बूढीगण्डकीको परामर्शदाता कार्यालय राजधानीमा

काठमाडौं, २१ माघ । राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको ६ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना परामर्शदाताले काठमाडांैमा कार्यालय खोलेको छ । बूढीगण्डकी आयोजनाको विस्तृत प्रतिवेदन (डिपिआर) का लागि नेपाल विद्युत् प्राधिकरणले छनोट गरेको परामर्शदाता ट्राकबेल इन्जिनियरिङ फ्रान्सले आफ्नो कार्यालय काठमाडांैस्थित थापाथलीमा खोलेको हो ।

आयोजनाका अनुसार परामर्शदाताले पेरिसको आफ्नो केन्द्रीय कार्यालयमा बूढीगण्डकीको छुट्टै युनिट खोल्नुका साथै आयोजनास्थल धादिङ र गोर्खा जिल्लाको दोसाँधमा समेत साइट अफिस खोल्न लागेको छ । डिपिआर सुरु गर्ने उद्देश्यसका साथ परामर्शदाताको टोली फेब्रुअरीको दोस्रो साता नेपाल आउन लागेको आयोजनाका निर्देशक लीलानाथ भट्टराईले जानकारी दिए ।
प्राधिकरण र परामर्शदाताबीच भएको परामर्श सेवा खरिद बिक्रीसम्बन्धी सम्झौतापत्र अनुसार गत जनवरी १५ गतेदेखि डिपिआर निर्माण सुरु हुनुपर्ने भए पनि परामर्शदाताले बैंक ग्यारेन्टी नल्याएकाले अग्रिम भुक्तानी दिन प्राधिकरणले सकेको छैन भने विगतमा अर्थ मन्त्रालयले अग्रिम भुक्तानीबापत दिनुपर्ने १२ करोड ढिलाइ गरेपछि परामर्शदातालाई पत्र लेख्न पनि ढिलाइ भएको छ । आयोजनाले छिट्टै अग्रिम भुक्तानी दिएर डिपिआर सुरु गर्ने जनाएको छ ।
सम्झौतापत्रमा जुलाई ०१५ भित्र अर्थात् ३० महिनाभित्र डिपिआर सम्पन्न गर्ने उल्लेख भए पनि समयमै सुरु नहुँदा आयोजनाको कार्यतालिका प्रभावित भइसकेको छ । आयोजनाको परामर्शदाता छनोटका लागि मात्र झन्डै १५ महिना लागेको थियो ।
परामर्शदातासँग भएको सम्झौताअनुसार आयोजनाको स्थलगत अन्वेषण सम्पन्न गरी सम्भाव्यता अध्ययन, वातावरणीय असर मूल्यांकन, सामाजिक अध्ययन र पुन:स्थापनको कार्य योजना र विस्तृत इन्जिनियरिङ डिजाइनसहित पूर्ण टेन्डर डकुमेन्ट तयार हुनेछ । जलाशययुक्त आयोजनाको अभावमा लोडसेडिङको समस्या बढिरहेको बेला काठमाडौंबाट ६० किलोमिटर नजिक पर्दछ यो आयोजना । करिब एक खर्बको लागतमा निर्माण हुने उक्त आयोजना सन् ०२० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया