“उज्यालो जिल्ला” बन्दै बाग्लुङ

bulbबाग्लुङ, १८ माघ । जिल्लालाई ‘उज्यालो जिल्ला’को रूपमा घोषणा गर्न पहल सुरु भएको छ । ऊर्जा जिल्लाको रूपमा विकास गर्न थालिएको बाग्लुङ जिल्लालाई आगामी सन् ०१७ भित्र घरभित्रको उज्यालोयुक्त बनाउन सरोकारवाला अग्रसर बनेका छन् ।

नेपाल सरकारले सुरु गरेको राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रममार्फत जिल्लालाई उज्यालो जिल्लाका रूपमा विकास गर्न खोजिएको जिल्ला विकास समितिअन्तर्गत रहेको ऊर्जा तथा वातावरण शाखाले जनाएको छ । जिल्लामा रहेका कुल ६१ हजार ४८२ घरधुरीमध्ये करिब १२ हजार घरधुरीमा अझै बिजुली पुगेको छैन ।
बाँकी रहेका घरधुरीमा बिजलुी बत्तीको सेवा पुर्‍याउन नवीकरणीय ऊर्जा कार्यक्रमको प्रवद्र्धन र विस्तार गरिने ऊर्जा तथा वातावरण शाखाका ऊर्जा अधिकृत ललितेश्वर श्रीवास्तवले बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग र स्थानीयको लगानीमा अहिले जिल्लामा एक सयवटा लघुजलविद्युत् परियोजना सञ्चालनमा आएका छन् । ती परियोजनाबाट उत्पादित बिजुलीबाट जिल्लाका २४ हजार ६५ घरधुरीमा बिजुली बलेको छ । जिल्ला ऊर्जा तथा वातावरण शाखाद्वारा ४२ र क्षेत्रीय नवीकरणीय ऊर्जा सेवा केन्द्र (डिसिआरडिसी) बाग्लुङद्वारा ४४ लघुजलविद्युत् परियोजना सम्पन्न भएका छन् । थप नौ परियोजना निर्माणाधीन अवस्थामा रहेको ऊर्जा अधिकृत श्रीवास्तवले जानकारी दिए ।
निर्माणाधीन परियोजनाबाट निस्कने बिजुलीबाट ६ हजार घरधुरी लाभान्वित हुनेछन् । ‘लघुजलविद्युत् परियोजनाबाट जिल्लामा ३ मेघावाट विद्युत् उत्पादन भएको छ,’ श्रीवास्तवले भने । ‘यो नवीकरणीय ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हो ।’
नवीकरणीय ऊर्जाबाट ग्रामीण जनताको जीवनस्तर सुधार ल्याउने विभिन्न प्रयोगका कार्यक्रम पनि सञ् चालन भइरहेका छन् । जीविकोपार्जनसम्बन्धी विभिन्न गतिविधिमार्फत स्थानीयले रोजगारी पाएका छन् । लघुजलविद्युत् परियोजनाबाहेक जिल्लामा सञ्चालित पेल्ट्रिक सेटबाट पनि ४९ किलोवाट बिजुली उत्पादन भएको छ । क्षेत्रीय नवीकरणीय ऊर्जा सेवा केन्द्र (डिसिआरडिसी) ले सम्पन्न गरेका ती पेल्ट्रिक सेटबाट ५ सय ८० घरधुरी बिजुली बलेको केन्द्रका अध्यक्ष ईश्वरलाल राजभण्डारीले बताए । त्यस्तै चार हजार ३२४ घरमा घरेलु सौर्य ऊर्जा विद्युत् प्रणाली जडान गरिएको अध्यक्ष राजभण्डारीले जानकारी दिए ।
नवीकरणीय ऊर्जाअन्तर्गत पर्ने सुधारिएको चुलो, बायो ब्रिकेट, गोवर ग्यास, सुधारिएको पानी घट्ट, ग्रामीण सौर्य खानेपानी प्रणाली बाग्लुङमा सञ्चालन गरिएको छ । ऊर्जा क्षेत्रमा सहयोग गर्ने विदेशी दातृ निकायको सहयोगमा नेपाल सरकारले नवीकरणीय
ऊर्जा प्रवद्र्धन कार्यक्रमलाई गाउँगाउँसम्म पुर्‍याएको हो ।
जिल्ला ऊर्जा तथा वातावरण शाखाको तथ्यांकअनुसार बाग्लुङको कुल घरधुरी संख्याको ४१.५७ प्रतिशतमा केन्द्रीय विद्युत्को प्रसारण पुगेको छ । ३९.१४ प्रतिशत घरधुरीमा लघुजलविद्युत् परियोजनाबाट बिजुली बत्तीको सेवा पुगेको छ भने बाँकी १९.२९ प्रतिशत घरधुरीमा अहिलेसम्म पनि बिजुली पुग्नसकेको छैन । बिजुली बत्ती पुग्न बाँकी रहेका घरधुरीमा पनि आगामी सन् ०१७ भित्र बिजुली बत्तीको सेवा विस्तार गर्ने जिल्लास्तरबाट पहल सुरु भएको स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
जिविस र अन्य सरकारी कार्यालय, राजनीतिक दल तथा सरोकारवालाबीच छलफल गरी जिल्ला नवीकरणीय ऊर्जा नीति बनाइने पौडेलले जानकारी दिए । यसै वर्षको जिल्ला परिषद्बाट उक्त नीति छलफलका प्रस्ताव गर्ने र त्यसको कार्यान्वयनतर्फ अघि बढ्ने उनको भनाइ छ ।
जिल्ला नवीकरणीय ऊर्जा नीतिमा आगामी सन् ०१५ भित्र बाग्लुङलाई घरभित्रको धुवाँरहित जिल्ला घोषणा र सन् ०१७ भित्र घरभित्रको उज्यालोयुक्त जिल्लाका रूपमा घोषणा गर्ने उल्लेख छ । ‘सबै नागरिकलाई ऊर्जाको पहुँचमा पुर्‍याउन हामी सक्छौँ, त्यसका लागि जिल्ला विकास समिति र अन्य सरोकारवाला प्रतिबद्ध भएर लाग्न जरुरी छ,’ पौडेलले भने ।

प्रतिक्रिया