको इचोक गाउँ चेलीबेटी बेचबिखनका लागि कुख्यात थियो । मलाई त्यहाँको स्थलगत रिपोर्टिङ गरेर समाचार बनाउन मन लाग्यो । स्थानीय महिलाका साथमा मेलम्चीबाट एकदिन पैदल हिँडेर साँझ त्यहाँ पुगेँ । तर, बेलुकी कसैले बास दिन मानेन । चेलीबेटी बेचबिखनविरुद्ध लाग्नेलाई राम्रो नजरले हेरिँदो रहेनछ त्यो समाजमा । छोरी–चेली बेच्न नपाएकोमा पो आक्रोशित हुँदा रहेछन् अभिभावक । मलाई उनीहरूले बेचबिखनविरुद्ध काम गर्ने गैरसरकारी संस्थाको मान्छे ठानेछन्, त्यसैले बासै दिन मानेनन् । बल्लबल्ल एक घरमा बस्न पाइयो । भुटेको मकै खाएर सुकुलमा सुतियो । त्यहाँका घरघरमा हिन्दी चलचित्रका नायकनायिकाका ठूल्ठूला तस्बिर टाँसिएका देखिन्थे । मलाई अचम्म लाग्यो त्यहाँका ती दृश्यले ।
राजा ज्ञानेन्द्रले शासनसत्ता हात लिएपछि मुलुकमा प्रजातन्त्र खोसिएको थियो । प्रधानमन्त्री नहुँदा प्रधानमन्त्रीनिवास बालुवाटार खण्डहरजस्तो बनेको थियो । रित्तो प्रधानमन्त्रीनिवासको फिचर लेख्न मन लाग्यो । गएँ । तर, धेरै प्रयास गर्दा पनि त्यो काम गर्न पाइनँ । सुरक्षाकर्मीले रोके । जति गरे पनि अनुमति नपाएपछि अन्तिममा थाकेर छोडेँ । त्यो संघर्षबारे मात्रै लेख्दा पनि थुप्रै पाना भरिएलान् । रित्तो प्रमनिवासबारे लेख्ने मेरो चाहना त्यसै बिलाएर गयो ।
टाउको जोडिएर जन्मिएका जुम्ल्याहा गंगाजमुनाको सिंगापुरमा सफलतापूर्वक शल्यक्रिया भएपछि त्यसैसँग जोडिएर अनेकौं समाचार आए । उनीहरूकी आमा पनि सिंगापुर गएकी थिइन् । छोरीहरूको उपचारका बहानामा आमा उतै बस्ने भइन् भन्ने आशयका समाचार यहाँ छापिएका थिए । यी समाचारले उनी निकै आक्रोशित भएकी रहिछन् । नेपाल आइसकेपछि एयरपोर्टमा पत्रकारसँग निकै पड्किइन्, उनी । त्यस्तै समाचार मैले पनि लेखेकी थिएँ । उनले भनिन्, ‘तपाईं आमा हुनुभएको भए थाहा पाउनुहुन्थ्यो, आमाका समस्या केके हुन्छन् भनेर †’ जन्मजात जोखिममा परेका छोरीहरूको स्वास्थ्यकै लागि सिंगापुर बस्न चाहेकी रहिछन्, उनले । यथार्थ थाहा पाएपछि खल्लो लाग्यो– त्यसो नलेखेको भए हुने रहेछ † कहिलेकाहीँ गलत स्रोतका कारण यस्तो भइदिन्छ । यस्तै भइदिएको थियो त्यसबेला पनि ।
मेरो बुझाइमा पत्रकारिता महासागर हो, जति ठूलो भाँडो लिएर गए पनि भरी पानी लिएर आउन सकिने । पत्रकारितालाई निखार्ने अध्ययनले हो । जति अध्ययन गर्‍यो उति खारिँदै जाने । अरूलाई पढाउन पहिले आफू पढ्न जरुरी छ । आफूले जति पढ्यो, पाठकलाई उति बढी ज्ञान बाँड्न सकिन्छ ।
डेढ दशक लामो पत्रकारितायात्रामा चाहेर पनि थुप्रै विषय लेख्न पाएको छैन । लेखेका सबै छापिन्छ भन्ने पनि हुँदैन । यो सामान्य हो । अरूभन्दा सामाजिक विषयमा लेख्दा धेरै आनन्द लाग्छ मलाई । आफूले लेखेको कुराले अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सके केही गर्न सकिएजस्तो लाग्छ । (वार्तामा आधारित)

प्रतिक्रिया