राष्ट्र पतन हुनसक्ने इजिप्टका सेनाप्रमुखको चेतावनी

Andy-McCarthy-on-appointmenकायरो : इजिप्टका सेनाप्रमुखले मुलुकमा जारी राजनीतिक संकटले निरन्तरता पाए मुलुक पतन हुनसक्ने चेतावनी दिएका छन् । रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका सेनाप्रमुख अब्दुल फताह अल–सिसीले मंगलबार सैन्य प्रतिष्ठानका क्याडेटलाई सम्बोधन गर्दै मुलुक पतन हुनसक्ने जोखिम बढेको र यसले भावी पिँढीसामु चुनौती तेस्र्याउन सक्ने चेतावनी दिएका हुन् ।
सेनाको फेसबुक पेजमा अप्लोड गरिएको सेनाप्रमुख अब्दुलको भाषणमा भनिएको छ, ‘मुलुकका राजनीतिक शक्तिबीच मुलुक कसरी सञ्चालन गर्ने भन्ने विषयमा रहेको मतभिन्नता अझै कायम रहे देश पतन हुने र यसले भावी पिँढीलाई संकटमा पार्ने जोखिम बढेको छ ।’ रणनीतिक महत्त्वको स्वेज नहरका तटवर्ती क्षेत्रमा भड्किएको हिंसा नियन्त्रण गर्न राष्ट्रपति मोहम्मद मुर्सीले सेनालाई आदेश दिएको भोलिपल्ट सेनाप्रमुखको यस्तो भनाइ बाहिर आएको हो । इजिप्टका पूर्वशासक होस्नी मुबारकविरुद्ध आरम्भ भएको क्रान्ति समापन भएको दुई वर्ष पूरा भएको अवसरमा स्वेज क्षेत्रका पोर्ट सइद, स्वेज र इस्मालिया सहरमा सुरु भएको सरकारविरोधी प्रदर्शनले हिंसात्मक रूप लिएको थियो । हिंसाका कारण सो क्षेत्रमा ५० जनाको मृत्यु भइसकेको छ ।
हिंसाले विकराल रूप लिने जोखिम बढेपछि राष्ट्रपति मुर्सीले आइतबार राति तीनवटै सहरमा कफ्र्युसहित आपत्काल लागू गरेका थिए । आपत्काल लागू गराउन उनले सेनालाई निर्देशन दिएपछि सेनाले सो क्षेत्रमा बाक्लो उपस्थिति बढाएको थियो । तर, कफ्र्यु घोषणाको उल्लंघन गर्दै सोमबार राति प्रदर्शनकारीले तीनवटै सहरका सडकमा प्रदर्शन गरे पनि सेनाले कुनै हस्तक्षेप गरेको थिएन ।
इजरायलसँग सीमा जोडिएको स्वेज नहरमार्फत मध्यपूर्वमा उत्पादित इन्धन युरोपसम्म पुर्‍याउने भएकाले यसको व्यापारिक महत्त्व त उच्च छँदै छ साथै यो नहर सामरिक दृष्टिकाणले समेत संवेदनशील रहेको विश्लेषकको भनाइ छ । स्वेज क्षेत्रमा तैनाथ सैनिकको उद्देश्य नहरमार्फत हुने पारवाहनलाई सुचारु राख्नु भएको सेनाप्रमुख अब्दुलले प्रस्ट पारे । इजिप्टले सामना गरिरहेको आर्थिक, राजनीतिक तथा सामाजिक चुनौतीलाई सेनाप्रमुखले इजिप्टको सुरक्षा र मुलुकको एकरूपतासामु तेर्सिएको ‘वास्तविक जोखिम’को संज्ञा दिए ।
स्वेज क्षेत्रमा भड्किएको हिंसामा विपक्षी दलको समेत संलग्नता रहेको बताइन्छ । सेनाप्रमुखको चेतावनीमूलक भनाइपछि सरकार र विपक्षी दुवैले दबाब महसुस गर्ने अनुमान गरिएको छ । दंगाप्रभावित तीन सहरमा ३० दिनसम्म लागू हुनेगरी आपत्काल घोषणा गर्दै राष्ट्रपति मुर्सीले मुलुकको सुरक्षामा आएका चुनौतीको सामना गर्न थप पाइला चालिने बताएका थिए । गत साताको अन्त्यतिर इजिप्सेली क्रान्ति समापन भएको दुई वर्ष पुगेको उपलक्ष्यमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएको थियो । त्यसको भोलिपल्ट इजिप्टको एक अदालतले गत फेब्रुअरीमा भएको फुटबल खेलमा दंगा भड्काएको आरोपमा पोर्ट सइदको अल–मार्सी फुटबल क्लबका २१ समर्थकलाई मृत्युदण्ड दिने निर्णय सुनाएपछि दंगाले उग्ररूप लिएको थियो ।
प्रदर्शनाकरीप्रति आक्रमक राष्ट्रपति मोर्सीले अदालतको निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै कानुन तथा क्रान्तिका उपलब्धिविरुद्ध हिंसा प्रयोग हुन नदिने बताए । आन्दोलनमा संलग्न भएका भनिएका प्रतिपक्षी नेतालाई राजनीतिक मतभेद अन्त्य गर्न वार्ताका लागि आह्वानसमेत गरेका थिए ।
यसअघि मंसिरको मध्यतिर सरकार र विपक्षीबीच संविधानको मस्यौदालाई लिएर चर्किएको मदभेदका कारण मुलुकमा दंगा र हिंसात्मक गतिविधि बढ्न थालेपछि सेनाले यस्तै चेतावनी दिएको थियो । मुलुक तथा निमुखा जनताको स्वार्थ रक्षा गर्नुपर्ने आफ्नो दायित्वलाई सेनाले बुझेको जनाउँदै सहमतिमा पुग्ने एक मात्र उपाय वार्ता रहेकोतर्फ सनाले सरकार र विपक्षीको ध्यानाकर्षण गराएको थियो । सहमति र वार्ताको विपरीत दिशापट्टि गए मुलुक अँध्यारो गोरेटोतर्फ उन्मुख हुने र यसको नतिजा विध्वंसात्मक हुने चेतावनी दिँदै सेनाले त्यस्तो अवस्था आउन नदिन सेना प्रतिबद्ध रहेको जनाएको थियो । सेनाको चेतावनीपछि राजनीतिक गतिरोध तत्कालका लागि अन्त्य भएको थियो ।
सन् २०१२ को फेब्रुअरीमा होस्नी मुबारकको पतन भएयता त्यहाँको सेनाले अन्तरिम सरकार सम्हालेको थियो । त्यसपछि भएको आमनिर्वाचनबाट मुस्लिम ब्रदरहुडले बहुमत हासिल गरेपछि मुलुकको सर्वोच्च कार्यकारी पदमा मुस्लिम ब्रदरहुडका नेता मुर्सी पुगेका थिए । मुलुकको कार्यकारी अधिकार सरकारमा रहे पनि इजिप्टमा सेना ज्यादै शक्तिशाली मानिन्छ । मध्यपूर्वको समग्र सुरक्षामा इजिप्टले असर पार्नसक्ने भएकाले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने शक्तिका रूपमा त्यहाँको सेनाको पहिचान राष्ट्र तथा अन्तर्राष्ट्रिय रूपमा हुने गरेको छ । (एजेन्सी)

प्रतिक्रिया