राहतका शिक्षक आन्दोलित

महोत्तरी : राहत शिक्षकको अनिश्चितकालीन तालाबन्दीले जिल्ला शिक्षा कार्यालय महोत्तरीको दैनिक कार्य अस्तव्यस्त भएको छ ।
शिक्षक सेवा आयोगको विज्ञापनमा आफूहरूलाई उमेरको हद नलाग्ने व्यवस्थासहितको ४७ सूत्रीय माग गर्दै राहत शिक्षकले आइतबारदेखि गरेका तालाबन्दीले कार्यालयको काम अस्तव्यस्त भएको हो ।
राहत शिक्षकको तालाबन्दीले कार्यालयको दैनिक कामकाज ठप्प हुँदा आयोगको फाराम लिने र बुझाउनेलाई सबैभन्दा बढी मर्का परेको छ । शिक्षक भर्नाका लागि भएको विज्ञापनअनुसार २५ माघसम्म आवेदन फाराम कार्यालयमा बुझाइसक्नुपर्ने सूचना भए पनि इच्छुकले आवेदन फाराम लिन र बुझाउन पाएका छैनन् । आइतबार नै फाराम लिन कार्यालय आएकी भङ्गाहा–४ की सम्झना फुँयालले तालाबन्दीका कारण फाराम लिन नपाएको बताइन् ।
चार दिनदेखि कार्यालयको कामकाज ठप्प हुँदा प्रशासन समस्याप्रति उदासीन रहेको काम अल्झेर बसेका सेवाग्राहीको आरोप छ । उमेरको हद अन्त्य गर्ने, १० महिना शिक्षण तालिम लिएकाले आयोग दिन पाउने र स्थायी अध्यापन अनुमति लिई कार्यरत रहेका तालिम अप्राप्त शिक्षकसमेतले अयोगमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था नभएसम्म आन्दोलन जारी रहने समितिका अध्यक्ष महेशप्रसाद यादवले बताए । यसअघि सरकारसँग विगतमा भएको ४७ बुँदे सहमति हरहालतमा लागू हुनुपर्ने समितिको अडान रहेको छ ।
राहत शिक्षकका मागबारे आफूहरूले केही गर्न नसकिने शिक्षा कार्यालयले जनाएको छ । आयोगको केन्द्रीय सूचनाका आधारमा उसैले निर्धारण गरेको योग्यता र अन्य प्रक्रियासहितको विज्ञापनमा जिशिकाले केही गर्न नसकिने स्थिति स्पष्ट रहेको शिक्षा अधिकारी कृष्णप्रसाद
पोखरेलको भनाइ छ ।

प्रतिक्रिया